निर्णय नं. १००१६ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १००१६ - उत्प्रेषण भाग: ६० साल: २०७५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७४/०५/२५ २८०३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल आदेश मिति : २०७४।५।२५ ०७१-WO-०१८७ मुद्दाः उत्प्रेषण निवेदक : बैतडी जिल्ला, सित्तड गाउँ विकास समिति वडा नं. ६ घर भई महेन्द्रनगर उच्च मा.वि. महेन्द्रनगरको मा.वि. अंग्रेजी शिक्षक वीरबहादुर भण्डारी विरूद्ध विपक्षी : शिक्षा मन्त्रालय, सिंहदरबारसमेत कुनै पनि पदमा स्थायी नियुक्ति पाएको व्यक्तिको सोही पदमा पदाधिकार कायम रहने गरी नेपाल सरकारले त्यस्तो व्यक्तिलाई कुनै अवधि तोकी वा नतोकी सोभन्दा भिन्न किसिमको पदको वा माथिल्लो पदको जिम्मेवारी दिएको अवस्थामा स्थायी पदमा लियन पदको अवस्था सिर्जना हुन जाने । आफ्नो पदाधिकार कायम रहेकै पदमा रहेर काम गरेको अवस्थामा लियन पदको अवस्था सिर्जना नहुने । (प्रकरण नं.४) नेपाल सरकारले कुनै पनि व्यक्तिलाई निजको स्थायी पदमाथिको पदाधिकार यथावत् कायम राखी माथिल्लो कुनै पदमा कार्य गर्न लगाएको अवस्थामा माथिल्लै पदको सेवा सुविधा दिएको भन्ने मात्र आधारमा त्यस्तो पदमा निजको अधिकार सिर्जना हुँदैन । त्यस्तो व्यक्तिको अधिकार स्थायी पद अर्थात् लियन पदमा नै रहेको हुँदा त्यस्तो पदाधिकार रहेको पदमा फर्काउने गरी नेपाल सरकारले निर्णय गर्न वा त्यस्तो निर्णय कार्यान्वयन गर्न मिल्दैन भनी अर्थ गरी अधिकार स्थापित नै नभएको पदमै रहेर काम गराउनु भनी आदेश गर्न मिल्ने नदेखिने । (प्रकरण नं.७) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री रेवतीराज त्रिपाठी अवलम्बित नजिर : सम्बद्ध कानून : शिक्षा ऐन, २०२८ आदेश न्या.सपना प्रधान मल्ल : नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छः- म निवेदक मिति २०४९।१२।२९ को निर्णयअनुसार प्रा.वि. शिक्षकमा स्थायी नियुक्ति पाई मिति २०५५।९।१७ को पत्रले माध्यामिक शिक्षकमा अस्थायी नियुक्ति पाई प्रा.वि. शिक्षकमा स्थायी तह लियन राखी मा.वि. तहमा नेपाल सरकारको मिति २०६३।१।१० अगाडिको स्वीकृत दरबन्दीमा कार्यरत रहेको अवस्थामा सो स्थानमा अर्को व्यक्तिलाई पदस्थापन गर्न जिल्ला शिक्षा कार्यालय, कञ्चनपुरले निवेदकलाई स्थायी पदाधिकार रहेको विद्यालयमा फर्काउने निर्णय गरेकाले सोउपर २०६४-WO-०९५९ को रिट परी अन्तरिम आदेश जारी भएपछि सोही विद्यालयमा कार्यरत रही आएकोमा विपक्षी जिल्ला शिक्षा कार्यालय, कञ्चनपुरले शिक्षा मन्त्रालयको मिति २०६०।२।२१ को निर्णय र शिक्षा विभागको मिति २०७१।४।७ को परिपत्रअनुसार पदाधिकार रहेको स्थायी पदमा नै फिर्ता गरिएको छ भनी मिति २०७१।४।३० मा पत्र पठाएको रहेछ । विपक्षी जिल्ला शिक्षा कार्यालय, कञ्चनपुरको मिति २०७१।४।३० को पत्र र सो पत्रमा उल्लिखित मिति २०७१।४।२९ को निर्णयले नेपालको अन्तरिम संविधान, २०६३ द्वारा प्रत्याभूत गरेको हकमा आघात परेको र सोको उपचारको लागि अन्य वैकल्पिक उपाय नभएकोले प्रस्तुत रिट लिएर उपस्थित भएको छु । विपक्षी शिक्षा विभागको मिति २०६०।९।२८ को पत्रअनुसार स्थायी नियुक्ति गर्दा सम्पूर्ण अस्थायी शिक्षकमध्ये रिक्त पदमा नियुक्त भएका वा तल्लो पद लियन राखी पदोन्नति पाएकामध्येबाट कनिष्ठताका आधारमा लियनमा फर्काई स्थायी नियुक्ति गर्ने भन्ने व्यवस्था गरेको र कञ्चनपुर जिल्लामा मा.वि.