निर्णय नं. १००२४ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १००२४ - उत्प्रेषण / परमादेश भाग: ६० साल: २०७५ महिना: असोज अंक: ६ फैसला मिति :२०७४/०७/०८ ६५२८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री मीरा खड्का फैसला मिति : २०७४।७।८ ०७३-WO-१३०३ मुद्दा : उत्प्रेषण / परमादेश रिट निवेदक : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.२९ अनामनगर बस्ने अधिवक्ता प्रविन पन्दाकसमेत विरूद्ध विपक्षी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंसमेत नेपालभित्र बसोबास गर्ने विभिन्न जातीय, साँस्कृतिक, आदिवासी समुदायको धार्मिक, साँस्कृतिक महत्त्वका सम्पदा तथा यस्तै चिजवस्तुहरू तिनिहरूको मूल थलोमा नै रहेर सम्पदा जीवन्त बनाउने हुन्छन् । धार्मिक, साँस्कृतिक सम्पदाको महत्त्व त्यसको मूल थलोमा नै उदीयमान हुने र त्यसले वास्तविक पहिचान पाउने भएकोले राज्यले त्यस्ता सम्पदाहरूको यथावत् रूपमा संरक्षण गर्न / हुनसक्ने अवस्था सृजना गर्नु राज्यको आफ्नै पहिचानको विविधतायुक्त महत्त्वको दृष्टिले समेत आवश्यक हुन्छ । महत्त्वपूर्ण धार्मिक, साँस्कृतिक, ऐतिहासिक महत्त्व बोकेका त्यस्ता वस्तु वा संरचनाहरू उचित रूपमा संरक्षित रहन सकेमा विश्व सम्पदाको रूपमा समेत सूचीकृत हुनसक्ने र त्यसले देशकै पहिचान र विकासमा मद्दत पनि गर्न सक्ने सम्भावनालाई समेत नकार्न नसकिने । (प्रकरण नं.५) लिम्बू जाति नेपालमा बसोबास गर्ने एक आदिवासीको रूपमा रहेकोले रिट निवेदनमा उल्लिखित हल्लिने ढुंगा, आयु जोखिने ढुंगालगायतका उल्लिखित ढुंगाहरू ती समुदायको ऐतिहासिक, धार्मिक साँस्कृतिक जीवनमा महत्त्वपूर्ण प्रभाव राख्ने ढुंगाहरू भएकोले यस्ता साँस्कृतिक जातीय महत्त्वका वस्तुहरूको संरक्षण सम्बर्द्धन गर्न पाउनु संविधानतः ती जाति धर्म वा समुदायका व्यक्तिहरूको साँस्कृतिक हक नै हुन जाने । (प्रकरण नं.६) रिट निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री सतिस कृष्ण खरेल, श्री पूर्णमान शाक्य, श्री चन्द्रकान्त ज्ञवाली तथा विद्वान् अधिक्ताहरू श्री सुनिलकुमार पोखरेल श्री पदमबहादुर श्रेष्ठ, श्री कैलास गुरूङ, श्री खम्मबहादुर खाती, श्री लिलाधर उपाध्याय, श्री राजेश्वरी महर्जन, श्री विकास भट्टराई, श्री खड्ग बहादुर बुढाथोकी, श्री कृष्ण कुमार आङ्दम्वे, श्री प्रविन पन्दाक विपक्षीका तर्फबाट : विद्वान् नायब महान्यायाधिवक्ता श्री किरण पौडेल अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या.दीपकराज जोशी : नेपालको संविधान २०७२ को धारा ४६ र १३३(२)(३) बमोजिम दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :- लिम्बू जाति नेपालको एक आदिवासी जनजाति भई यस जातिको आफ्नै भाषा, संस्कृति, परम्परामा तथा सभ्यता छ । “मुन्धुम”, “लिम्बू”, “याक्थुङ” जातिको सामाजिक इतिहास मात्र नभई लिम्बू समुदायले विश्वास गरेको नियमहरूको संग्रह जसअनुसार जनजीवन, सृष्टि तथा ब्रह्माण्ड चल्छ भन्ने विश्वास राखेको मूल्य तथा मान्यताको संगालो हो । मुन्धुमअनुसार लिम्बूजाति प्रकृति पुजक हुन् र यस जातिको ढुंगासँग विशेष परम्परागत संस्कृति गाँसिएर आएको छ । परिवार, कुल, वंश संरक्षणको लागि पितृहरूका नाममा थान, थपना राख्दा गाडिने ढुंगा (काम्याङलुङ), झगडा मिलाएर गाडिने ढुंगा (चुम्लुङ), जग्गा साँध-सिमाना मिलाएर गाडिने ढुंगा (लुङधुङ), दुवोढुंगो छुवाएर सत्यवाचा गराउनेदेखि चोख्याउने सम्मका कर्मकाण्ड (सप्योक लिङयोक), माया पिरती बसेपछि बैनाबट्टा गरिने (याङलुङ), पि