निर्णय नं. ४३३० - नाता कायम गरी न्वारान गराई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३३० - नाता कायम गरी न्वारान गराई पाउँ भाग: ३३ साल: २०४८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४८/०७/१८ २३४४ निर्णय नं. ४३३० ने.का.प. २०४८ अङ्क ७ संयुक्तइजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्वत् २०४५ सालको फौ.पु.नं. ३९७ फैसला भएको मिति : २०४८।७।१८।२ मा पुनरावेदक/प्रतिवादी : पाल्पा जिल्ला पिपल डांडा गा.पं. वडा नं. ३ अगाहाखोला रामडाडा बस्ने मोहनबहादुर बस्नेत विरुद्ध विपक्षी/वादी : नवलपरासी जिल्ला वेणिमणिपुर गा.पं. वडा नं. ६ घर देखाई धौलागिरी अं., पर्वत जिल्ला सराड्डखोला गा.पं. वडा नं. ३ बस्ने जयन्ति बस्नेत राखेको जयन्ति भारती मुद्दा : नाता कायम गरी न्वारान गराई पाउँ (१) पतिसंग सहवास भई सन्तानोत्पत्ति हुन नसक्ने जस्ता प्रमाणको अभावमा पतिले वादी तथा निजबाट जन्मेको सन्तान छोरालाई अदालतमा उपस्थित भई अस्वीकार नगरेको अवस्थामा वादीबाट जन्मेको छोरा अर्काको वीर्यबाट जन्मेको भनी भन्न सकिने ठोस आधार प्रमाण नभएकोले पति नाता कायम गरी न्वारान गराई पाउँ भन्ने वादी दावी पुग्न नसक्ने । (प्रकरण नं. ११) पुनरावेदक, प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा, विद्वान अधिवक्ता श्री युवराज संग्रौला फैसला न्या.कृष्णजंग रायमाझी १. पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट मिति २०४४।११।२३ मा फैसला भई (साविक पेज नं. ३७९) सर्वोच्च अदालतमा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा पुनरावेदनको अनुमति प्राप्त भई यस इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ । २. मेरो माइतिघर नजिकै कोलटाडी भन्ने स्थानमा मेरी फुपुको छोरी दिदीको घर भएकोले ०३८ साल देखि आउने जाने गरेकी थिएँ । विपक्षी मोहन बस्नेतको घर पनि दिदीको घरसंगै जोडिएको हुँदा निज मोहन बस्नेतसंग परिचय भयो । यसै क्रममा हाम्रो भेटघाट ठट्टा मस्करी हुँदै जाँदा गत ०४०।५।१० गते साँझको समयमा म रजस्वला भएको दशौं दिनको दिन प्र.पं. केशव रेग्मीको घर पछाडि बाँसको झ्याँगमा हामी दुवैको करणी लेनदेन भयो । सो करणी वीर्यको कारणबाट गर्भ रहन गयो । हामी विदेश भाग्ने सरसल्लाह हुँदै थियो । यस्तैमा मेरो बुबा आमाको जोड बलले एक नाउँ गाउँ थाहा नभएको व्यक्तिसंग वैवाहिक सम्बन्ध जोडी दिनु भयो । म पहाडमा गई बसेर यसरी निज पतिसंग संगै बसे पनि पति र पत्नीमा हुनु पर्ने यौन संसर्ग भएन । लोग्ने भारततर्फ लागेपछि म माइतिघर फर्की आएँ, यस्तैमा ०४१ ज्येष्ठ २८ गते भरतपुर अस्पतालमा निज मोहन बस्नेतको करणी विर्यबाट रहन गएको गर्भबाट छोरा जन्मी न्वारान गराई दिनु हवस भन्दा नगरी दिएको एवं घर जाँदा समेत घरबाट निकाला गरी दिएको हुँदा उक्त बच्चाको न्वारान गराई निज मोहन बस्नेतसंग पति नाता कायम गरी पाउँ भन्ने समेत व्यहोराको फिराद दावी । ३. वादीसंग मेरो करणी सम्बन्ध भएको र मेरो करणी वीर्यबाट गर्भ रही छोरा जन्मेको भन्ने फिराद लेख झुठ्ठा हो । वादीसंग मेरो चिनाजानी छैन, निज वादीको जि.पर्वत गा.पं. सराङखोला वडा नं. ३ साधनी गाउँ बस्ने भविश्वर भारतीसंग विवाह भइसकेको छ, भविश्वरकै करणी वीर्यबाट गर्भ धारण गरेकी हुन, निज वादीको बाबुसंग रुपैयाँ लेनदेनको कारणबाट झैं झगडा भएको तथा वादीका बाबुको आर्थिकस्थिति कमजोर भएको कारणले केही रकम समेत झार्ने नियत लिई म उपर यो झुठ्ठा उजूरी गरेकी हुन् । भविश्वरले लेखेको चिठ्ठीमा निजलाई साईली शब्दले प्यार प्रदर्शन गरेको एवं हेरविचार गर्न विवशता देखाएको समेतबाट निज वादीले जन्माएकी बच्चा भविश्वरकै हो भन्ने स्पष्ट छ