निर्णय नं. १००३० - लिखत दर्ता बदर दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १००३० - लिखत दर्ता बदर दर्ता भाग: ६० साल: २०७५ महिना: असोज अंक: ६ फैसला मिति :२०७३/११/०९ २५४७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खड्का माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ फैसला मिति : २०७३।११।९ मुद्दा : लिखत दर्ता बदर दर्ता ०६७-CI-११६२ पुनरावेदक / प्रतिवादी : जिल्ला पर्सा गा.वि.स. रामनगरी वडा नं. ६ मा बस्ने मणिभुषण तिवारी विरूद्ध विपक्षी / वादी : जिल्ला पर्सा गा.वि.स. रामनगरी वडा नं. १ मा बस्ने रामानन्द पाण्डेसमेत ०६७-CI-११६३ पुनरावेदक / प्रतिवादी : जिल्ला पर्सा गा.वि.स. रामनगरी वडा नं. १ मा बस्ने ठाकुर पाण्डे विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला पर्सा गा.वि.स. रामनगरी वडा नं. १ मा बस्ने रामानन्द पाण्डेसमेत २०४४ सालको बन्डा मुचुल्काको अस्तित्व रहे भएसम्म दाबी जग्गा सम्बन्धमा अंशियार वादी पक्षलाई प्रतिकूल पार्ने गरी गरे भएको कुनै पनि व्यवहार सदर हुनसक्ने अवस्था नदेखिँदा मुलुकी ऐन लेनदेन व्यवहारको महलको ४० नं. र जग्गा पजनीको महलको १७ नं. अनुसार फिराद दायर गर्न पाउने नै अवस्था देखिन आउने । २०४४ सालको बन्डा मुचुल्काबाटै स्पष्ट रूपमा अरू अंशियारको समेत भाग लाग्ने गरी तर्फसमेत खुलाई बन्डा मुचुल्कासमेत भइसकेको अवस्थामा फिल्डबुकमा आफ्नो नाम उल्लेख भएकै आधारमा प्रतिवादीले नाउँसारी गराउँदैमा वादीको अंश हक समाप्त हुने भन्न मिल्ने नदेखिने । (प्रकरण नं.५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, लेनदेन व्यवहारको १० नं. सुरू फैसला गर्नेः- माननीय न्यायाधीश श्री महेन्द्रराज गौतम पर्सा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री एकराज आचार्य माननीय न्यायाधीश श्री तेजबहादुर कार्की पुनरावेदन अदालत हेटौंडा फैसला न्या. मीरा खड्का : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको अधिकार क्षेत्रभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- देवेन्द्र पाण्डेको ४ छोराहरूमा जेठा वादी म रामानन्द पाण्डे, माहिला वादी म लक्ष्मीकान्त पाण्डे, साहिँला नित्यानन्द पाण्डे र कान्छा विपक्षी ठाकुर पाण्डे ब्राम्हण हुन् । हामीबीच निज ठाकुर पाण्डे वादी भई चलेको दे.नं. १३०५ तथा नित्यानन्द वादी भएको दे.नं. १२९८ को अंश मुद्दामा मिति २०३८।९।२६ को सुरू पर्सा जिल्ला अदालतको फैसला तथा मिति २०४०।१।१४ को तत्कालीन नारायणी अञ्चल अदालतको फैसलाबमोजिम मिति २०४४।२।५ मा बन्डा छुट्याउँदाका छुट जग्गा दाखिल खारेज दर्ता भएकोमा विपक्षी ठाकुर पाण्डेका नाउँमा नापी भएको जिल्ला पर्सा रामनगरी गा.वि.स., वडा नं. १ कि.नं. ६२ को ०-५-०, ऐ. वडा नं. १ कि.नं. १४ को ०-१-२ र घर समेत तर्फ छुट्याई चारै दाजुभाइ र आमासमेतको ५ अंश छुट्याएको भए पनि सो २ कित्ता जग्गा अप्रमाणित रहेकोले हाम्रा नाउँमा दा.खा. हुन सकेन । सो बाँकी जग्गाको दा.खा. गराउन म रामानन्द पाण्डेले मिति २०६४।२।१४ मा निवेदन दिँदा विपक्षी ठाकुर पाण्डेको नामबाट मिति २०६२।३।१७ मा अर्का विपक्षी मणिभूषण तिवारीको नाममा राजीनामा भई गइसकेको कुरा थाहा पाई सोही मितिमा नक्कल लिई प्रस्तुत फिराद गर्न आएको छु । आमा स्वर्गे हुनु भएकोले सो जग्गाहरूमध्येबाट ४ खण्डको २ खण्ड लिखत दर्ता बदर गरी हाम्रो नाउँमा दर्ता गरिपाउँ भन्ने बेहोराको वादी रामानन्द पाण्डे र लक्ष्मीकान्त पाण्डेको मिति २०६४।२।२३ को फिरादपत्र । दाबीको जग्गामा वादी