निर्णय नं. १००३३ - लागु औषध खैरो हेरोइन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १००३३ - लागु औषध खैरो हेरोइन भाग: ६० साल: २०७५ महिना: असोज अंक: ६ फैसला मिति :२०७४/०६/३१ ८७५२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत फैसला मिति : २०७४।६।३१ ०७०-CR-१६११ मुद्दाः- लागु औषध खैरो हेरोइन पुनरावेदक / वादी : प्र.ना.नि. जयदिप शमशेर ज.व.रा. समेतको प्रतिवेदनले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २० बस्ने सुवास मानन्धरको छोरा मनिष मानन्धरसमेत लागु औषध प्रतिवादीले सेवन र बिक्री वितरण दुवै प्रयोजनको लागि ओसार पसार गर्न सक्ने हुँदा त्यसमा निजको साथबाट बरामद भएको लागु औषधको मात्रा र अन्य प्रमाणहरूको आधारमा विचार गरिनुपर्ने । प्रतिवादीको साथबाट लागु औषध बरामद हुनुलाई मात्र लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा १४(१)(छ)(१) बमोजिमको सजाय गर्नको लागि पर्याप्त आधार मान्न मिल्दैन । सेवनबाहेक अन्य प्रयोजनको लागि प्रतिवादीहरूले साथमा लिई हिँडेका हुन् भन्ने तथ्य स्थापित हुनुपर्ने । (प्रकरण नं.४) लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा ४(च) ले लागु औषध खरिद गर्ने, सञ्चय गर्ने, राख्ने वा ओसार पसार गर्नेलाई अपराधको एउटा वर्गीकरण गरी १४(१)(छ) मा गाँजाबाहेक अन्य लागु औषध सेवन गर्नेलाई अर्को वर्गीकरणअन्तर्गत राखी १४(१)(ङ) मा सजायको व्यवस्था गरेको छ । ओसार पसारलगायतका अन्य कार्यलाई गम्भीर कसुरको रूपमा राखेको पाइन्छ भने सेवनलाई कम सजाय निर्धारण गरेको पाइन्छ । उक्त कानूनी व्यवस्थाले सेवनका लागि लिएर हिँड्ने क्रममा प्रयोग भएको सवारी साधन जफत गर्ने कानूनको उद्देश्य नरहेको प्रस्ट हुने । (प्रकरण नं.६) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री सोमकान्ता भण्डारी प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : लागु औषध (नियन्त्रण) ऐन, २०३३ सुरू तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री टेकनारायण कुँवर मकवानपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री बम कुमार श्रेष्ठ माननीय न्यायाधीश श्री उमेशकुमार सिंह पुनरावेदन अदालत हेटौंडा फैसला न्या.हरिकृष्ण कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पेस हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड जिल्ला मकवानपुर, भीमफेदी-२ स्थित सडकमा पूर्वमा कारागार जाने बाटो, पश्‍चिममा इलाका प्रहरी कार्यालय भीमफेदी, उत्तर र दक्षिण सडक यति चार किल्लाभित्र काठमाडौं जान आएको बा.१३ प २२२० नं. को मोटरसाइकलमा सवार रहेका मनिष मानन्धर र लक्ष्मण महर्जनलाई रोकी चेकजाँच गर्दा मोटरसाइकल चालक मनिष मानन्धरको पेन्टीभित्र गुप्‍ताङ्गमा लागु औषध खैरो हेरोइन ६ ग्राम फेला परेको र उक्त लागु औषध ओसार पसारमा लक्ष्मण महर्जनको समेत संलग्नता रहेकोले ओसार पसारमा संलग्न मोटरसाइकलसमेत बरामद गरिएको भन्नेसमेत बेहोराको खानतलासी एवम् बरामदी मुचुल्का । मिति २०६९।७।२७ गते बिहान अं. १७:०० बजेको समयमा जिल्ला मकवानपुर, भीमफेदी-२ स्थित सडकमा बा.१३ प २२२० नं. को मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक मनिष मानन्धरले लगाएको पेन्टीभित्र लुकाई ल्याएको अवस्थामा लागु औषध (खैरो हेरोइन) ६ ग्राम फेला परेको र सो लागु औषध ल्याउनमा लक्ष्मण महर्जनसमेत संलग्न रहेको हुँदा मोटरसाइकलसहित निजहरूलाई पक्राउ गरी कारबाहीको लागि पेस गरेको भन्नेसमेत बेहोराको प्र.ना.नि. जयदिप शमशेर ज.ब.रा. समेतक