निर्णय नं. १००४१ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १००४१ - उत्प्रेषण भाग: ६० साल: २०७५ महिना: असोज अंक: ६ फैसला मिति :२०७४/०९/२१ ७१९८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७४।९।२१ ०७३-WO-११३० मुद्दा:- उत्प्रेषण निवेदक : यति डेभल्पमेन्ट बैंक लि.को तर्फबाट अख्तियार प्राप्त ऐ.ऐ. बैकका प्रमुख कार्यकारी अधिकृत सागर शर्मा विरूद्ध विपक्षी : करदाता सेवा कार्यालय, कलंकी, काठमाडौंसमेत बैंक तथा वित्तीय संस्थाहरूबाट अंशियारको मन्जुरी बेगर कम्पनी वा सगोलको सम्पत्ति घरको मुख्य व्यक्तिले धितो राखी लिएको ऋणमा रहने र भएका लिलामी काम कारबाही र लिलामीको कार्यमा अन्य अंशियारले हाम्रोसमेत अंश लाग्ने सम्पत्ति हो भनी दाबी गरेको अवस्थामा धितोमा राखेको सम्पत्ति कस्तो प्रकृतिको हो ? धितो राख्ने व्यक्ति परिवारमा कुन हैसियतमा रहेका छन् ? अंशियारले अन्य सम्पत्तिबाट अंश पाउने अवस्था छ छैन ? बैंक एवं वित्तीय संस्थाबाट दिए लिएको ऋण सुरक्षणबापतको धितो लिलामी कारबाही एवं अंशियारले दिएका अंश र लिखत बदर मुद्दाहरू कुन अघिपछि हुन् ? बैंक तथा वित्तीय संस्थाको ऋण असुलीको कामकारबाही निष्क्रिय हुने गरी त्यस विरूद्ध अंशियार वा जुनसुकै व्यक्ति निकाय वा संस्थाबाट दिइने जुनसुकै मुद्दाहरू पनि मिलोमतोबाट बैंक तथा वित्तीय संस्थाहरूलाई मात्र नोक्सानी पार्ने नियतबाट दिएको हो होइन ? भनी कानूनी आधारमा हेर्नुपर्ने । (प्रकरण नं.७) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री नरेन्द्रप्रसाद गौतम र श्री खेमप्रसाद खतिवडा विपक्षीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ आदेश न्या. तेजबहादुर के.सी.: नेपालको संविधानको धारा १३३(२) बमोजिम यस अदालतको अधिकार क्षेत्रभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार रहेको छ : यसमा प्रत्यर्थीमध्येका अम्लेश्वर कन्सट्रक्सन प्रा.लि. ले साबिक मनकामना डेभलपमेन्ट बैंक लिमिटेडसँग कर्जा कारोबार गर्नका लागि ऋणीको तर्फबाट मिति २०६६/०८/०९ (२४.११.२००९) समेतमा कर्जा माग गरी अनुरोध गरेपश्चात् बैंकले विभिन्न प्रक्रियाहरू पूरा गरी Overdraft Loan (ओभर ड्राफ्ट कर्जा) रू.५,००,००,०००।- कर्जा सीमा तथा १ वर्षको भाखा राखि मिति २०६६/०९/०२(१७.१२.२००९) को कर्जा स्वीकृति पत्र अनुसारको नयाँ गाडीहरू खरिद गर्ने कर्जा स्वीकृत भई कारोबार गरी उक्त कर्जाको धितोबापत प्रत्यर्थी रामहरी थापासमेत सञ्चालक रहेको अम्लेश्वर कन्सट्रक्सन प्रा.लि. तथा व्यक्तिगत जमानीकर्ता केशव अधिकारीसमेत सञ्चालक रही कम्पनी रजिस्ट्रारको कार्यालय प्रा.लि.नं. ६५६८६/०६६/०६७ मिति २०६६/०५/१६ मा दर्ता भएको सक्सेस कन्स्ट्रक्सन प्रा.लि.को संयुक्त नाममा दर्ता रहेको धादिङ जिल्ला गजुरी गा.वि.स. वडा नं. १क स्थित कि.नं. ११९ को क्षे.फ. ३-८-१-३ र कि.नं. ३४९ को क्षे.फ.३-३-१-० तथा ऐ.ऐ वडा नं. १च स्थित कि.नं. १६४ को क्षे.फ.३-३-३-३ जग्गा मालपोत कार्यालय धादिङबाट मिति २०६७/११/१७ मा र.नं. ४५०३ मार्फत धितो दृष्टिबन्धक लिखित पारित गरी दिएको थियो । यसरी सर्त कबुलियतअनुसार त्रैमासिक ब्याजसहितको किस्तालगायत १ वर्षभित्रमा सम्पूर्ण कर्जा भुक्तान गरी सक्नुपर्नेमा ऋणीले सर्त कबुलियतअनुसार रकम नबुझाई कर्जा नवीकरणको लागि माग गरेअनुसार कर्जा नवीकरण भई सोअनुसारको समयावधिमा समेत कर्जा भुक्तान नभएको कारण कर्जा भुक्तान गर्न पटकपटक तर ताकेता गर्नुका अतिरिक