निर्णय नं. १००४२ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १००४२ - उत्प्रेषण / परमादेश भाग: ६० साल: २०७५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७५/०१/१३ ६२०६ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की आदेश मिति : २०७५।१।१३ ०७४-WF-००२६ मुद्दाः उत्प्रेषण / परमादेश निवेदक : सिरहा जिल्ला सिरहा नगरपालिका वडा नं. २ घर भई जिल्ला कृषि विकास कार्यालय सप्‍तरीको बागवानी विकास अधिकृत (रा.प.तृतीय श्रेणी) पदबाट अवकाश प्राप्‍त इन्द्रदेव यादव विरूद्ध विपक्षी : निजामती किताबखाना पुल्चोक, ललितपुरसमेत विपक्षी निजामती किताबखानाले आफ्नो दायित्व समयमा नै पूरा गर्न नसकेको कारण निवेदक अधिक अवधि कार्यरत रहेको अवस्थामा निवेदकले राज्यकोषबाट प्राप्त गरेको आर्थिक सुविधा फिर्ता गर भन्नु प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुने । विपक्षी निजामती किताबखानाले निवेदकले पेस गरेको सिटरोल र सम्बद्ध प्रमाणहरूको विश्लेषण गरी निजको उमेरको आधारमा निजामती सेवा ऐन र नियमावलीअनुरूप निवृत्त हुने अवधि किटान गरी अवधि पुग्नुभन्दा अगावै जानकारी गराउनु पर्नेमा समयमा निवेदकलाई सेवा निवृत्त हुने जानकारी नदिई निजामती सेवा नियमावली, २०५० को नियम १२९क को उपनियम (४) र (५) मा भएको कानूनी व्यवस्था पालना हुनुपर्छ भन्नु विपक्षी निजामती किताबखानाको लागि शोभनीय कार्य होइन । त्यसैले विपक्षी निजामती किताबखानाको कमजोरी वा भूलको परिणाम निवेदकले बेहोर्नु पर्छ भन्न कानून र न्यायको मान्य सिद्धान्तको विपरीत हुने । (प्रकरण नं.६) विना पारिश्रमिक काममा लगाउँदा श्रम शोषण भएको मानिने र काम गर्ने व्यक्तिले काम गरेको समयको उचित पारिश्रमिक पाउने अधिकारसमेतको हनन् हुन जाने । (प्रकरण नं.७) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री हरि उप्रेती र विद्वान् अधिवक्ता श्री जग्गनाथ महतो सिंह विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री दशरथ पंगेनी अवलम्बित नजिर : नेकाप २०७२, अंक ५, नि.नं.९३९७ नेकाप २०६९, अंक ४, नि.नं.८८१० नेकाप २०६६, अंक ५, नि.नं.८१५१ सम्बद्ध कानून : निजामती सेवा (बाह्रौं संशोधनसमेत) नियमावली, २०५० को नियम १२९क आदेश न्या. दीपककुमार कार्की : नेपालको संविधानको धारा १३३ को उपधारा (२) र (३) बमोजिम यस अदालतमा दायर भई संयुक्त इजलासमा पेस हुँदा सो इजलासका माननीय न्यायाधीशहरूको फरकफरक राय भई सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ को उपनियम (१) को खण्ड (क) बमोजिम पेस भएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्‍य र आदेश यसप्रकार छ:- म मिति २०४५।१२।१४ गते प्राविधिक सहायक (प्रा.स.) (रा.प.अनं.प्र.पा.) पदमा सुरू नियुक्ति पाई मिति २०६४।१२।१४ देखि ज्येष्ठता कायम हुने गरी बागवानी विकास अधिकृत (विशेष) पद (रा.प.तृतीय श्रेणी) मा बढुवा भई कृषि विभागको मिति २०७०।७।२१ को निर्णयअनुसार सो पदमा पदस्थापना भई मिति २०७०।१०।२ को रमना पत्रानुसार उष्ण प्रदेशीय बागवानी केन्द्र सर्लाहीमा कार्यरत थिएँ । त्यसपछि कृषि विभागको मिति २०७३।५।२१ को निर्णयले उक्त बागवानी केन्द्रबाट जिल्ला कृषि विकास कार्यालय सप्‍तरीमा सरूवा भएकाले सो कार्यालयमा कार्यरत रहँदै आएको थिएँ । त्यस समयसम्म कुनै विवाद थिएन । मेरो एस.एल.सी. र प्रविणता प्रमाणपत्र तहको प्रमाणपत्रमा जन्ममिति मिति २०१६।६।५ उल्लेख भएको छ । वैयक्तिक विवरण फाराम (सिटरोल) फाराम भर्दा पनि जन्ममिति २०१६।६।५ नै उल्लेख भएको हुँदा सो जन्ममितिको आधारमा म मिति २०७४।