निर्णय नं. १००५१ - कर्तव्य ज्यान र जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १००५१ - कर्तव्य ज्यान र जबरजस्ती करणी भाग: ६० साल: २०७५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७४/०१/११ ८४१८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे फैसला मिति : २०७४।१।११ ०६९-CR-०१३७ मुद्दा : कर्तव्य ज्यान र जबरजस्ती करणी पुनरावेदक / प्रतिवादी : नुवाकोट जिल्ला, कल्याणपुर गा.वि.स. वडा नं. ५ घर भई हाल कारागार कार्यालय नख्खुमा थुनामा रहेको मदन नारायण श्रेष्‍ठ विरूद्ध प्रत्यर्थी / वादी : कृष्ण लामाको जाहेरीले नेपाल सरकार कुनै पनि व्यक्तिलाई यातना तथा अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार गर्नु फौजदारी कानूनको मान्य सिद्धान्तविपरीत तथा न्यायको बर्खिलाप हुन जान्छ । अनुसन्धानको क्रममा अख्तियारप्राप्त अधिकारीसमक्ष गरेको साबिती बयानलाई स्वइच्छाबाट भएको नभई शारीरिक तथा मानसिक दबाबमा पारी चरम यातना दिई साबिती हुन लगाएको देखिनुका साथै साबितीलाई अन्य कुनै पनि प्रमाणहरूबाट समेत समर्थन गरी रहेको मिसिल संलग्न प्रमाणहरूबाट नदेखिँदा उक्त साबितीलाई प्रमाणको मूल्याङ्कनको रोहमा प्रमाणको रूपमा ग्रहण गर्न नमिल्ने । (प्रकरण नं.३) सुनिजान्ने प्रमाणलाई अन्य प्रमाणहरूले शंकारहित तवरले समर्थित नगरेसम्म त्यसलाई प्रमाणको मूल्याङ्कनको रोहमा गौण प्रमाणको रूपमा मात्र लिनुपर्ने हुन्छ । जाहेरी दरखास्तलाई पनि अन्य प्रमाणहरूले समर्थन तथा पुष्टि नगरेसम्म प्रमाणको रूपमा ग्रहण गर्न नमिल्ने अवस्थामा जाहेरी र बुझिएको व्यक्तिले गरिदिएको सनाखत कागजलाई विश्वास गरी व्यक्त गरिदिएको रायको आधारमा मात्र प्रतिवादीलाई आरोपित कसुर गरेको ठहर्‍याउन नमिल्ने । (प्रकरण नं.५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री रजित भक्त प्रधानाङ्ग प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री श्यामकुमार भट्टराई अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्‍ठ काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश एकराज आचार्य माननीय न्यायाधीश श्री यज्ञप्रसाद बस्याल पुनरावेदन अदालत पाटन फैसला न्या.दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- का.जि.गोंगबु गा.वि.स. वडा नं. ४ स्थित वसन्तबहादुर थापाले सञ्चालन गरेको न्यू लेसपाल गेष्ट हाउसको १०६ नं. कोठामा रिता लामा मोक्तान मृत अवस्थामा रहेकी र उक्त लासको नाकबाट रगत निस्किएको, कानको लोतीको भाग सुन्‍निएको, घाँटीमा हरियो रङ्गको सलले ४ फन्का बेरी कस्सिएको, दाहिने मालाको थल च्यापुको भागमा खोस्रिएको, छाला खुइलिएको, रातो डाम भएको भन्‍नेसमेत बेहोराको लास जाँच तथा घटनास्थल प्रकृति मुचुल्का । मेरी श्रीमती वर्ष ३१ की रीता लामा मोक्तानलाई का.जि.गोंगबु गा.वि.स. वडा नं.४ स्थित वसन्तबहादुर थापाले सञ्चालन गरेको न्यू पर्वत लेसपार गेष्ट हाउसको १०६ नं. कोठामा कर्तव्य गरी मारेकोले मार्नेहरूलाई पक्राउ गरी कारबाही गरिपाउँ भन्ने बेहोराको कृष्ण लामाको मिति २०६०।७।९ को जाहेरी दरखास्त । जाहेरवालाकी श्रीमती वर्ष ३१ की रिता लामा मोक्तानलाई मिति २०६०।७।८ गते राति न्यू लेसपार गेष्ट हाउसको १०६ नं. को कोठामा लगी करणीसमेत गरी गाउँले दोहरी साँझ रेष्टुरेण्टमा वियर खुवाई मदहोस बनाई गेष्ट हाउसमा लगी करणी गरी सोही गेष्ट हाउसमा मदननारायण श्रेष्ठ