निर्णय नं. १००७३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १००७३ - उत्प्रेषण भाग: ६० साल: २०७५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७४/०९/०२ २८७३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा फैसला मिति : २०७४।९।२ ०६७-WO-०२८५ मुद्दा : उत्प्रेषण निवेदक : हुम्ला जिल्ला सिमीकोट गा.वि.स वडा नं. २ बस्ने मानविर रोकायासमेत विरूद्ध विपक्षी : मालपोत कार्यालय हुम्ला सिमीकोटसमेत अकाट्य प्रमाणहरूका आधारमा रीतपूर्वकको निवेदन दिन ल्याएमा सम्बन्धित दाबीकर्ताको भोगाधिकारलगायत बुझ्नुपर्ने तथ्यगत प्रमाणहरू बुझी प्राप्त प्रमाणको विश्लेषणका आधारमा निर्णय गर्नुपर्ने । राज्यको प्राकृतिक सम्पत्तिको रूपमा रहेको कुनै पनि जमिनबारे हुने त्यस्तो निर्णय हचुवा भरमा राजनीतिक, आर्थिक वा अन्य प्रभाव वा स्वार्थका आधारमा गर्नु हुँदैन । जग्गा छुट दर्ताको लागि दाबी गर्नेले सर्वप्रथम दर्ता हुन छुट्नुको औचित्यपूर्ण आधार देखाउन सक्नुपर्ने र त्यस्तो दर्ता छुटेको कारण स्थापित भएपछि मात्र निवेदकको हक सम्बन्धित प्रमाणको अवलोकन गरिने । (प्रकरण नं.२) नेपाल सरकारको नाममा दर्ता भएको जग्गा कोही कसैको नाममा कुनै प्रकृतिबाट दर्ता हुँदैमा त्यसले कानूनी मान्यता प्राप्त गर्न नसक्ने । (प्रकरण नं.७) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री विष्णुमणि अधिकारी विपक्षीका तर्फबाट : सहन्यायाधिवक्ता श्री उद्धव पुडासैनी अवलम्बित नजिर : ने.का.प.२०७०, अंक ३, नि.नं.८९७५ ने.का.प.२०६६, अंक १२, नि.नं.८२८० ने.का.प.२०६२, अंक १०, नि.नं.७६०८ सम्बद्ध कानून : मालपोत ऐन, २०३४ आदेश न्या.अनिलकुमार सिन्हा : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७(२) बमोजिम दर्ता भई नियमानुसार पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ:- हामी निवेदकहरूका परबाजे गोकुल्याका छोरा धने रोकायाको नाममा वि.सं. १९४६ सालको मोठबमोजिम दर्ता स्रेस्ता रहेको घर १/१ सेर्मा १।।।४।३ मध्ये पाखोतर्फको डिल बाँजासो पूर्व, रानीपातलसो पश्चिम प्रकालु रोकायासो दक्षिण डाँडा सो उत्तर यति चार किल्लाभित्रको सेर्मा । १ को ६ मुरी विउ जाने पनेरीखोला भन्ने गडा (घाँस काट्ने गाजीमेलोसमेत घरधुरी सेर्मा र १।।।४।३ भित्रकै भई साबिकदेखिको भोगचलन दर्ताको सगोलको सेर्मा सेरानीको जग्गा हो । कर्णाली अञ्चलको हुम्ला जिल्लामा पहिलो पटक आ.व.२०५२।०५३ तिर सर्वे नापीका बखत हामी निवेदकहरूको नाममा सगोलमा आवादी रहेको जिल्ला हुम्ला सिमीकोट गा.वि.स. वडा नं. २(क) कि.नं. १ को ज.वि. ०,७८९२.५० व.मि. पनेरीखोला भन्ने पाखो जग्गा मिति २०५३।३।५ मा नाप नक्सा भई विपक्षी नापी कार्यालयबाट फिल्डबुक भर्दाका बखत हाम्रो हकभोगको साबिक दर्तास्रेस्ता मोठ तिरोको प्रमाणको आधारमा नापीकै बखत हाम्रो नाममा स्वत: दर्ता हुनुपर्नेमा नापीको समयमा दर्ता गर्न नपाई बाँकी रहन गएको थियो । हामी निवेदकहरूका परबाजे स्व. गोकुल्या रोकायाका तीन छोरा जेठा स्व. धने रोकायाको नाति म भियाले रोकाया, माहिलो मुने रोकायाको नाति म मानविर रोकाया र कान्छा अमृते रोकायाको नाति म धनरूप रोकायाले विपक्षी मालपोत कार्यालय हुम्ला सिमीकोटसमक्ष हाम्रो बाबु बाजेको पालादेखि भोगचलन गरी आएको उल्लिखित चार किल्लाभित्रको जग्गा हाल भएको सर्वे नापीबाट सिमीकोट वडा नं. २(क) को नाप नक्साबमोजिम कि.न. १ क्षे.फ. ०,७८९२.५० व.मि. जग्गा दर्ता गर्न छुट भएकोले उक्त छुट जग्गा दर्ता गरिपाउँ भनी मिति २०६६।५।२६ मा निवेदन दिएक