निर्णय नं. १००७६ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १००७६ - कर्तव्य ज्यान भाग: ६० साल: २०७५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७४/०७/३० ५१७९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७४।७।३० ०७३-CR-०२१० मुद्दाः- कर्तव्य ज्यान पुनरावेदक / प्रतिवादी : टोपबहादुर खड्काको छोरा, धादिङ जिल्ला, त्रिपुरेश्वर गा.वि.स. वडा नं.३ घर भई हाल कारागार कार्यालय धादिङमा थुनामा रहेको बलराम खड्का विरूद्ध प्रत्यर्थी / वादी : मोहनबहादुर बस्नेतको जाहेरीले नेपाल सरकार भवितव्य नठहर्ने कुरामा कसैले कसैलाई कुनै तरहले कुनै अंग भाँच्ने, छिनाल्ने गरी कुटपिट गरेकोमा त्यो थला परी निको नभई मरे कुटपिट गर्ने व्यक्तिलाई ज्यानमाराको बात लाग्छ । यस्तो अवस्थामा जतिसुकै समयपछि मरे पनि बात लाग्छ । यसमा सो चोट पीरले थला परी निको नभएको हुनुपर्छ । पहिलेको चोटपीडा एकपटक निको भइसकेको अवस्थामा भने बात लाग्दैन । बात लाग्न चोटपीडाको अनवरतता (Continuation) कायम भइरहेको हुनुपर्छ । टुट्नु (Break) हुँदैन । प्रतिवादीको कुटपिटकै कारण पीडित थला परी सोही चोटपीरका कारणबाट पीडितको मृत्यु भएको देखिएको अवस्थामा प्रतिवादीलाई ज्यानसम्बन्धीको बात लाग्ने नै देखिने । (प्रकरण नं.६) पहिले अपराधले पूर्णता नपाई उद्योगसम्म देखिएको स्थितिमा मुद्दा चल्दाचल्दैको अवस्थामा परिस्थितिमा परिवर्तन भई अपराधले पूर्णता प्राप्त गरेमा पूर्ण अपराधमा मुद्दा चलाउन र सजाय गर्न फौजदारी न्याय सिद्धान्तले रोकेको नदेखिने । (प्रकरण नं.७) पुनरावेदक / प्रतिवादीका तर्फबाट : प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०६९, अंक १, नि.नं.८७६१ ने.का.प.२०७१, अंक ५, नि.नं.९१७० सम्बद्ध कानून : मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ८, १३(३) नं. सुरू तहबाट फैसला गर्नेः- माननीय न्यायाधीश श्री ठाकुरप्रसाद शर्मा धादिङ जिल्ला अदालत पुनरावेदन तहबाट फैसला गर्नेः माननीय न्यायाधीश श्री लेखनाथ घिमिरे माननीय न्यायाधीश श्री युवराज सुवेदी पुनरावेदन अदालत पाटन फैसला न्या.हरिकृष्ण कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम पेस हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार रहेको छः- कक्षा ११ मा पढ्ने मेरो छोरी सुनिता बस्नेत परीक्षा दिन त्रिपुरेश्वरमा आई बलराम खड्काको घरमा कोठा लिई बसेको अवस्थामा मिति २०७१/०२/१० मा परीक्षा सकिएपछि छोरीलाई लिन आएका काका मेरो भाइ नारायणबहादुर बस्नेतलाई बलराम खड्काले एक्कासी पिटिरहेकोमा छोरीले छुट्याउने कोसिस गर्दासमेत छुट्याउन नसकी कुटपिटपश्चात् नारायणबहादुर बस्नेतलाई बोल्न नसक्ने अवस्थामा पुर्याएको हुँदा बलराम खड्कालाई कारबाही गरिपाउँ भनी निवेदन दिई ज्यान मार्ने मुद्दा चलेकोमा निज नारायणबहादुर बस्नेतको उपचारपछि कहिले घरमा र कहिले अस्पतालमा राखी उपचार गराउँदाको अवस्थामा भाइ नारायणबहादुर बस्नेतको मिति २०७१/११/२५ मा मृत्यु भएकाले निज बलराम खड्कालाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेत मोहनबहादुर बस्नेतको मिति २०७१/१२/५ को जाहेरी दरखास्त । मिति २०७१/०२/११ मा मेरो परीक्षा समाप्त हुने भएकोले मेरो आफ्नै काका नारायणबहादुर बस्नेत मलाई लिन भनी मिति २०७१/०२/१० मा बेलुका म बसी आएको बलराम खड्काको घरमा आई खाना खाई घरको माथिल्लो चोटामा छुट्टाछुट्टै खाटमा सुतिरहेको अवस्थामा अं.८:३० बजेको समयमा बलराम खड्का आई मेरो काकालाई घरमा सुतिरहेको देखी किन यहाँ आइस् भनी