निर्णय नं. १००८८ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १००८८ - कर्तव्य ज्यान भाग: ६० साल: २०७५ महिना: पौस अंक: ९ फैसला मिति :२०७४/०९/०३ ७९८३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७४।९।३ ०६९-CR-०२४९ मुद्दाः कर्तव्य ज्यान पुनरावेदक / वादी : रामदेव कुर्मीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : कपिलवस्तु जिल्ला, हरिहरपुर गा.वि.स., वडा नं. २ बस्ने शिवपुजन यादव अहिरसमेत फौजदारी मुद्दामा अभियुक्तउपर लगाएको अभियोग शंकारहित तवरबाट पुष्टि गर्न आवश्यक प्रमाणको संकलन एवं प्रस्तुतीकरण गर्ने जिम्मेवारी वादी पक्षमा निहित रहेको हुन्छ । अनुमान र शंकाको भरमा कर्तव्य ज्यान जस्तो कसुर अपराधमा कसैलाई दोषी ठहराउन मिल्दैन । अनुसन्धान तहकिकातबाट यही व्यक्ति अपराधी हो भनी पहिचान भई निज विरूद्ध संकलित सबुद प्रमाणहरूलाई अदालतसमक्ष प्रस्तुत गरी अदालतबाट त्यस्ता प्रमाणहरू परीक्षण भएपश्चात् शंकारहित तवरले कसुर पुष्टि हुने अवस्थामा मात्र त्यस्तो व्यक्तिलाई कसुरदार घोषित गरी सजाय गर्न मिल्ने । (प्रकरण नं.४) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री रामकुमार थापा प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा.जि.न्या.श्री इन्द्रबहादुर कार्की कपिलवस्तु जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री जागेश्वर सुवेदी माननीय न्यायाधीश श्री नीता गौतम दिक्षित पुनरावेदन अदालत बुटवल फैसला न्या. चोलेन्द्र शमशेर ज.ब.रा.: न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः मेरो वर्ष १७ को छोरा राजकुमार कुर्मी मिति २०६०।११।१३ मा घरबाट गएकोमा फर्की नआएकोले खोज्दै जाँदा हरिहरपुर गा.वि.स.वडा नं.२ अमहवाको सोहिया नालामा मृत अवस्थामा फेला परेको हुँदा कानूनबमोजिम गरिपाउँ भन्नेसमेतको जाहेरी दरखास्त । हरिहरपुर गा.वि.स.वडा नं.२ अमहवास्थित पूर्व रामदेव कुर्मीको खेत, उत्तर दक्षिण सडक, पश्चिम श्यामलाल अहिरको खेत यति चार किल्लाभित्र टाउको सोहिया नालामा पश्चिम मोहडा भई हिलोमा गाडिएको, शरीरको भाग १४ फिट पूर्व टाढा रहेको, उक्त स्थानमा २ फिट गोलाईमा रगत जमेको, घाँटीबाट काटी ढाड र टाउको छुट्टाछुट्टै अवस्थामा रहेको भन्नेसमेतको घटनास्थल तथा लास जाँच मुचुल्का । अभियुक्तलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भनी सुर्जमति कुर्मीले दिएको दरखास्त । शिवपुजन यादव अहिर, सन्तराम यादव अहिर तथा निजहरूको श्रीमतीहरूको संलग्नतामा छोरा राजकुमार कुर्मीलाई कर्तव्य गरी मारेकोले अभियुक्तहरूलाई खोजतलास गरी कानूनबमोजिम कारबाही गरिपाउँ भनी रामदेव कुर्मीले दिएको किटानी जाहेरी दरखास्त । जिल्ला कपिलवस्तु हरिहरपुर गा.वि.स.वडा नं.२ स्थित पूर्व प्रतिवादी रामवरण यादव अहिरको खेत, पश्चिम इमिलिया अमहवा जाने सडक, उत्तर पुजारी अहिरको गोठ, दक्षिण झगरू अहिरको खेत यति चार किल्लाभित्र रहेको प्रतिवादीको घरकोठामा हाँडीमा लुकाई राखेको रगत लागेको सेतो कछाड, सेतो धोती थान २ बरामद गरिएको खानतलासी बरामदी मुचुल्का । प्रतिवादी शिव पुजन यादव र रामवरण यादव अहिरलाई पक्राउ गरी दाखिला गरेको भन्ने प्र.ह.डुकराज भुषालको प्रतिवेदन । मिति २०६०।११।१३ का दिन राजकुमार कुर्मी हाम्रो घरमा आई मेरो श्रीमतीसँग एकछिन भान्सामा बसी १०।१५ मिनेटपछि फर