निर्णय नं. १००९० - मानव बेचबिखन तथा ओसारपसार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १००९० - मानव बेचबिखन तथा ओसारपसार भाग: ६० साल: २०७५ महिना: पौस अंक: ९ फैसला मिति :२०७५/०५/२७ ३१३३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७५।५।२७ ०७२-CR-०३९९ मुद्दाः मानव बेचबिखन तथा ओसारपसार पुनरावेदक / वादी : बाबुराम परियारको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : गोरखा जिल्ला भुम्लीचोक गा.वि.स. वडा नं.७ बस्ने मिठे भन्ने ठगबहादुर सुनार अपराधशास्त्रमा अभियुक्तउपर लिइएको अभियोग दाबीबमोजिमको कसुर आधार, प्रमाणबाट पुष्टि भएमा मात्र कसुरको मात्रा, कसुरमा अभियुक्तको संलग्नतालगायतका समग्र पक्षहरूको विश्लेषणपश्चात् अभियुक्तलाई सो कसुर गरेउपर मौजुद रहे भएको कानूनी व्यवस्थाबमोजिम मात्र सजाय गर्नुपर्ने मान्यता स्थापित छ जुन कानूनी शासनको मकसदसमेत हो । कुनै पनि अभियुक्तउपरको कसुर स्थापित भइसकेपश्चात सो कसुर गरेउपर रहेको कानूनी व्यवस्थाबमोजिम सजाय नगरी आफू खुसी सजाय निर्धारण गर्नु मान्य न्यायका सिद्धान्तविपरीतसमेत हुन जाने । (प्रकरण नं.५) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री प्रकाश कोइराला प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ सुरू तहमा फैसला गर्ने: मा.जिल्ला न्या. श्री प्रकाशकुमार काफ्ले गोरखा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. मुख्य न्यायाधीश श्री डम्बरबहादुर शाही माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना पुनरावेदन अदालत पोखरा फैसला न्या. दीपककुमार कार्की : पुनरावेदन अदालत पोखराको मिति २०७१।९।२१ को फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम वादी नेपाल सरकारका तर्फबाट पुनरावेदन दायर हुन आएको छ । प्रस्तुत फैसला सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ९१(४) र अनुसूची १२ को ढाँचामा तयार गरिएको छ । मुद्दाको तथ्य पुनरावेदन अदालत पोखराबाट भएको मिति २०७१।९।२१ को फैसलाबाट देखिने हुँदा यहाँ सो फैसलाको पुनरावृत्ति गरिएको छैन । वादी नेपाल सरकारको पुनरावेदन जिकिर नाम परिवर्तित वर्ष १५ की ‘ख’ कुमारीलाई प्रतिवादी मिठे भन्ने ठगबहादुर सुनारले ललाई फकाई प्रलोभनमा पारी अभिभावकलाई थाहा नदिई घरबाट चितवन लगेकोले कारबाही गरिपाउँ भन्ने बाबुराम परियारको जाहेरी परेको छ । निज जाहेरवालाले अदालतमा बकपत्र गर्दा मौकाको जाहेरीमा लेखिएको बेहोरा ठीक हो भनी लेखाएबाट उक्त बेहोरा समर्थित भएको छ । प्रतिवादीले मलाई लुगा किनिदिन्छु भनी ललाईफकाई बागलुङ घुम्न जाउँ भनी नारायणगढ लगेको भनी पीडितले बयान गरी उक्त बयान अदालतबाट समेत प्रमाणित भएको देखिन्छ । प्रतिवादी मिठे भन्ने ठगबहादुर परियारले मौकामा बयान गर्दा आफूले पीडितलाई ललाई फकाई प्रलोभन देखाई धादिङ हुँदै चितवन लगेको कुरा लेखाएको छ । प्रतिवादीले अदालतको बयानमा लेखाएझैं विवाह गर्ने उद्देश्यले लगेको भए अभिभावकको मन्जुरी लिई लैजानुपर्नेमा अभिभावकको मन्जुरी बेगर नाबालिगलाई ललाई फकाई लगेको देखिएको र पीडितको बयानबाट विवाह गर्न भनी लगेको नभई घुम्न जाने बहानामा लगेको भन्ने देखिँदा प्रतिवादीले आरोपित कसुर गरेको पुष्टि हुन्छ । प्रतिवादीको विवाह भइसकेको र श्रीमतीसमेत रहेको भन्ने निजको बयानबाट खुलेको हुँदा प्रतिवादीले यी पीडितलाई विवाह गर्ने उद्देश्यले लगेको भन्ने भनाइ पनि विश्वासयोग्य देखिँदैन । त्यसरी नेपालको एक ठाउँबाट अर्को ठाउँमा लगेको कसुर मा