निर्णय नं. १००९६ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १००९६ - उत्प्रेषण भाग: ६० साल: २०७५ महिना: पौस अंक: ९ फैसला मिति :२०७५/०३/२४ ३०८५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत फैसला मिति : २०७५।३।२४ ०६५-WO-०५१६ मुद्दाः उत्प्रेषण निवेदक : जिल्ला जुम्ला कार्तिक स्वामी गा.वि.स.वडा नं.७ मा घर भई तत्काल श्री सशस्त्र प्रहरी बल विन्ध्यवासिनी गण चन्द्रौटा कपिलवस्तु कम्पनी नं.२ दरबन्दीका स.प्र.ह. पदमा कार्यरत सुशील शाही विरूद्ध विपक्षी : नेपाल सरकार, गृह मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत सशस्त्र प्रहरी नियमावली, २०६० बमोजिम अख्तियारप्राप्त अधिकारीले सजाय पाउने व्यक्तिलाई, निजलाई हुन लागेको सजायको बारेमा जानकारी गराई उचित सुनुवाइको मौका प्रदान गर्नुपर्ने र त्यस्तो सफाइको मौका प्रदान गर्दा प्राप्त भएको सफाइलाई गम्भीरतापूर्वक मनन गर्नुपर्ने भएकोले सो प्रक्रिया पूरा नगरी सजाय गर्नु कानूनको मान्य सिद्धान्तविपरीत हुन जाने । (प्रकरण नं.४) अपवादात्मक अवस्थामा प्रयोग हुने सशस्त्र प्रहरी ऐन, २०५८ को दफा २१(ग) र सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ९३ को खण्ड (ख) को विशेष व्यवस्थालाई सामान्यीकरण गर्दै कसैलाई पनि प्राकृतिक न्यायको सिद्धान्तविपरीत सुनुवाइको मौकाबाट वञ्चित गर्न नमिल्ने । (प्रकरण नं.५) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री हरिप्रसाद उप्रेती, अधिवक्ता श्री तेजबहादुर ओली, श्री भरत खरेल, श्री विष्णु लुइँटेल, श्री पदमबहादुर शाही विपक्षीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री चन्द्रकान्त खनाल अवलम्बित नजिर : ने.का.प.२०७२, अंक ९, नि.नं.९४६४ सम्बद्ध कानून : सशस्त्र प्रहरी ऐन, २०५८ सशस्त्र प्रहरी नियमावली, २०६० आदेश न्या. प्रकाशमान सिंह राउत : नेपालको अन्तरिम संविधान २०६३ को धारा ३२ तथा धारा १०७ बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यसप्रकार छ :- म निवेदकलाई सशस्त्र प्रहरी बल विध्यवासिनी गण चन्द्रौटाका का.मु. सशस्त्र प्रहरी उपरीक्षक गणपति विजयकुमार पण्डितले सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८४(ख)१ बमोजिम भविष्यमा सरकारी नोकरीको लागि अयोग्य नठहरिने गरी सशस्त्र प्रहरी बलको सेवाबाट हटाउने गरी मिति २०६५/०५/१० मा निर्णय गरेकोमा सो निर्णयउपर पश्‍चिम क्षेत्रीय प्रहरी बल मुख्यालय मुक्तिनाथ बाहिनी पोखरामा पुनरावेदन गरेकोमा सुरूको निर्णय नै सदर गरी पुनरावेदन तहबाट मिति २०६५/०९/११ मा निर्णय भएको छ । गणमा कार्यरत रहेको अवस्थामा मिति २०६५/०४/२० गतेदेखि लागू हुने गरी ३ दिनको क्या.वी लिई गएकोमा मिति २०६५/०४/२४ गते आफ्नो ड्युटीमा हाजिर हुनुपर्नेमा म अशक्त बिरामी भई हाजिर हुन सकेको थिइन । सोहीबीचमा बिदा सकिई मिति २०६५।४।२४ मा हाजिर हुनुपर्नेमा नभई हालसम्म पनि हाजिर हुन नआएको र अशक्त भएको भए आफ्नो आफन्त परिवारहरूमार्फत आफ्नो कार्यरत युनिट वा नजिकको कुनै पनि सशस्त्र प्रहरीबल युनिटमा जानकारी गराउन सक्ने स्थिति हुँदाहुँदै पनि असक्‍तताको बारेमा जानकारी नदिएको हुँदा सशस्त्र प्रहरी नियमावलीअनुसार विदा स्वीकृत नगराई लगातार १५ दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको भन्‍ने आधारमा सशस्त्र प्रहरी बल विध्यवासिनी गण चन्द्रौटाका का.मु. सशस्त्र प्रहरी उपरीक्षक गणपति विजयकुमार पण्डितले मलाई सेवा मुक्त गरेकोमा सो उपरको पुनरावेदनमा सोही निर्णयलाई मिति २०६५/०९/११ मा पश्‍चिम क्षेत्रीय प्रहरी बल मुख्यालय मुक्तिनाथ बाहिनी पोखराले सदर गरेको छ ।