निर्णय नं. १०१०३ - सवारी ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०१०३ - सवारी ज्यान भाग: ६० साल: २०७५ महिना: पौस अंक: ९ फैसला मिति :२०७४/०२/२२ ८२८२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७४।२।२२ ०७१-CR-०७९२ मुद्दाः- सवारी ज्यान पुनरावेदक / वादी : दिपकनाथ भन्ने दिनानाथ योगीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : सल्यान जिल्ला, खलङ्गा गा.वि.स. वडा नं. ५ बस्ने प्रदिप खत्री पूर्वानुमान नगरिएको काबूबाहिरको कारण परी हुने दुर्घटनालाई मानवीय गल्ती नै हो भनी किटान गर्नु विवेकसम्मत नहुने । (प्रकरण नं.३) कुनै पनि वारदातमा यदि परिणामको पूर्वज्ञान हुँदाहुँदै पनि जोखिम उठाउने तत्परता देखिएको छ भने लापरवाही भएको मान्न पनि सकिन्छ । तर परिणामको इच्छा नभएको, सावधानी अवलम्बन गर्न खोज्दाखोज्दै पनि अनिच्छित परिणाम आएको अवस्थामा लापरवाही गरेको भनी बढी सजाय गर्न मनासिब हुने नदेखिने । (प्रकरण नं.४) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री दुर्गा खड्का प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री रूद्रप्रसाद पाठक अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने माननीय न्यायाधीश श्री राजेन्द्र अधिकारी सल्यान जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने माननीय न्यायाधीश श्री शेषराज शिवाकोटी माननीय न्यायाधीश श्री मेघनाथ भट्टराई पुनरावेदन अदालत तुलसीपुर, दाङ फैसला न्या. ईश्वरप्रसाद खतिवडा : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहोर्याई हेरी पाउन निवेदन परी यस अदालतको मिति २०७१।०९।१७ को आदेशले निस्सा प्रदान भई पुनरावेदनसरह दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- तथ्य खण्ड जिल्ला सल्यान, खलंगा गा.वि.स. वडा नं. ५ मैसेपानी स्थित श्रीनगर सितलपाटीबाट खलंगा जाने पक्की सडक, उक्त सडकको पिचको भाग १६ फिट रहेको, उक्त सडकको ७ फिट पूर्वदेखि पश्चिममा रा. १ त. ८९७ नं. को ट्याक्टरको एक्सल भाँचिई सडकमा खोस्रिएको देखिएको, उक्त ट्याक्टरको ट्रली, टु चेन भाँचिई सडकको पूर्व भागमा घोप्टो परेको, ट्रलीबाट पश्चिमपट्टि खोस्रिएको भाग २५ फिट रहेको, मेन इन्जिनसमेत बायाँतर्फ कोल्टो परेको, सडकको पूर्व भागमा कलभर्डमा विद्यार्थीको जुत्ता चप्पल, कपी, क्लिपबोर्ड छरपस्ट देखिएको, सडक छेउमा रगतको टाटाहरू देखिएको, सल्यान खलंगा-१ बस्ने वर्ष १२ की मिना योगीसमेत उक्त रा १ त ८९७ नं. को ट्रयाक्टर दुर्घटना भई घाइते भई उपचारका क्रममा मृत्यु भएको र अन्य घाइते भएको भन्ने घटनास्थल प्रकृति विवरण । मिति २०६९।१२।०५ गते जिल्ला सल्यान खलंगा गा.वि.स. वडा नं. ५ बस्ने प्रदिप खत्री चालक भई रा. १ त ८९७ नं. को ट्याक्टर श्रीनगरतर्फ बालुवा गिट्टी ल्याउन जाँदै गर्दा सो ट्याक्टर खाली भएको र सो दिनको एस.एल.सी. परिक्षासमेत सकिएको अवस्थाले श्रीनगरतर्फ जाने अधिकांश विद्यार्थीहरू सो ट्याक्टरमा बसी श्रीनगरतर्फ जाँदै गर्दाको अवस्थामा ट्याक्टरको एक्सल भाँचिन गई दुर्घटना हुँदा ट्रली फुत्किन गई सो ट्रलीमा बसेका विद्यार्थीहरू घाइते भएका र म जाहेरवालाको छोरी वर्ष १९ की मिना योगीको मृत्यु भएकोले चालक प्रदिप खत्रीलाई सवारी ऐन, नियमावलीअनुसार कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको दिपकनाथ योगीको जाहेरी दर्खास्त । मिति २०६९।१२।५ मा श्री त्रिभुवन जनता उच्च माध्यमिक विद्यालय, लुहापीङ, खलंगामा २०६९ को एस.एल.सी. परीक्षा केन्द्र परेकोले