निर्णय नं. १०११७ - जग्गा सार्वजनिक कायम गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०११७ - जग्गा सार्वजनिक कायम गरिपाउँ भाग: ६० साल: २०७५ महिना: माघ अंक: १० फैसला मिति :२०७४/११/०८ ४७९३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७४।११।८ ०७२-CI-०५१५ मुद्दा : जग्गा सार्वजनिक कायम गरिपाउँ पुनरावेदेक / प्रतिवादी : तनहुँ जिल्ला, व्यास नगरपालिका वडा नं. ७ बस्ने कृष्णबहादुर गुरूङ विरूद्ध प्रत्यर्थी / वादी : तनहुँ जिल्ला, व्यास नगरपालिका वडा नं. ७ बस्ने विश्‍वराज खनाल घरसारमा तयार हुने सरकारी अड्डाबाट प्रमाणित गराउनु नपर्ने घरसारको लिखत जुनसुकैबेलामा पनि आपसमा मिलेर तयार गर्न सकिने भएकोले त्यस्ता लिखतलाई प्रमाणमा ग्रहण गर्न निकै सतर्क हुनुपर्ने हुन्छ । घरसारको लिखतबाट जग्गा जमिनमा हक सृजना हुनको लागि त्यस्तो घरसारको लिखतको विश्‍वसनीयता पुष्टि गर्ने अन्य प्रमाणको समेत आवश्यक पर्ने हुन्छ । नापीको समयमा नै खोल्सी पहिरो जनिएको जग्गा प्रतिवादीले भोग चलन गरी आएको भनी विश्‍वास गर्ने आधार देखिन नआउने । (प्रकरण नं.२) कुनै पनि विषयमा एक पटक निर्णय भएपछि सो निर्णयलाई प्रत्यक्ष प्रभाव पार्ने लिखत प्रमाण देखिन आएमा निर्णय विचारणीय हुन सक्ने हुन्छ । जुन प्रमाणका आधारमा कारबाही एकपटक तामेलीमा राखिएको हो सोही प्रमाण उल्लेख गरी पछि दिएको निवेदनबाट जग्गा दर्ताको कारबाहीलाई कारबाहीयुक्त अवस्थामा रहेको भनी मान्‍न नमिल्ने । (प्रकरण नं.४) पुनरावेदेक / प्रतिवादीका तर्फबाट : प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मालपोत ऐन, २०३४ सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री उमेश कोइराला तनहुँ जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही माननीय न्यायाधीश श्री श्रीमण कुमार गौतम पुनरावेदन अदालत पोखरा फैसला न्या. केदारप्रसाद चालिसे : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेरिपाउँ निवेदन परी दोहोर्‍याउने निस्सा प्रदान भई पुनरावेदनसरह दर्ता हुने भई प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- परम्परादेखि नै सार्वजनिक रूपमा प्रयोग भई आएको नापीका समयमा कोही कसैको दाबी नरही फिल्डबुकमा खोल्सी पहिरो भनी जनिई बसेको मसमेतका स्थानीय बासिन्दाले सार्वजनिक रूपमा निरन्तर भोगी चर्ची आएको तनहुँ जिल्ला, गुणादी गा.वि.स. वडा नं. १/ख कित्ता नं. १७७ को क्षेत्रफल ७८-१०-२-१ मध्य पश्चिमतर्फ १५-०-०-० आफ्नो २०३१ सालको हदमुनिको राजीनामाको ४ किल्लाभित्रको जग्गा घुस्न गई नाप नक्सा भएकोले सो घुसेको जग्गा छुट दर्ता गरिपाउँ भनी विपक्षीले मिति २०४५।१।३१ मा निवेदन दिई पुनः मिति २०६६।१।९ मा छुट दर्तामा मालपोत कार्यालय तनहुँमा निवेदन दिई विना आधार प्रमाण सार्वजनिक जग्गा दर्ता गर्ने गराउने प्रयास गर्नुभएको हुँदा उक्त कित्ता नं. १७७ को पूरै जग्गा सार्वजनिक कायम गरिपाउँ भन्नेसमेत बेहोराको फिराद दाबी । कित्ता नं. १७७ को पूरै जग्गामा मेरो दाबी होइन । मेरो राजीनामाको चार किल्लाभित्र पर्ने ७ नं. फाराम, पुरानो मोठ नम्बरी तिरो रसिदलगायतका प्रमाणका आधारमा हालसम्म भोगचलन गरी आएको साबिक गुणादी गा.वि.स. वडा नं. १/ख कित्ता नं. १७७ खोल्सी पैरो जनिएको ज.रो. ७८-१०-२-१ मध्ये १५-०-०-० जग्गा मात्र मेरो जग्गा दर्ता दाबी हो । बाँकी रहेका अन्य जग्गामा मेरो दाबी छैन । उल्लिखित कित्ता नं. १७७ मध्ये केही जग्गा मादी नदीको बाढीका कारण बगरमा स