निर्णय नं. १०१२२ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०१२२ - उत्प्रेषण / परमादेश भाग: ६० साल: २०७५ महिना: माघ अंक: १० फैसला मिति :२०७४/१०/२८ २४७६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्‍ठ माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा आदेश मिति : २०७४।१०।२८ ०७१-WO-००१९ मुद्दा : उत्प्रेषण / परमादेश निवेदक / पक्ष : बारा जिल्ला, भुलही भरवलिया गाउँ विकास समिति वडा नं. ८ बस्ने स्व. रामेश्‍वरप्रसादको यादवको पत्‍नी ललितादेवी विरूद्ध विपक्षी : पुनरावेदन अदालत हेटौंडासमेत परिवारको कुनै एक व्यक्तिले बेहोर्नु पर्ने दायित्वका लागि अन्य व्यक्तिको नाममा रहेको सम्पत्ति लिलाम गर्ने कार्य गर्दा पर्याप्त सुनुवाइको अवसर प्रदान गरी कानूनबमोजिमको प्रक्रिया अवलम्बन भएको हुनुपर्दछ । दर्तावालाको सम्पत्तिबाट बिगो असुलउपर गर्दा दर्तावालालाई सुनुवाइको मौका नदिइएको र बिगो भरी भराउको कार्यमा संलग्नता नभएको अवस्थामा भरी भराउको प्रयोजनका लागि सम्पन्‍न गरिएका लिलामसमेतका कारबाही कानूनबमोजिम मान्न नमिल्ने । (प्रकरण नं.४) लेनदेन मुद्दामा वादीको मूल सरोकार भनेको फैसलाबमोजिम बिगो भराई पाउनेसम्म हो । नगदै बिगो प्राप्त गर्ने अवस्था रहेसम्म अचल सम्पत्ति वा जग्गा प्राप्त गर्ने भन्ने होइन । फैसला कार्यान्वयनको मूल मर्म नै लेनदेन मुद्दामा ठहर भएको बिगो वादीलाई भराई दिने भएकाले लिलामको कारबाही प्रारम्भ भएपनि बिगोबापत लिलाम भएको जेथा सकार गर्नेको नाउँमा दा.खा.दर्ता नभएको अवस्थासम्म प्रतिवादीले बिगो रकम दाखिल गर्न ल्याए लिई सो रकमबाट नै फैसला कार्यान्वयन गर्न मिल्ने नै हुन्छ । लेनदेन मुद्दाको फैसलाले भराई पाउने ठहर भएको रकम नगदै दाखिल भएसम्म जेथा लिलाम गरिरहन नपर्ने । (प्रकरण नं.५) निवेदक / पक्षका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री जयकान्त लाल दास विपक्षीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : तत्कालीन नेपालको अन्तरिम संविधानको, २०६३ को धारा ३२ र १०७ (२) बमोजिम दायर हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ : मेरो स्व. पति रामेश्‍वर यादव र विपक्षी विरबहादुर चौधरीबीच लेनदेन मुद्दा चली रौतहट जिल्ला अदालतबाट मेरा पतिले सावाँ ब्याज भरी पाउने ठहरी मिति २०६६।१०।१८ मा भएको फैसला अन्तिम भएको छ । फैसलाबमोजिम रकम नबुझाएपछि विपक्षीको एकासगोलको पत्‍नी निशोहरीका नाम दर्ताको जग्गाबाट बिगो भराउने दरखास्त पतिले दिनु भएको थियो । दरखास्तबमोजिम प्रक्रिया पूरा गरी मिति २०६८।६।२९ मा जग्गा लिलाम भई पतिको हक खाने म पत्‍नीले दा.खा.दर्ता गराएकी थिएँ । यसै क्रममा साबिक जग्गाधनी निशोहरी देवीले बेरीतको लिलाम बदरको माग गरी मिति २०६०।३।१५ मा रौतहट जिल्ला अदालतमा निवेदन दिएकोमा मिति २०७०।१०।३ मा लिलाम, तामेलीलगायत कानूनसम्मत भएको देखिँदा बदर गर्न नमिल्ने भनी आदेश भयो । सो आदेशउपर अ.बं. १७ नं. बमोजिम पुनरावेदन अदालत हेटौंडामा निवेदन परेकोमा जिल्ला अदालतको उक्त आदेश जग्गावालालाई जानकारी नगराइएको, बिगो तिर्ने मौका दिएको नदेखिएको, धनी रामेश्‍वर यादवको मृत्यु मिति २०६७।११।२२ मा भएको भनिएकोमा सो मितिपश्‍चात् धनीकै नामबाट मिति २०६८।२।११ मा तारेख उठाएको लगाएका कार्य कानूनविपरीत गरी प्रक्रिया पूरा नगरी भएको लिलामी कारबाही कानूनसङ्गत नदेखिएको भन्‍ने आधारमा बदर गरियो । अदालतबाट प्रत्यर्थी वीरबहादुरको नाउँमा जारी भएको म्याद सूचना निज स्वयंले बुझेको देखिन