निर्णय नं. १०१२४ - बगैंचा जग्गा मोही लगत कट्टा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०१२४ - बगैंचा जग्गा मोही लगत कट्टा भाग: ६० साल: २०७५ महिना: माघ अंक: १० फैसला मिति :२०७४/१२/०५ २६१६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. फैसला मिति : २०७४।१२।५ ०६९-CI-००६३ मुद्दाः बगैंचा जग्गा मोही लगत कट्टा पुनरावेदक / वादी : जिल्ला बारा, कलैया न.पा. वडा नं.५ बस्ने भवानी शंकर अग्रवालको मु.स. गर्ने शारदा देवी अग्रवाल विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला बारा, कलैया न.पा. वडा नं.३ बस्ने स्व. बागड मियाँ धुनियाको छोरा अब्दुल रब मन्सुर भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ङ) मा घरबारीको परिभाषा गर्दा घरसँग जोडिएको वा फरक रहेको गोठ, भकारी, इनार, पोखरी, ग्यारेज, तबेला, फलफूलको बगैंचा, तरकारी बारीजस्ता चीजलाई घरबारीको दायराभित्र राखेको देखिन्छ । "फलफूलको बगैंचा" भन्ने शब्द अगाडि र पछाडि प्रयुक्त शब्द हेर्दा सो शब्दको अगाडि "तबेला" र पछि तरकारी बारी भन्ने शब्दको प्रयोग भएको देखियो । विधायिकाले परिभाषा गरेको "फलफूल बगैंचा" अन्तर्गत आफू बसोबास गरेको घरसँग जोडिएको घडेरीसरहको जग्गामा रहेको फलफूलको रूखहरूलाई बगैंचा भनी अर्थ गरेको पाइन्छ । यसबाट घर र करेसावारीसँग जोडिएको केही सीमित जग्गाको फलफूलको बगैंचालाई मात्र सम्झनु पर्ने । घरबारी भन्ने बित्तिकै घर रहेको वा घर बनाउन योग्य रहेको घडेरीसरहको जग्गा घरसँग जोडिएको बारी, बगैंचा आदिलाई सम्झनु पर्ने हुँदा घरबारीमा ठूलो क्षेत्रफलको फलफूलको बगैंचासमेत पर्दछ भनी विधायिकाको मनसायविपरीत गएर भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ङ) मा उल्लिखित घरबारीको परिभाषालाई व्याख्या गर्न र सम्झन नहुने । (प्रकरण नं.४) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताद्वय श्री प्रेमबहादुर खड्का र श्री बालकृष्ण न्यौपाने प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ताहरू श्री हरि फुँयाल, श्री नारायणप्रसाद देवकोटा, श्री मिलन राई र श्री केदारप्रसाद दाहाल अवलम्बित नजिर : सम्बद्ध कानून : भूमिसम्बन्धी ऐन, २०२१ सुरू तहमा फैसला गर्ने:- श्री राजाराम थापा भूमि सुधार कार्यालय, बारा पुनरावेदन तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री मोहनरमण भट्टराई माननीय न्यायाधीश श्री बिदुरबिक्रम थापा पुनरावेदन अदालत, हेटौंडा फैसला न्या. तेजबहादुर के.सी.: तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्राप्‍त भई पुनरावेदनको रोहमा पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः- मेरो नाउँ दर्ताको जिल्ला बारा, गा.वि.स. ब्रह्मपुर वडा नं. १ कि. २१६ को ज.वि. १-२-५ जग्गामा नापी पूर्वदेखि नै पिताले बगैंचा लगाई भोगचलन गरी आइरहेकोमा उक्त बगैंचाको फलफूल रेखदेख गर्ने कार्य विपक्षीका पितालाई दिएकोमा नापी हुँदा किसानको महलमा विपक्षीको पिता बागड मियाँले उक्त जग्गा सत्यनारायण माडवारीको हो भनी नक्सा भएको छ । पिता सत्यनारायणको शेषपछि उक्त जग्गा म वादी निवेदकका नाउँमा दाखिल खारेज नामसारी भई एकलौटी भोगचलन गरी आएको छ । उक्त जग्गामा बगैंचा भएकोले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ङ) को कानूनी व्यवस्थाले बगैंचालाई घरबारीमा वर्गीकरण गरी ऐ. ऐनको दफा २५ को उपदफा ५ ले घरबारीको जग्गा कमाउने मोही हक प्राप्त नहुने भनी किटानी कानूनी व्यवस्था रहे भएबाट उक्त बगैंचा जग्गाको मोही बागड मियाँका नाउँको मोही लगत कट्टा गरिपाउँ भन्नेसमेत बेहोराको भवानी शंकर