निर्णय नं. १०१२५ - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०१२५ - परमादेश भाग: ६० साल: २०७५ महिना: माघ अंक: १० फैसला मिति :२०७४/१२/१९ ४०४५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री बमकुमार श्रेष्‍ठ आदेश मिति : २०७४।१२।१९ ०६८-WO-१०३९ मुद्दाः परमादेश निवेदक : भक्तपुर जिल्ला दधिकोट गा.वि.स.वडा नं.५ बस्ने अधिवक्ता कञ्चनकृष्ण न्यौपाने विरूद्ध विपक्षी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार काठमाडौंसमेत सिमेन्टको कणहरूबाट श्रमिकको स्वास्थ्यलगायत अन्य सर्वसाधारण मानिस, जीवजन्तु, वनस्पतिसमेतमा प्रतिकूल प्रभाव पर्ने भएकाले त्यसप्रकारको नकारात्मक प्रभावलाई यथाशक्य कम गरी स्वच्छ तथा स्वस्थ वातावरण कायम गर्नु वाञ्छनीय हुने । (प्रकरण नं.३) कमजोर प्याकिङ भएमा सिमेन्टको परिमाणमा ह्रास हुने हुँदा उपभोक्ताको अहित हुने अर्थात् उपभोक्ताको हक हितको संरक्षण नहुने अवस्था रहन्छ । त्यसैले पनि सिमेन्टको प्याकिङ कार्य भरपर्दो र उपभोक्ताको हितअनुकूल गरिनु वाञ्छनीय हुन जाने । (प्रकरण नं.५) लेमिनेसन गरेको बोरामा सिमेन्टको प्याकिङ हुनुपर्ने कुरा उपभोक्ताको हित, आम जनस्वास्थ्य र स्वच्छ वातावरणको लागि अपरिहार्य हुने । (प्रकरण नं.६) वातावरणीय स्वच्छता, उपभोक्ताको हित एवं मजदुरको हित तथा जनस्वास्थ्य कायम गर्न लेमिनेसन गरेको बोरामा सिमेन्टको प्याकिङ हुनु उपयोगी हुने भएकाले सिमेन्टको उत्पादन, भण्डारण, ओसारपसार तथा बिक्री वितरण गर्ने सम्बन्धमा निश्चित मापदण्ड बनाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु गराउनु वाञ्छनीय देखिने । (प्रकरण नं.७) निवेदकका तर्फबाट : विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री संजीवराज रेग्मी अवलम्बित नजिर : सम्बद्ध कानून : उपभोक्ता संरक्षण ऐन, २०५४ आदेश न्या. ईश्वरप्रसाद खतिवडा : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७(२) बमोजिम पर्न आएको प्रस्तुत निवेदनको संक्षिप्‍त तथ्य र आदेश यसप्रकार छः रिट निवेदनको बेहोरा म निवेदक कानून व्यवसायमा लागेको व्यक्ति हुँ । देशमा कानूनी शासन हुनुपर्छ, संविधानविपरीत कसैले पनि काम गर्न पाउनु हुँदैन, कानूनी हक अधिकारको संरक्षण हुनुपर्छ भन्ने मान्यता राख्ने नेपाली नागरिक हुँ । नेपालमा सिमेन्ट उत्पादनपछि प्याकिङ गरी बजारमा ल्याउँदा धुलो निस्किने सामान्य प्लाष्टिकको बोरामा प्याकिङ गरिएको हुन्छ । भौतिक संरचनाको लागि अत्यावश्यक रहेको सिमेन्टको प्रयोग र बिक्री वितरणमा अपनाइने असावधानीले निर्माण क्षेत्रमा कार्यरत मजदुर, कामदारलगायत हामी सर्वसाधारण जनताको समेत स्वास्थ्यमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा गम्भीर असर पारिरहेको छ । हाल प्रचलित बोरामा सिमेन्ट चुहावटसमेत हुने गरेको छ । विश्वका प्रायः धेरै देशमा लेमिनेसन गरेको बोरा प्रयोग गर्ने गरिएको छ । सिमेन्टजस्तो हानिकारक तथा वातावरणमा असर पारिरहेको वस्तुको प्याकिङ लेमिनेसन नभएको सामान्य प्लाष्टिकको बोरामा गरिनु उपभोक्ता संरक्षण ऐन, २०५४, वातावरण संरक्षण ऐन, २०५३ र UN Guidelines, 1985 समेतले व्यवस्था गरेका कानून र मापदण्ड तथा सर्वोच्च अदालतबाट समय समयमा प्रतिपादित नजिर सिद्धान्तसमेतको प्रतिकूल रहेको छ । नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२ र धारा १६ ले प्रदान गरेको स्वच्छ वातावरणमा सम्मानपूर्वक बाँच्न पाउने हक हनन भएको छ । संविधानको धारा ३२ र १०७(२) बमोजिम विपक्षी प्रत्यर्थीहरूको नाममा सिमेन्टको उत्पादन, बिक्री वितरणमा आवश्यक नीति नियम बनाई लेमिनेसन गरिएको ब