निर्णय नं. १०१२८ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०१२८ - उत्प्रेषण / परमादेश भाग: ६० साल: २०७५ महिना: फागुन अंक: ११ फैसला मिति :२०७५/०५/२७ ४५५७ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे आदेश मिति : २०७५।५।२७ ०७३-WO-१२३९ विषयः उत्प्रेषण / परमादेश निवेदक : जिल्ला पर्सा, वीरगञ्ज उपमहानगरपालिका वडा नं.८ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.३४ बानेश्वर बस्ने डा. सुवोध कुमार कर्ण विरूद्ध विपक्षी : सम्माननीय प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंसमेत प्रधानन्यायाधीशको अनुपस्थितिमा स्वतः सृजना हुने का.मु. प्रधानन्यायाधीशको पद प्रधानन्यायाधीश उपस्थित भएपछि स्वतः निष्क्रिय हुने र कायम रही नरहने अस्थायी प्रकृतिको हुन्छ । यसप्रकार स्वतः सृजना हुने र स्वतः समाप्त हुने का.मु. प्रधानन्यायाधीशको पद अल्पकालीन प्रकृतिको संवैधानिक मान्यता प्राप्त पद हो । प्रधानन्यायाधीशको अनुपस्थितिमा सृजना हुने यो पदलाई संविधानको धारा १२९(६) ले मान्यता र भूमिका प्रदान गरेको देखिन्छ । आवश्यकताको आधारमा स्वतः सृजना हुने र स्वतः निष्क्रिय हुने अल्पकालीन प्रकृतिको पद भएकाले यस पदको लागि सपथ लिई रहनुपर्ने कल्पना स्वयम् संविधान निर्माताले गरेको देखिँदैन । संविधान निर्माताले नै सपथ लिनुपर्ने बाध्यात्मक अवस्था सृजना नगरी संवैधानिक मान्यता प्रदान गरेको अवस्थामा केवल सपथलाई आधार मानी प्रधानन्यायाधीश र का.मु. प्रधानन्यायाधीशको भूमिका फरक फरक हुने भनी जबरजस्ती व्याख्या गर्नु संविधानको मर्म र भावनाअनुरूपसमेत हुने नदेखिने । (प्रकरण नं.८) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा तथा विद्वान् अधिवक्ताहरू डा. श्री भिमार्जुन आचार्य र श्री ऋषीराम घिमिरे विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री संजीवराज रेग्मी, विद्वान् वरिष्ठ अधिवक्ता श्री रमणकुमार श्रेष्ठ तथा विद्वान् अधिवक्ता श्री अरूण ज्ञवाली अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान संवैधानिक परिषद्‌ (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ संवैधानिक परिषद्‌ नियमावली, २०६८ सर्वोच्च अदालत ऐन, २०४८ सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली, २०७२ आदेश प्र.न्या.ओमप्रकाश मिश्र : नेपालको संविधानको धारा ४६ तथा १३३ (२) र (३) बमोजिम उत्प्रेषण परमादेशसहित उपयुक्त आदेशको माग गरी दर्ता भई नियमानुसार पेस हुन आएको प्रस्तुत निवेदनको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार रहेको छ: म रिट निवेदक २०३७ सालमा त्रिभुवन हनुमान माध्यमिक विद्यालयबाट SLC, २०३९ सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जबाट Management विषयमा आई.कम., २०४१ सालमा Business Administration विषयमा BBA, २०५० सालमा The Institute of Charted Accountants of India बाट Charted Accountant (C.A.), २०५३ सालमा विहार विश्वविद्यालयबाट LLB, २०६९ सालमा The Institute of Certified Managements of Sri Lanka बाट Management Accountant विषयमा CMA, २०७२ सालमा The Institute of Professional of Manager of Sri Lanka बाट Professional Manager विषयमा CPM र २०७० सालमा मोनाड विश्वविद्यालयबाट Management विषयमा Ph.D को उपाधी हासिल गरी २०५० सालदेखि निरन्तर रूपमा लेखापरीक्षण सेवामा संलग्न रही कार्य गर्दै गरेको व्यक्ति हुँ । मैले चार्टड एकाउन्टेन्टस शिक्षा हासिल गरिसकेपछि मिति