निर्णय नं. १०१३३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०१३३ - उत्प्रेषण भाग: ६० साल: २०७५ महिना: फागुन अंक: ११ फैसला मिति :२०७५/०९/०३ ३१०२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे आदेश मिति : २०७५।९।३ ०७४-WO-०११० विषयः उत्प्रेषण रिट निवेदक : पाल्पा जिल्ला, मदनपोखरा गा.वि.स., वडा नं. ६ स्थायी ठेगाना भई हाल रूपन्देही जिल्ला, बुटवल उपमहानगरपालिका, वडा नं. ४ बस्ने नारायणप्रसाद घिमिरेसमेत विरूद्ध विपक्षी : नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सिंहदरबार काठमाडौंसमेत सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम ३५क र नियम १८ को उपनियम (१) को खण्ड (क) को (४) को व्यवस्था हेर्दा यी दुई व्यवस्थाहरू आफैँमा पृथक व्यवस्था रहेको देखिन्छ । पृथक व्यवस्था भएको कारण सो प्रावधानहरूको व्याख्यासमेत स्वतन्त्र रूपले मूल ऐनको समग्र उद्देश्य तथा विधायिकी मनसायअनुरूप समन्वयात्मक व्याख्या (harmonious interpretation) गरिनु पर्ने देखिन्छ । कानूनको व्याख्या गर्दा कुनै एक प्रावधानलाई मात्र यान्त्रिक तरिकाले व्याख्या गर्नु व्यावहारिक हुँदैन । समग्रमा कानूनको प्रस्तावनामा उल्लिखित उद्देश्यलाई समेत मध्यनजर गरी रचनात्मक तरिकाले ऐनकै उद्देश्य पूर्तिको लागि समन्वयात्मक व्याख्या गरिनु पर्ने । (प्रकरण नं.४) ऐनद्वारा प्रत्यायोजित गरिएको अधिकारको आधारमा सार्वजनिक सवारीलाई सुरक्षित रूपमा सञ्चालन गरी सवारी दुर्घटना न्यूनीकरण गरी सर्वसाधारण नागरिकलाई सुरक्षित यातायात सेवा व्यवस्थापन गर्ने ऐनको मूल उद्देश्यको प्रयोजनार्थ नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी साधनको छतमा राखिने क्यारियर हटाउने गरी संशोधनद्वारा थप गरेको व्यवस्था अन्यथा नदेखिने । ऐनको उद्देश्य कार्यान्वयन र सहजीकरणको हेतुले नेपाल सरकारले गरेको उक्त व्यवस्थालाई बाझिएको अर्थ गर्न मिल्ने अवस्था देखिँदैन । संशोधित नियमावलीको व्यवस्था बसमा यात्रा गर्ने यात्रुहरूको बढ्दो दुर्घटनाबाट मृत्यु भएको सन्दर्भलाई हेरी संशोधनबाट ल्याइएको छ । यात्रुको सर्वोपरी सुरक्षालाई ध्यानमा राखी बनाइएको कानूनी व्यवस्था ऐनको प्रतिकूल हुन्छ भन्न नमिल्ने । (प्रकरण नं.५) रिट निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री होमबहादुर राउत क्षेत्री र श्री छविलाल घिमिरे विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री संजीवराज रेग्मी अवलम्बित नजिर : ने.का.प.२०६७, नि.नं.८४५७, अंक ९ सम्बद्ध कानून : सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ आदेश न्या. दीपककुमार कार्की : नेपालको संविधानको धारा ४६ तथा धारा १३३ (१) र (२) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार रहेको छः तथ्य खण्ड रिट निवेदनको बेहोराः हामी निवेदकहरू सार्वजनिक यात्रुबाहक सवारी सञ्चालन गर्ने सवारी साधनका धनी एवं व्यवस्थापक हौं । हामीहरूले कानूनबमोजिम बाटो इजाजत लिएर सिधै (डाइरेक्ट) सेवा प्रदान गर्ने सार्वजनिक यात्रुबाहक सवारी साधन सञ्चालन गर्दै यात्रुहरूलाई एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्न सहजीकरण गर्दै आएका छौँ । हामीले सञ्चालन गरेको यात्रुबाहक सवारी साधनमा यात्रा गर्दा यात्रुहरूले आफूलाई आवश्यक पर्ने लत्ता कपडालगायतका सामानहरू साथमा लिएर हिड्ने गरेका छन् । यात्रीको झिटीगुन्टाहरू हामीले सवारी साधनको छतमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ६ अन्तर्गतको व्यवस्थाअनुसार सवारी तथा यातायात व