निर्णय नं. १०१३७ - बैंकिङ कसुर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०१३७ - बैंकिङ कसुर भाग: ६० साल: २०७५ महिना: फागुन अंक: ११ फैसला मिति :२०७४/०६/२२ ७५८० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा फैसला मिति : २०७४।६।२२ ०७१-RB-०१२१ मुद्दा:- बैंकिङ कसुर पुनरावेदक / प्रतिवादी : मकवानपुर, हेटौंडा नगरपालिका वडा नं.११ घर भई हाल कारागार कार्यालय भिमफेदी मकवानपुरमा थुनामा रहेको अर्जुनप्रसाद विडारी विरूद्ध प्रत्यर्थी / वादी : चतुरमान घलानको जाहेरीले नेपाल सरकार वस्तुतः चेक अनादर व्यक्ति व्यक्तिबीच चेक काटी लिनु दिनु गरेको कारोबारसँग सम्बन्धित रहेको देखिन्छ । यसमा चेक दिनेको खातामा पर्याप्त रकम नभएको कारणबाट चेक धारकले चेकमा उल्लेख भएको रकम सम्बन्धित बैंकबाट भुक्तानी पाउन नसकी चेक अनादर हुन जाने । (प्रकरण नं.५) बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३(ग) मा भएको व्यवस्थाअनुसार चेकमा उल्लिखित रकम आफ्नो खातामा नभएको जानी जानी चेक काटी दिएको आधारमा मात्र बैंकिङ कसुर मान्न सकिने अवस्था नदेखिने । बैंकिङ कसुर हुनको लागि आफ्नो खातामा पर्याप्त रकम छैन भन्ने जानकारी हुँदाहुँदै चेक काटिएको हुनुपर्ने र चेकमा उल्लिखित रकम निजको खातामा मौज्दात नभए पनि उक्त चेकअनुसारको रकमको भुक्तानी लिएको दिएकोसमेत हुनुपर्ने हुन्छ । चेक काटिएको रकमको भुक्तानी लिँदा दिँदा बैंकका कर्मचारीसमेत संलग्न हुने हुँदा बैंकका कर्मचारी संलग्न नभएको अवस्थामा एकतर्फी चेक काटिएको आधारमा मात्र बैंकिङ कसुर हुन सक्ने देखिँदैन । "भुक्तानी लिन दिन हुँदैन" भन्ने बेहोराले भुक्तानी लिने र दिने दुवै पक्षलाई जिम्मेवार बनाउन खोजेको देखिने । (प्रकरण नं.६) पुनरावेदक / प्रतिवादीका तर्फबाट : प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री सुरेन्द्र थापा अवलम्बित नजिर : ने.का.प.२०७२, अंक ८, नि.नं.९४५२ सम्बद्ध कानून : बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ सुरू फैसला गर्ने न्यायाधीश : माननीय न्यायाधीश श्री जीवनहरि अधिकारी माननीय न्यायाधीश श्री सरिता शर्मा पुनरावेदन अदालत हेटौंडा फैसला न्या. मीरा खड्का : पुनरावेदन अदालत हेटौंडाको मिति २०७१।३।३१ को फैसलाउपर प्रतिवादीको तर्फबाट तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) बमोजिम पुनरावेदन परी पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ । जिल्ला मकवानपुर हटिया गा.वि.स. वडा नं.६ कित्ता नं.५०६ ज.बि. ०-१२-३ मेरो हक भोगको जग्गा मिति २०६९।९।२७ गते दत्तराम दाहालसमेत मिली अर्जुनप्रसाद बिडारीको नाउँमा रजिस्ट्रेसन पास गराई दत्तराम दाहालको सिद्धार्थ बैंकमा रहेको खाताको रू.४,७०,०००।- को बाउन्स चेक दिएको हुँदा कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको चतुरमान घलानको जाहेरी दरखास्त । दत्तराम दाहालको यस बैंकमा कायम रहेको खाता नं.०१७१५०३८३८१ मा मिति २०६९।१२।२१ गते रू.१६८६।०३ रकम रहेको, मिति २०६९।१०।३ गते चतुरमान घलानले भुक्तानी पाउने गरी खिचिएको चेक खातामा पर्याप्त मौज्दात नरहेको कारणले बाउन्स भएको हो भन्नेसमेत बेहोराको सिद्धार्थ बैंकको पत्र । पक्राउ परेका नवराज बुढाथोकी, शेखर घिमिरे, अर्जुनप्रसाद विडारी र मदन कार्की जाहेरीमा उल्लेख भएका व्यक्तिहरू हुन् भन्नेसमेत बेहोराको चतुरमान घलानको सनाखत कागज । म मालपोत कार्यालयमा लेखापढी गर्दै आएको छु । मिति २०६९।९।२७ गते दत्तराम दाहाल, अर्जुनप्रसाद विडारी, नवराज बुढाथोकी र जाहेरवाला चतुरमान घलानलगायतका व्यक्तिहरू