निर्णय नं. ४३४० - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३४० - बन्दीप्रत्यक्षीकरण भाग: ३३ साल: २०४८ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४८/०६/१३ २२७३ निर्णय नं. ४३४० ने.का.प. २०४८ अङ्क ८ संयुक्तइजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय सम्वत् २०४८ सालको रि. नं. १५६१ आदेश भएको मिति: २०४८।६।१३।१ मा निवेदक : डि.एस.पी कार्यालय हनुमानढोकामा थुनामा रहेको रविन राइको हकमा कहरमान राई विरुद्ध विपक्षी : सिद्धि मनकामना सेकेण्डरी स्कूल वत्तीसपुतली विषय : बन्दीप्रत्यक्षीकरण (१) थुनामा रहेको कानुनी अथवा गैरकानुनी सम्बन्धमा विचार गर्दा कारवाही शुरु हुँदाको मितितर्फ विचार नगरी लिखितजवाफ आउँदाको र सुनुवाइको समयमा कानुनी छ छैन सो हेरिनु पर्दछ, गैरकानुनी थुनामा राखेको आदेश संशोधन गरिएको अथवा पुनः जारी गरिएको अवैध भयो भन्ने आधारमा अदालतले थुनुवालाई छोड्न नसक्ने । (प्रकरण नं. १३) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री होमनाथ ढुड्डाना विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. अवलम्बित नजीर : ने.का.प. २०४०, नि.नं. १८४५ आदेश न्या.गजेन्द्रकेशरी बास्तोला १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार रहेछ । २. मेरो नाती नाता पर्ने रविन राई विपक्षी नं. १ मा कक्षा ९ मा अध्ययनरत छात्र हुन । मिति २०४८।३।९ का दिन बिहान ९ बजेतिर सदा झैं विपक्षी नं. १ मा अध्ययन गर्न गएका थिए । घरमा नफर्केकोले ऐ. १० गते स्कूलमा गई बुझ्दा विपक्षी नं. २ ले अध्ययन गर्न आएका थिए, कक्षा शिक्षक र निजको बीच भनाभन भयो र गौशाला प्रहरीको मद्दत लिई डि.एस.पी.का. हनुमान ढोकामा पुर्याएको छौं भनेकोले विपक्षी नं. ३ समक्ष गई बुझ्दा भोली आए भेट्न पाइन्छ भनेबाट ऐ.११ गते गई टाढाबाट कुरा गर्न दिइयो । २०४८।३।९ (साविक पेज नं. ४१४) का दिन स्कूलमा शिक्षकले मलाई ३ घण्टासम्म हात खुट्टा बाँधी लडाई पिटे र पछि जबरजस्ती गौशाला चौकीमा पुर्याएर ५ बजेतिर त्यहाँ थुन्न ल्याए र खानाको हकमा १।१ मुठी चिउरा प्राप्त भएको छ किन थुने थाहा छैन भनी रविनले बताए । ३. रविन राईलाई थुनामा राख्दा अ.बं. १२१ नं. बमोजिमको कारण सहितको पुर्जी दिइएको छैन र नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १४(६) अनुसार थुनामा राखिएको व्यक्तिलाई २४ घण्टा भित्र मुद्दा हेर्ने अधिकारी समक्ष पुर्याइनु पर्नेमा सो को विपरीत गरी धारा १२(१) द्वारा प्रदत्त हकमा आघात परेकोले धारा २३।८८ बमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ भन्ने रिटनिवेदन जिकिर । ४. यसमा के कसो भएको हो निवेदकको मागबमोजिमको आदेश किन जारी हुननपर्ने हो विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीशको इजलासको आदेश । ५. विपक्षी रविन राई यस स्कूलको कक्षा ९ मा पढ्ने विद्यार्थी हुन् र निजले २०४८।३।९ का दिन स्कूलको कक्षा सञ्चालनमा अवरोध गरी कक्षा शिक्षक दिपकराज भण्डारीले सम्झाउँदा नमानी निजलाई नै हात र लातले हानी कुटपिट गरेकोले म प्रिन्सिपल हुँदा निज शिक्षकले कारवाही गरी पाउन लिखित उजूर दिनु भएकोले शैक्षिक वातावरण राम्रो राख्न सार्वजनिक अपराध र सजायँ ऐन अन्तर्गत कारवाही गरी पाउन ०४८।३।९ मा प्रहरी कार्यालय गौशालामा दिपकराजले दिनु भएको निवेदन समेत साथै राखी उजूरी दिई विपक्षीलाई कारवाही गरिएको हो । हामीले हात खुट्टा बाँधी ३ घण्टा सम्म लडाई पिटेको होइन । विपक्षी नाबालक नभई यस स्कूलको रेकर्