निर्णय नं. १०१५५ - नामसारी हक कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०१५५ - नामसारी हक कायम भाग: ६० साल: २०७५ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७५/०४/१७ ४९२६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई फैसला मिति : २०७५।४।१७ ०७३-CI-१३८९ मुद्दाः नामसारी हक कायम पुनरावेदक / वादी : जिल्ला चितवन गा.वि.स. खैरहनी वडा नं. ४ मगनी घर भई हाल खैरहनी नगरपालिका वडा नं. ८ बस्ने महारूद्र उप्रेतीको छोरा खडानन्द उप्रेती विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला काभ्रेपलाञ्चोक गा.वि.स. भुम्लुटार वडा नं. २ बस्ने महारूद्र उप्रेतीको छोरा गृवराज उप्रेती भिन्न भएका तर हेरचाहमा संलग्न नभएका प्रतिवादीले अपुताली सम्पत्तिमा बराबर हक कायम हुनुपर्छ भन्ने तर्क अपुतालीको भन्दा अंशबन्डाको कानूनसँग सामिप्यता राख्दछ । अपुतालीको हक सबै जीवित अंशियारमा सर्न सक्ने पनि होइन । अपुतालीको सम्बन्धमा एक पटक हक छाडी कागज गरिदिने र स्याहार सम्भार नगर्नेलगायतका आफ्नो कर्तव्य निर्वाह नगर्ने तर मरेपछि मर्ने व्यक्तिसँग केबल नाता र हकदार हुनुको आधार देखाएर अपुतालीको सम्पत्ति दाबी गर्ने र त्यस्तो सम्पत्तिमा हक प्राप्त गर्न खोज्नुलाई स्वाभाविक मान्न मिल्दैन । त्यस्तो कार्यलाई कारोबारको पवित्रता र निश्चितता, विबन्धन, सदाचार, असल नियत र नैतिकताको बन्धनले छेक्ने । (प्रकरण नं.४) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा र विद्वान् अधिवक्ता श्री अन्जु शर्मा (बर्मा) प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान् अधिवक्ता श्री युवराज भण्डारी अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री लेखनाथ ढकाल चितवन जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी माननीय न्यायाधीश श्री सरिता शर्मा पुनरावेदन अदालत, हेटौंडा फैसला न्या. हरिकृष्ण कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) बमोजिम मुद्दा दोहोर्याई पाउनको लागि निस्सा प्राप्त भई पुनरावेदनको रूपमा पेस हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड महारूद्र तथा गंगालक्ष्मीको गर्भबाट जेठो विपक्षी प्रतिवादी गृवराज र कान्छो म फिरादी खडानन्द र छोरी योगमायाको जन्म भएकोमा छोरीको विवाह भई हामीबीचमा २०४४ सालमा अंशबन्डा भइसकेको छ । पिता र मातासमेतको देहान्त भएको र विपक्षी गृवराज काभ्रेपलाञ्चोक भुम्लुटार बसेका तथा म २०३२ सालदेखि आमासँगै चितवन खैरहनीमा बसी आएको छु । चितवन खैरहनी वडा नं. १/क कि.नं. ११२० को ०-४-० जग्गा आमाको अंश भागमा परेको थियो । २०४७ सालमा विपक्षी दाजु र निजका छोरा प्रकाशराज उप्रेती चितवन आई कुराकानी गरी हालसम्म आमाको पालन पोषण तिमीले गरेका छौं । आमाको शेषपछि सो जग्गा तिमीले नै खानु भनी निजका छोरालाई साक्षी राखी कागजसमेत गरेका थिए । आमाको २०६४ साल असोजमा मृत्यु भयो । आमाको काजक्रियालगायतका सबै कार्य मैले गरेकाले उल्लिखित सम्पत्ति मेरा नाउँमा नामसारी गरिपाउँ भनी मालपोत कार्यालयमा निवेदन दिएकोमा हक बेहकको प्रश्न उठेकाले अदालतबाट हक कायम गरी ल्याउनु भनी मिति २०६९|४|११ मा निर्णय भएकाले सो निर्णय सुनी पाएको मितिले म्यादभित्रै यो फिराद लिई उपस्थित भएको छु । तसर्थ आमा गंगालक्ष्मीलाई २०३२ सालदेखि सँगै राखी पालन पोषण गरी उपचार, तिर्थव्रत र दानपुण्यसमेतका कार्य म फिरादीले गरेकाले र आमाको मृत्