निर्णय नं. १०१६२ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०१६२ - उत्प्रेषण / परमादेश भाग: ६० साल: २०७५ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७४/०९/१६ ४०५६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान आदेश मिति : २०७४।९।१६ ०७३-WO-११७६ मुद्दा : उत्प्रेषण / परमादेश निवेदक : रौतहट जिल्ला, कडरवाना गा.वि.स. वडा नं. ६ घर भई हाल श्री मा.वि. बेल्ही स्रोत केन्द्रका स्रोत व्यक्ति भई कार्यरत वर्ष ५८ को रामस्वरूप यादव विरूद्ध विपक्षी : नेपाल सरकार, शिक्षा मन्त्रालय, सिंहदरबारसमेत करार कानून विशुद्ध रूपमा दुई पक्षबीच लागू हुने कानून हो । दुई पक्षबीचको स्वतन्त्र सहमतिमा भएको वैध करारले सम्बन्धित पक्षको हकमा कानूनसरह मान्यता पाउँछ । यसो भन्दैमा करार कानूनले अन्य सार्वजनिक कानूनको हैसियत ग्रहण गरेको मानिँदैन । जुन कानूनले उपचारीय विधि तोकेको छ त्यहीअनुसार नै मर्का पर्ने पक्षले उपचारको खोजी गर्नु पर्ने । (प्रकरण नं.७) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री अलि अकबर मिकरानी तथा श्री रत्नेश्वरप्रसाद शर्मा विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री नारायण पौडेल अवलम्बित नजिर : सम्बद्ध कानून : अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ आदेश न्या.पुरूषोत्तम भण्डारी : नेपालको संविधानको धारा ४६ र १३३(३) बमोजिम दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छः- राज्यको विकासमा शिक्षाले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । जब राज्यका प्रत्येक व्यक्ति शिक्षित एवं साक्षर हुन्छ तब मात्र राज्यको विकास सम्भव हुन्छ । राज्यको विकासको मेरूदण्ड नै शिक्षा हो । यसै कुरालाई मध्यनजर राखी म निवेदकले बिगत ४० वर्षदेखि शिक्षक भई अध्यापन गरी आएको छु । म निवेदकले २०३५ सालदेखि शिक्षकमा नियुक्ति भई जनता रा.प्रा.वि. टरीया लक्कड-७ मा स्थायी अध्यापन गरेको थिएँ । त्यसै क्रममा मिति २०५१।८।८ को निर्णयअनुसार जि.शि.कार्यालय, आ.प्रा.शि.प.एकाई धनुषाको स्रोत व्यक्ति (रा.प.तृ.प्रा.) मा नियुक्ति भई काम गर्दै आइरहेको थिएँ । त्यसैगरी शिक्षा, संस्कृति तथा समाज कल्याण मन्त्रालयको मिति २०७२।२।१५ को निर्णयअनुसार म निवेदकलाई लियन पद साबिकको विद्यालयमा नै यथावत् कायम रहने गरी स्रोत व्यक्तिमा काजमा नियुक्ति गरिएको थियो र मिति २०६२/९/२४ को निर्णयअनुसार श्री के.एस.एच.एस.बी.उ.मा.वि. खजुरी स्रोत केन्द्रको स्रोत व्यक्ति पदमा बढीमा २०६४ साल आषाढ मसान्तसम्मको लगी करारमा नियुक्ति गरिएको थियो । यसै क्रममा मिति २०७२।३।२१ पत्र संख्या २०७१।०७२ च.नं. ४३७९ बाट म निवेदकलाई श्री मा.वि.बेल्ही स्रोत केन्द्रमा सरूवा गरिएको र यसै विद्यालयमा कार्यरत रहेको अवस्थामा मिति २०७३।०४।०१ को निर्णयअनुसार म निवेदकलाई यसै विद्यालयको स्रोत व्यक्तिमा करारमा नियुक्ति दिइएको थियो । यसरी म निवेदक सोही विद्यालयमा कार्यरत रहेको अवस्थामा शिक्षा विभागको मिति २०७३।६।२ को निर्णय (महानिर्देशक स्तर) अनुसार म निवेदकलाई स्रोत व्यवस्थापन (दोस्रो संशोधन) निर्देशिका, २०७१ को परिच्छेद-८ (क) को ८ क.१आ.अनुसार करार सम्झौता रद्द गर्ने, करार सम्झौता रद्दपश्चात् लियन पद नभएमा स्वतः सेवा मुक्त हुने, लियन पद भएमा उक्त लियन पदमा फिर्ता गरी शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम १३५ तथा सोही नियमावलीको नियम १४३ बमोजिम तोकिएको अधिकारीमार्फत विभागीय सजाय गर्ने गराउने व्यवस्था मिलाउने भनी निर्णय भएको र सो निर्णयबमोजिम मिति २०७३।१०।२७ गते श्र