निर्णय नं. १०१६६ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०१६६ - उत्प्रेषण / परमादेश भाग: ६१ साल: २०७६ महिना: बैशाख अंक: १ फैसला मिति :२०७५/०८/१६ ३३३९ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी आदेश मिति : २०७५।८।१६ ०७२-WO-१००२ विषयः उत्प्रेषण / परमादेश निवेदक : दैलेख जिल्ला चाराठा गा.वि.स. वडा नं. २ सानामाखु बस्ने हाल सशस्त्र प्रहरी बल बागेश्वरी गण क.नं.३ दरबन्दी (नोकरीबाट) हटाइएको पूर्व महिला सशस्त्र प्र.ज. सुनिता नेपाली विरूद्ध विपक्षी : म.प.क्षे. सशस्त्र प्रहरी बल मुख्यालय महेश्वरी बाहिनी सुर्खेतसमेत आधार र कारण उल्लेख नभई भएको निर्णयमा स्वेच्छाचारिता देखिन्छ भने त्यस्तो निर्णयमा निर्णयकर्ताको बदनियतसमेत हुन सक्ने हुँदा निर्णय गर्नेले कानूनबमोजिमको पर्याप्त कारण र आधार खुलाई मात्र निष्कर्षमा पुग्नु पर्ने । स्वेच्छाचारिता एवं बदनियतपूर्ण निर्णयबाट संविधान प्रदत्त कसैको हक अधिकार हनन भएमा त्यसको उपचार यस अदालतको असाधारण क्षेत्राधिकारमार्फत प्रदान गर्न संविधानले यस अदालतलाई अख्तियार प्रदान गरेको देखिने । (प्रकरण नं.५) चोरीको आरोपमा सजाय गर्ने उद्देश्यले सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८४ को खण्ड (ख)(१) बमोजिम भविष्यमा सरकारी सेवाको निमित्त सामान्यतया अयोग्य नठहरिने गरी सशस्त्र प्रहरी बलको सेवाबाट हटाउने गरी भएको निर्णय स्वेच्छाचारी भई औचित्यपूर्ण नदेखिएकोले त्यसबाट संविधानप्रदत्त निवेदकको पेसा तथा रोजगारीसमेतको हकमा आघात पर्ने हुँदा सो निर्णय कायम रहन सक्ने नदेखिने । (प्रकरण नं.७) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री शम्भु थापा, विद्वान्‌ अधिवक्ताहरू श्री बल्लभ बस्नेत, श्री गोपी शर्मा सुवेदी, श्री सोमकान्त मैनाली र श्री रक्षा बस्याल विपक्षीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री चन्द्र पोखरेल अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको अन्तरिम संविधान, २०६३ सशस्त्र प्रहरी नियमावली, २०६० आदेश प्र.न्या.ओमप्रकाश मिश्र : नेपालको संविधानको धारा ४६ तथा १३३(२) र (३) बमोजिम यसै अदालतको अधिकारक्षेत्रभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्‍य यसप्रकार छ :- म पुनरावेदक सुनिता नेपाली मिति २०६६।११।२० का दिन सशस्त्र प्रहरीको प्रहरी जवान पदमा नियुक्त हाल सशस्त्र प्रहरी बल बागेश्वरी गणमा कार्यरत रहेको थिएँ । म कार्यरत रहेको गणका गणपतिले मप्रति पूर्वाग्रही भई सशस्त्र प्रहरी जस्तो संवेदनशील सेवाबाट हटाउन प्रेरित भई हुँदै नभएको नगरेको चोरीको आरोप लगाउनु भएको हो । म निवेदिकाले चोरी गरेको छैन, मिति २०७१।१०।१२ का दिन म.स.प्र.ज. हरिकला देवकोटाले म निवेदक सुनिता नेपालीलाई नगद रू.२७,५००/- पछि फिर्ता गर्ने गरी राख्‍नको लागि दिएकोमा सशस्त्र प्रहरी बल बागेश्वरी गण शमशेरगञ्ज बाँकेका बटालिन हबल्दार मेजर भद्रबहादुर बुढा, स.प्र.ब.ह. नन्दराम भट्टराई र म.स.प्र.ज. धनसरा खत्रीलाई देखाई, गन्न लगाई राखी दिएकी थिएँ । म निवेदकलाई राख्‍न दिएको रूपैयाँ रू.२७,५००/- मध्ये मिति २०७१।१०।१५ मा रू.१४,०००/- फिर्ता लग्नु भई बाँकी रू.१३,५०० मसँग नै रहेको कुरा जानकारी गराएको थिएँ । तैपनि सो विषयलार्इ आफ्नो अधिकारक्षेत्रभन्दा बाहिर गई आफ्नै मातहतको स.प्र.ना.उ. भिमबहादुर चन्दको अध्यक्षतामा मिति २०७१।१०।१७ मा छानबिन समिति गठन गरी आफूअनुकूल जसरी भए पनि जागिरबाट हटाउने मानसिकता राखी त्यसको २ दिनमा छानबिनको काम कारबाही सम्पन्न गरेको देखाइ एकै दिन