निर्णय नं. १०१७७ - अंश चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०१७७ - अंश चलन भाग: ६१ साल: २०७६ महिना: बैशाख अंक: १ फैसला मिति :२०७५/०२/२० ५७७० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्‍ठ माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७५।२।२० ०७२-CI-०५२८ मुद्दाः अंश चलन पुनरावेदक / प्रतिवादी : दिलबहादुर खड्काको नाति छत्रबहादुर खड्काको छोरा दोलखा जिल्ला क्षेत्रपा गा.वि.स. वडा नं.५ घर भई हाल ललितपुर जिल्ला इमाडोल गा.वि.स. वडा नं. ८ बस्ने वर्ष ५८ को प्रेमकुमार खड्का विरूद्ध प्रत्यर्थी / वादी : प्रेमकुमार खड्काको पत्‍नी दोलखा जिल्ला क्षेत्रपा गा.वि.स. वडा नं. ५ बस्ने अं.वर्ष ५८ को पम्फा खड्कासमेत मूल अंशियारबीचमा बन्डा नभएपनि तल्लो पुस्ताका अंशियारहरूले आफ्नो पति पिताबाट प्राप्‍त गर्ने अंशहक बन्डा गरी दिनुपर्ने हुन्छ । अन्यथा तल्लो पुस्ताका अंशियारहरूको जीवनयापनमा नै समस्या आउने सक्ने हुन्छ । मूल अंशियारको बीचमा बन्डा नभएपनि पछिल्लो पुस्ताका छोरा छोरीहरूले मूल अंशियारबीचको हकहिस्सा छुट्याई आफ्नो आफ्नो पिता पतिको हिस्साबाट अंश पाउने । (प्रकरण नं.१३) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ताद्वय श्री नविन खनाल एवं श्री विनोद थापा प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०७१, अंक ११, नि.नं.९२७९ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री प्रभा बस्नेत दोलखा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री टिकाबहादुर हमाल माननीय न्यायाधीश श्री नारायणप्रसाद शाह पुनरावेदन अदालत पाटन फैसला न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : पुनरावेदन अदालत पाटनको मिति २०७०।१०।०९ को फैसलाउपर प्रतिवादीको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहोर्‍याई हेरिपाउँ भनी यस अदालतमा निवेदन परी यस अदालतबाट न्याय प्रशासन ऐन, २०७३ को दफा १२ को उपदफा (१)(क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य र ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड विपक्षीमध्येका प्रेमकुमार भन्‍ने प्रेमकुमार खड्‌का हामी फिरादीहरूको पति तथा पिता हुनुहुन्छ । विपक्षीमध्येका भगवती खड्‌का, दुर्गा खड्‌का र कमला खड्‌का, सौता तथा सौतेनी आमा हुन् । विपक्षीमध्येका ताराकुमार, कुशल, राजन सौतेनी छोरा तथा दाजुभाइ हुन् । यसैगरी ललिता, सीता, पवित्रा, सुशिला, संगीता र बबिता सौतेनी छोरी तथा दिदीबहिनी नाताको व्यक्ति हुनुहुन्छ । विपक्षीहरू १३ जना र हामी २ जनासहित १५ जना एकासगोलमा बसी आएका छौँ । एकासगोलमा बस्दा कठिनाई भई हाम्रो अंश छुटाई दिनुहोस् भनी अनुरोध गर्दा विपक्षीहरूले अंशबन्डा गरी दिदैनौं, भएको घर जग्गा सबै हाम्रो नाउँमा छ । घरमा पनि बस्न दिदैनौं, जहाँ गएर जे गर्नुपर्छ गर भनी हामीलाई घरबाट निकाला गर्नु भएकोले न्याय माग्‍न फिराद लिई सम्मानित अदालतसमक्ष उपस्थित भएका छौं । जम्मा अंशियार १५ जना भएकोमा हामी अंशियारको बीचमा कानूनबमोजिम बन्डा लाग्‍ने सम्पूर्ण चल अचल श्रीसम्पत्तिहरू विपक्षीहरूको जिम्मा रहे भएको हुँदा हामीहरू अंशियारको बीचमा बन्डा गर्नुपर्ने सम्पत्तिको फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी उक्त मितिसम्म विपक्षीहरूको जिम्मामा भएको सम्पत्तिको तायदाती फाँटवारी मागी सम्पूर्ण सम्पत्तिको १५ भाग लगाई १५ भागमध्ये २ भाग अंश हामी फिरादीहरूलाई दिलाई चलनसमेत चलाई पाउँ भन्‍ने