निर्णय नं. १०१८२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०१८२ - उत्प्रेषण भाग: ६१ साल: २०७६ महिना: बैशाख अंक: १ फैसला मिति :२०७५/०३/११ ४५५० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान आदेश मिति : २०७५।३।११ ०६७-WO-०८६१ मुद्दाः उत्प्रेषण निवेदक : तेस्रो तल्ला, डि.टी.सी. विल्डिङ्, पाटो प्लाजा, इडिसी कम्प्लेक्स, पानाजी, गोवा ४०३ ००१ सेन्टग्रेटिङ्स भारतस्थित वेलेस फर्मास्युटिकल्स प्रा.लि.को तर्फबाट अख्तियारप्राप्त एच नं. २५ प्रतिभा कोलनी, फेज दोस्रो, अलिगर २०२००१ (यू.पी.) बस्ने अशोककुमार शर्मा विरूद्ध विपक्षी : श्रम अदालत अनामनगर, काठमाडौंसमेत नेपालमा औषधि उत्पादन पनि नगरेको र कुनै पनि तवरबाट प्रतिष्ठान वा कार्यालयको रूपमा दर्ता नरहेको अवस्थामा औषधि बिक्री वितरणको अनुमति लिएको र नेपाली कम्पनीलाई सुपर डिस्ट्रिब्युटर नियुक्त गरेको आधारमा मात्र नेपालमा दर्ता रहेको भन्न मिल्ने अवस्था देखिन आउँदैन । प्रत्यक्षरूपमा कानूनत: दर्ता हुनु र डिस्ट्रिब्युटर नियुक्त गरी कार्य गर्नु गराउनु फरक अवस्था हो । यस्तो अवस्थामा भारतमा दर्ता भएको भारतीय कम्पनीले गरेको काम कारबाहीको सम्बन्धमा सिर्जित विवाद नेपालको श्रम अदालतको क्षेत्राधिकारभित्र पर्ने देखिन नआउने । (प्रकरण नं.३) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री सतीशकृष्ण खरेल र विद्वान् अधिवक्ता श्री पर्शुराम कोइराला विपक्षीका तर्फबाट : विद्वान् अधिवक्तात्रय श्री रमेश बडाल, विनय रेग्मी र श्री मनोजकुमार शर्मा अवलम्बित नजिर : ने.का.प.२०६२, नि.नं.७५०० सम्बद्ध कानून : कम्पनी ऐन, २०६३ आदेश न्या.सपना प्रधान मल्ल : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२, १०७(२) बमोजिम दर्ता हुन आएको यस अदालतको क्षेत्राधिकारभित्रको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार रहेको छ । निवेदक कम्पनी भारतमा दर्ता भएको भारतीय कम्पनी हो । यस कम्पनीको उत्पादन विश्वका १२ भन्दा बढी राष्ट्रमा बिक्री हुने गरेको छ । नेपालमा यसको कुनै उत्पादन इकाई, कम्पनी ऐनबमोजिमको वा अन्य कुनै कानूनबमोजिमको शाखा कार्यालय, बिक्री कार्यालय, प्रतिनिधि कार्यालयलगायत छैन । आफ्ना कम्पनीको नीति अनुरूप नियुक्त भइरहेका मेडिकल रिप्रेजेन्टेटिभमध्येबाट बढीमा २ जनालाई नेपालक्षेत्रको बजार विस्तारको लागि खटाउने गरेको छ । जो नेपालका विभिन्न भागमा गई कम्पनीको नीतिअनुरूप चिकित्सक बिक्रेताहरूसँग नियमित सम्पर्कमा रही औषधिको बजार विस्तारको कार्य गर्दछन् । निजहरूको नियुक्ति भारतमा नै गरिएको हुन्छ र कम्पनीको आवश्यकताअनुरूप भारतको कुनै भागमा वा आफ्नो आवश्यकताअनुसारको देशहरूमा खटाउन सकिन्छ । नेपाल सरकार औषधि व्यवस्था विभागसँग प्रत्येक औषधिको लागि छुट्टाछुट्टै अनुमति लिनुपर्ने भएकोले सोबमोजिम अनुमति लिएकोबाहेक नेपाल सरकारसँग यस कम्पनीको अन्य कुनै सम्बन्ध छैन । विपक्षी रमेश शर्मा पनि यस कम्पनीका कर्मचारीको रूपमा भारतमा नियुक्ति भई कार्यरत थिए । निजले पारिश्रमिकबापत तिर्नुपर्ने करलगायत भारतीय कानूनबमोजिम भारतमा बुझाउनुपर्ने हुन्छ । निजले पाउनुपर्ने न्यूनतम तलब भत्तालगायत भारतीय कानूनले निर्धारण गरेबमोजिमको हो । विपक्षी रमेश शर्मा नेपालको कानूनअन्तर्गत कुनै भारतीय कम्पनीको स्थानीय कार्यालय, प्रतिनिधि कार्यालयलगायतमा नियुक्त भएका होइनन् । निजले यस कम्पनीमा नोकरी गर्दा आफू भारतीय भएको देखाउने आशयले भारत आसामको ठेगाना देखाई आवेदन गरेका हुन् । कम्पनीको अभिलेखमा निज भ