निर्णय नं. १०१८३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०१८३ - उत्प्रेषण भाग: ६१ साल: २०७६ महिना: बैशाख अंक: १ फैसला मिति :२०७४/०९/०४ २८६४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी आदेश मिति : २०७४।९।४ ०७१-WO-०८०५ मुद्दा : उत्प्रेषण निवेदक : पूर्णनन्द जोशीको नाति, जयप्रसाद जोशीको छोरा डडेलधुरा जिल्ला, अमरगढी न.पा. वडा नं. ८ स्थायी ठेगाना भई हाल वन अनुसन्धान तथा सर्वेक्षण विभाग बबरमहल काठमाडौंमा कार्यरत शाखा अधिकृत मुकुन्दराज जोशी विरूद्ध विपक्षी : सामान्य प्रशासन मन्त्रालय सिंहदरबार, काठमाडौंसमेत निजामती सेवा ऐन, २०४९ को दफा ३३(३) को कानूनी व्यवस्थाले जन्ममिति सच्याई लामो समयसम्म सेवामा नरहुन भनी मौकामा पेस भएको शैक्षिक प्रमाण पत्रलगायतका कागजातको आधारमा जुन मितिबाट पहिला अवकाश हुन्छ त्यही मितिलाई नै गणना गर्नु पर्ने विधायिकी मनसाय रहेको देखिने । सोही प्रावधानबमोजिम निजामती कर्मचारीले समेत आफ्नो जन्ममितिको विषयमा सही सूचना दिने दायित्व पूरा गर्नु पर्ने देखिने । कुनैपनि निजामती कर्मचारीलाई आफू सेवा प्रवेश गर्दा पेस गरेका शैक्षिक प्रमाणपत्र वा आफैँले भरेको वैयक्तिक विवरण (सिटरोल) मा उल्लिखित उमेर वा जन्ममितिलाई पछि गएर आफूअनुकूल संशोधन गर्ने र गराउने अधिकार कुनै पनि राष्ट्रसेवकलाई कानूनले प्रदान गरेको अवस्था नदेखिने । (प्रकरण नं.४) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री खम्मबहादुर खाती र श्री सूर्यबहादुर शाह विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री नारायण पौडेल अवलम्बित नजिर : सम्बद्ध कानून : निजामती सेवा ऐन,2049 आदेश न्या.तेजबहादुर के.सी.: तत्कालीन नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतमा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छ : म निवेदकले २०३४ सालमा महेन्द्र माध्यमिक विद्यालय खलङ्गा डडेलधुराबाट द्वितीय श्रेणीमा एस.एल.सी. पास गरी मिति २०३९ सालमा मानविकीशास्त्रमा डोटी क्याम्पसबाट सर्टिफिकेट लेबल पास गरी २०४६ सालमा बि.ए. पास गरेको थिएँ । मैले एस.एल.सी. पास गर्दा भूलवश मेरो जन्ममिति २०१६।०९।०२ हुन गएको र सोही सर्टिफिकेटको आधारमा मिति २०३८।८।२९ को लोक सेवा आयोगको निर्णयले जिल्ला कार्यालय सहकारी शाखा डोटीमा सहकारी सव-इन्स्पेक्टर (रा.प.अनंकित द्वितीय श्रेणी प्रशासकीय) पदमा जागिर खाएको थिएँ । मिति २०४१।०४।०१ गतेको लोक सेवा आयोगको निर्णयले रा.प. अनंकित प्रथम श्रेणीको ना.सु. प्रशासन पदमा जागिर खाएको थिएँ । यसरी जागिर खाने क्रममा मैले मिति २०४०।०१।१५ गते कर्मचारी व्यक्तिगत विवरण सिटरोल पेस गर्दासमेत जन्ममिति २०१६।०९।०२ गते लेखेकोमा उक्त जन्ममिति भूलवश लेखिन गयो । मेरो वास्तविक जन्ममिति २०१९।०९।०२ गते हो, भूलसुधार गरिपाउँ भनी मिति २०४०।८।१८ गते महेन्द्र माध्यमिक विद्यालय, खलङ्गा, जिल्ला प्रशासन कार्यालय डडेलधुरामा निवेदन दिई मेरा सम्पूर्ण सर्टिफिकेटहरूमा भएको जन्ममिति सच्याई परीक्षा नियन्त्रण कार्यालय सानोठिमी र त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा समेत मेरो जन्ममिति २०१९।०९।०२ गते हुने भनी निर्णय गरी सबै प्रमाणपत्रहरूमा मिति २०१९।०९।०२ गते कायम भइसकेको अवस्था छ । मैले नागरिकता लिँदासमेत सोही जन्ममिति कायम हुन गएको छ । मैले हालसम्म सबै ठाउँमा पनि मेरो जन्ममिति २०१९।९।२ गते लेखाउँदै आएको छु । जन्ममिति सच्याई सकेपछि नोकरीको दौडानमा सबै ठाउँमा मैले सच्च