निर्णय नं. १०१९८ - हाडनातामा जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०१९८ - हाडनातामा जबरजस्ती करणी भाग: ६१ साल: २०७६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७५/०२/०९ ९५५९ प्रस्तुत मुद्दामा गोपनीयताको लागि पीडित र परिवारको सदस्यको नाममा ................. राखिएको छ । - सम्पादक सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७५।२।९ ०७१-CR-१६०९ मुद्दाः- हाडनातामा जबरजस्ती करणी पुनरावेदक / प्रतिवादी : जिल्ला तेह्रथुम, गा.वि.स. म्याङ्लुङ वडा नं. ९ घर भई हाल जिल्ला कारागार कार्यालय, तेह्रथुममा थुनामा रहेको भीमबहादुर नेपाली विरूद्ध प्रत्यर्थी / वादी : परिवर्तित नाम जमुनाकुमारीको जाहेरीले नेपाल सरकार न्यायिक वा अर्धन्यायिक अधिकारीले स्वविवेकाधिकारको प्रयोग गर्दा न्यायिक मनको प्रयोगका साथ गर्नुपर्छ । न्यायिक मन न्यायकर्तामा हुनुपर्ने न्यायिक दक्षता मात्र हैन, नैतिक चेतना पनि हो । यसले न्यायिक स्वविवेकलाई उचित र न्यायपूर्ण बनाउन निर्देशित गर्दछ । यसले उचित अनुचित, ठीक बेठीकको अन्तरलाई दृष्टिगत गरी सही ढंगले कानूनको पालना, प्रयोग र प्रचलन गर्न पनि अभिप्रेरित गर्दछ, गरिनु पर्ने । कसुरदार ठहर गर्दा मात्र हैन, सजाय निर्धारण गर्दासमेत न्यायकर्ताले न्यायिक मनको प्रयोग न्यायोचितरूपमा गर्नुपर्छ । ऐनले दिएको तजबिजी अधिकारको प्रयोग गर्दा कसुरदारहरू पटके अपराधी भए नभएको, संगठित आपराधिक समूहमा रहे नरहेको, नाबालक वा वृद्ध वा असक्त आदिलाई प्रयोग गरे नगरेकोसमेतका अपराध गर्दाको अवस्थामा प्रयोग भएका साधन, प्रक्रिया र पद्धतिका अतिरिक्त दशीको प्रकृति मात्रासमेतलाई मध्यनजर राख्नु पर्ने । (प्रकरण नं.४) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री यदुनाथ शर्मा प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः- मा. न्यायाधीश श्री गोपालप्रसाद बास्तोला तेह्रथुम जिल्ला अदालत सुरू तहमा फैसला गर्नेः- मा.का.मु.मुख्य न्या. श्री शम्भुबहादुर खड्का माननीय न्यायाधीश श्री विदुरविक्रम थापा पुनरावेदन अदालत धनकुटा फैसला न्या. टंकबहादुर मोक्तान : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदनको रूपमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छ:- तथ्य खण्ड तेह्रथुम जिल्ला, म्याङलुङ गा.वि.स. वडा नं. ९ स्थित पूर्वमा पदमबहादुर पयाङ्गोको जङ्गल, पश्चिममा .............. को घरबारी, उत्तरमा प्रेम राईको बारी र दक्षिणमा पदमबहादुर पयाङ्गोको बारी, जङ्गल यति चारकिल्लाभित्र अवस्थित ढुङ्गामाटोले बनेको छत्रबहादुर नेपालीको घरको भुइँ तलामा आफ्नो छोराछोरीसँग सुतिरहेकी पीडित जमुनाकुमारी परिवर्तित नामलाई प्रतिवादी भीमबहादुर नेपालीले मिति २०७०/१/१९ गते राति ११ बजेको समयमा एक्कासी आई घर कोठाको ढोका फुटाई भित्र पसी विभिन्न धाकधम्की दिई निजलाई घरबाहिर निकाली अन्दाजी १५० मिटर तलसम्म लछारपछार गर्दै घिसारी जङ्गलमा लगी जबरजस्ती करणी गरेको भनी देखाइएको स्थानमा हेर्दा बुट्यानहरू मडारिएको र वारदातस्थलमा प्रतिवादी भीमबहादुर नेपालीले लगाएको ढाकाको टोपीसमेत फेला परेको ठीक हो भन्नेसमेत बेहोराको मौकामा भएको चारकिल्लासहितको घटनास्थल मुचुल्का । प्रतिवादी भीमबहादुर नेपाली मेरा जेठाजु हुन् । मिति २०७०/१/१९ गते बेलुका मेरो श्रीमान् छत्रबहादुर नेपाली मासु लिनको लागि भनी गाउँमा जानुभएको थियो । त्यस अवस्थामा मैले घरको ढोका भित्रबाट बन्द गरेर २ जन