निर्णय नं. ४३४५ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३४५ - अंश भाग: ३३ साल: २०४८ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४८/०८/०६ २०८० निर्णय नं. ४३४५ ने.का.प. २०४८ अङ्क ८ संयुक्तइजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल सम्वत् २०४७ सालको दे.पु.नं. ५६५ फैसला भएको मिति : २०४८।८।६।६ मा पुनरावेदक/प्रतिवादी : धादिङ जिल्ला भूमेस्थान गा.पं. वडा नं. ८ बस्ने श्यामबहादुर घर्ती क्षेत्री विरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने धनबहादुरको संरक्षक भई मुद्दा गर्ने रुपबहादुर थापा मुद्दा : अंश (१) अनुमति प्राप्त गरी मुद्दा दर्ता भइसकेपछि सो सम्बन्धमा अहिले आएर संरक्षक हुनै नसक्ने व्यक्तिले फिराद दर्ता गराएको भन्न प्रासंगिक नहुनुको अतिरिक्त यस विषयको अध्याय नटुंगिसकेको मान्नु पर्ने । (प्रकरण नं. १०) (२) आफ्नो हक हितको सुरक्षा आफैं गर्न नसक्ने व्यक्तिहरुको सुरक्षाको लागि नै अ.बं. ८३ नं. को प्रावधान भएको । (प्रकरण नं. ११) पुनरावेदक, प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर, विद्वान अधिवक्ता श्री रक्षबहादुर क्षेत्री विपक्षी, वादीतर्फबाट : विद्वान अधिवक्ता श्री बच्चुसिं खड्का फैसला न्या.ओमभक्त श्रेष्ठ १. श्री मध्यमाञ्चल क्षे.अ.को मिति २०४६।९।९।१ को आदेश उपर पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. पिता मेखबहादुरको जेठी श्रीमती पट्टिको छोरा विपक्ष श्यामबहादुर जन्मिएपछि निज पिताले जेठी श्रीमती चन्द्रकुमारी आफ्ना कालगतिले परलोक भएपछि मेरो आमालाई पिताले २०१० सालमा विवाह गरी म जन्मिएपछि पिता २०११ सालमा परलोक हुनुभएकोले जेठो बाबु कृष्णबहादुरको घरमा बसी आएको आमा माली पनि २०१६ सालमा अन्यत्र पोइल जानु भएबाट २०१६ सालदेखि मामा कृष्णबहादुरको घरमा गई बसेको मेरो विवाह समेत मामाले गरी दिनु भएको, २०३२।३३ सालमा जग्गा नापी सर्भे हुँदा घरको मुख्य विपक्ष श्यामबहादुर भई बसेको विपक्षको नाउँमा नापी दर्ता समेत गराएको हुनाले २०४३ साल देखि मामाको घर छोडी जहान बच्चा समेत लिई घर आउँदा घरमा बस्न खान समेत नदिएकोले मैले पाउने २ भागको १ भाग अंश दिनु होस भनी विपक्षलाई भन्दा अंश दिन्न भनी म लाटो लठेप्रो बोल्न नजान्नेलाई खान बस्न नदिएकोले निज धनबहादुरको एकाघरको उमेर पुगेको मानिस कोही नभएको हुँदा रेखदेख मैले गरी आएका हुँदा अ.बं. ८३ नं. बमोजिम संरक्षक भई दुई भागको एक भाग अंश पाउँ भन्ने समेत फिराद दावी । ३. २०११ सालमा बाबु परलोक भएपछि पैत्रिक घर भत्की बस्ने ठाउँ नभई कान्छी आमा माली हामी दाजु भाइ माहिला बाबु कृष्णबहादुरको घरमा बसी (साविक पेज नं. ४३१) आएका थियौं । गाउँका मान्यजनहरु समेत भई कान्छी आमा माथि भएको अवस्थामा फिरादी र म बीच भएको श्रीसम्पत्तिको नरम गरम मिलाई २०१८ साल माघमा व्यवहारिक रुपमा बण्डा भएको थियो । २०३३ सालमा जग्गा सर्भे नापी हुँदा आफ्नो भागको आफ्नो नाममा नापी गरी दर्ता गरी ज.ध.प्र.पुर्जा लिएको थिएँ । पैत्रिक सम्पत्ति मेरो र श्रीमतीको नाउँमा दर्ता गरेको नभई २०१८ सालको बण्डा बमोजिम भाइ धनबहादुरको नाममा नापी भइसकेको हुँदा वादी धनबहादुरलाई अंश दिनु पर्ने छैन भन्ने समेत प्रतिउत्तर जिकिर रहेछ । ४. एकाघरसंगका अंशियारहरु मध्ये जुनसुकै अंशियारको नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्ने भन्ने प्रमाण ऐनमा उल्लेख भएको र प्रतिवादीका साक्षी दलबहादुर घर्ती क्षेत्रीले वादी प्रतिवादी बीच अंशबण्डा भएको छैन भनी बकपत्र गरी दिएको समेत देखिँद