निर्णय नं. १०२२५ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०२२५ - उत्प्रेषण भाग: ६१ साल: २०७६ महिना: असार अंक: ३ फैसला मिति :२०७६/०१/१६ ३२१७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान आदेश मिति : २०७६।१।१६ ०६९-WO-०४५८ मुद्दाः उत्प्रेषण निवेदक : धनुषा जिल्ला, जनकपुर नगरपालिका वडा नं. ८ रत्नसागर मठ स्थानको महन्त बैकुण्ठ तिवारी भन्ने बैकुण्ठदास वैष्णव विरूद्ध विपक्षी : गुठी संस्थान केन्द्रीय कार्यालय, डिल्लीबजार, काठमाडौंसमेत देशभित्र रहेका मठ मन्दिरहरू जनताका अमूल्य सम्पत्ति हुन् । पूर्वजहरूले हामीलाई यी अमूल्य निधिहरू नासोको रूपमा छाडेका हुन् र भावी पुस्तालाई हामीले सोहीरूपमा हस्तान्तरण गर्ने कर्तव्य राख्दछौं । नेपालको संविधानले अङ्गीकार गरेको “अन्तरपुस्ता समन्याय" को सिद्धान्तको मान्यता पनि यही हो । कुनै धार्मिकस्थल तथा धार्मिक गुठीको सञ्चालनमा व्यक्तिगत लोभलालच वा स्वार्थको कुनै स्थान हुनु हुँदैन । चाहे गुठी संस्थान होस् वा महन्त वा जग्गा कमाउने मोही नै किन नहोस्, मठ मन्दिर वा गुठी परम्पराको विनास गर्ने हक कसैलाई नहुने । स्वार्थवश गरिएका कुराहरूलाई छुट दिँदा हाम्रा धार्मिक र साँस्कृतिक धरोहर नासिनुका साथै सभ्यतासमेत स्खलित हुन पुग्छ । मठको महन्त वा पुजारी भनेको मठ मन्दिरको न्यासी (Trustee) हो, त्यसबाट फाइदा लिने व्यक्ति होइन । उसले भगवानको मन्दिरमा बसी आराधना गर्ने, मठको सम्पत्ति तथा परम्परा जोगाउने र लोक कल्याण गर्ने हो, मठको सम्पत्ति नास गर्ने होइन । मठ मन्दिरको सम्पत्ति नास गर्ने कार्यलाई अदालतले छुट दिन नसक्ने । (प्रकरण नं.१०) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री भरत राउत विपक्षीका तर्फबाट : विद्वान् अधिवक्ता श्री ज्ञानेन्द्रप्रसाद पोखरेल अवलम्बित नजिर : सम्बद्ध कानून : गुठी संस्थान ऐन, २०३३ आदेश न्या.डा.आनन्दमोहन भट्टराई : नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२(३)(च), १३, १८, १९ तथा धारा ३२ र १०७(२) बमोजिम यस अदालतमा दायर भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ:- म रिट निवेदकलाई गुठी संस्थान केन्द्रीय कार्यालय, काठमाडौंले धनुषा जिल्ला, जनकपुर नगरपालिका वडा नं.८ मा अवस्थित राजगुठीअन्तर्गतको रत्नसागर मठस्थानको रेखदेख संरक्षण गर्नको लागि रत्नसागर मठ स्थानको "महन्त" पदमा नियुक्ति गरी दिनु भन्ने गुठी संस्थान, केन्द्रीय कार्यालयको धार्मिक व्यवस्था शाखाको निर्देशनबमोजिम गुठी संस्थान शाखा कार्यालय, जनकपुरले गुठी संस्थान ऐन, २०३३ को दफा १६(१) बमोजिम रत्नसागर मठस्थानको "महन्त" पदमा मिति २०६०।१२।०४ मा नियुक्ति गरेको हो । म निवेदकले नियुक्ति मितिदेखि आजका मितिसम्म मठमा रही वैष्णव सम्प्रदायका धर्मआचरण पालन गरी साबिक सनातनदेखि चली चलाई आएको धार्मिक कार्य सुचारूरूपले सु-सञ्चालन गरी सो कुटी स्थानको चल, अचल सम्पत्ति, देवमुर्ति गरगहनासमेतको सुरक्षा, संरक्षण गरी इमान्दारीपूर्वक धार्मिक परम्पराअनुसार गर्नुपर्ने कामकाजसमेत निरन्तर रूपमा गर्दै आइरहेको छु । गुठी संस्थान केन्द्रीय कार्यालय, काठमाडौंको प्रशासक र गुठी संस्थान शाखा कार्यालय, जनकपुरको कार्यालय प्रमुखसमेतको मिलेमतोमा मलाई हटाई रत्नसागर मठ स्थानको महन्त पदमा विपक्षीमध्येका रामदास वैष्णवलाई नियुक्ति गर्न लागेको छ भन्ने हल्ला सुनी गुठी संस्थान शाखा कार्यालय, जनकपुरमा गई बुझ्दा विपक्षी रामदास वैष्णवले गुठी संस्थान शाखा कार्यालय, जनकपुरमा “रत्नसागर मठस्थानको म