निर्णय नं. १०२२७ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२२७ - उत्प्रेषण / परमादेश भाग: ६१ साल: २०७६ महिना: असार अंक: ३ फैसला मिति :२०७६/०१/०९ ७६२२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७६।१।९ ०७१-CI-१४२४ मुद्दाः- उत्प्रेषण / परमादेश पुनरावेदक / निवेदक : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.११ त्रिपुरेश्वर मुख्य कार्यालय रहेको हिमालयन इण्डस्ट्रिज प्रा.लि. को अख्तियार प्राप्त ऐ.को सञ्चालक मोरङ जिल्ला, विराटनगर उपमहानगरपालिका वडा नं.५ बस्ने सतिशकुमार बोहरा विरूद्ध प्रत्यर्थी / विपक्षी : वाणिज्य तथा आपूर्ति मन्त्रालय, सिंहदरबार काठमाडौंसमेत बोलपत्रदाता / ठेकेदारको बोलपत्र स्वीकृति नभएको अवस्थामा Bid Bond जफत हुँदैन तर बोलपत्र स्वीकृत भएर खरिद / बिक्री सम्झौता गर्न सूचना दिँदा कार्य सम्पन्‍न जमानत (Performance Bond) जारी गराउन नसकेमा वा सर्तबमोजिम सम्झौता नगरेमा बोलपत्र जमानत (Bid Bond) जफत हुन सक्ने । (प्रकरण नं.१०) बैंक जमानत जारी गरिसकेपछि बैंक जमानत जारी गर्न अनुरोध गर्नेको भनाइ वा सहमति नखोजी तत्काल त्यसको सम्मानपूर्वक पूर्णपालना गर्नैपर्दछ । खरिदकर्ता / बिक्रीकर्ता / ठेकेदारबिच कुनै विषयमा विवाद, असहमति वा असमझदारी भएको कारणले बैंक जमानतको भुक्तानीमा कुनै असर पर्न नसक्ने । (प्रकरण नं.१५) पुनरावेदक / निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री सिताराम अग्रवाल प्रत्यर्थी / विपक्षीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री कल्याण पोखरेल, श्री हेमबहादुर साहनी अवलम्बित नजिर : ने.का.प.२०६८, नि.नं.८६०५, पृ.७०६ सम्बद्ध कानून : सार्वजनिक खरिद ऐन, २०६३ सार्वजनिक खरिद नियमावली, २०६४ सुरू तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री टंकबहादुर मोक्‍तान माननीय न्यायाधीश श्री यज्ञप्रसाद बस्याल पुनरावेदन अदालत पाटन, ललितपुर आदेश न्या.कुमार रेग्मी : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम पुनरावेदन परी पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं आदेश यसप्रकार रहेको छ :- निवेदक कम्पनी उद्योग विभाग नेपाल सरकारसमक्ष नं.५३/२००७/२०१६ मिति २०१६।६।३ मा दर्ता भई हालसम्म अविच्छिन्न रूपमा कम्पनीको प्रबन्ध पत्र नियमावलीबमोजिम आफ्नो कार्यहरू गरी नेपाल सरकारको राजस्व समयमै तिरी बुझाई आएको एक कर्तव्यनिष्ठ फर्म हो । विपक्षी नेपाल खाद्य संस्थानले मिति २०६८।१२।४ मा प्रकाशित अरूवा चामल खरिद सम्बन्धमा बोलपत्र आह्वानको सूचना प्रकाशित गरेको र निवेदक कम्पनीसमेत इच्छुक रहेको सूचनामा तोकिएबमोजिमका आवश्यक कागजातहरूसहित अञ्चल कार्यालय, विराटनगरका लागि २५०० मे.टन र अञ्चल कार्यालय, बिर्तामोडका लागि १००० मे.टन अरूवा सोना मन्सुली चामल सप्लाईका लागि बोलपत्र पेस गरेका थियौं । बोलपत्र पेस भएपश्चात् मिति २०६९।२।२ मा संस्थानले गोरखापत्रमा प्रकाशित गरेको सूचनाअनुसार निवेदक फर्म पनि स्वीकृत भएको थियो । उक्त सूचनाबमोजिम छनोट भएको यस फर्मलाई प्रचलित कानूनबमोजिम सम्झौताका लागि विपक्षी संस्थानबाट खबर हुनेछ भनी प्रतिक्षारत रहेकोमा सो सम्झौता प्रयोजनका लागि लामो समयसम्म पत्राचार नभएपछि विपक्षी कार्यालयमा बुझ्दा हाम्रो तालाबन्दी छ, मन्त्रालयले रोक लगाएको छ । त्यसकारण अहिले बोलाउन सकिँदैन भनी जवाफ दिई पठाउनुभएको थियो । ६० दिनभित्र सप्लाई गर्नुपर्ने चामल हामीले लामो समयपछि सप्लाई गर्न सक्दैन, समस्या छ भनी आएका थियौं । तत्पश्चात् विपक्षी संस्थानले मिति २०६९।४।१२ को