निर्णय नं. १०२३० - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२३० - परमादेश भाग: ६१ साल: २०७६ महिना: असार अंक: ३ फैसला मिति :२०७४/१०/१५ ५०७९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ आदेश मिति : २०७४।१०।१५ ०७३-WO-११०४ मुद्दाः परमादेश रिट निवेदक : धादिङ जिल्ला, सल्यानकोट गाउँ विकास समिति, वडा नं. ७ स्थायी वतन भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. १६ नयाँबजार बस्‍ने अधिवक्ता तुलसी सिंखडा विरूद्ध विपक्षी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंसमेत विषादीको अत्यधिक प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रत्यक्ष असर गरी मानव स्वास्थ्य प्रतिकूल हुन गई वातावरणीय विनास भइरहेको देखिन्छ । यस्तो अवस्थामा नेपाल सरकारले विषादीको खरिद बिक्री, ओसार पसार गर्ने कार्यको पञ्‍जीकरण (दर्ता) गर्ने निकाय अविलम्ब गठन गर्नुपर्ने । (प्रकरण नं.४) रिट निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री तुलसी सिंखडा विपक्षीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री गणेशबाबु अर्याल, विद्वान्‌ अधिवक्ता श्री बालकृष्ण देवकोटा अवलम्बित नजिर : सम्बद्ध कानून : जीवनाशक विषादी ऐन, २०४८ आदेश न्या. बमकुमार श्रेष्ठ : नेपालको संविधानको धारा १३३(२) बमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य एवं आदेश यसप्रकार छः- हरेक नागरिकको स्वास्थ्यसम्बन्धी विषय आजको वैज्ञानिक विश्‍वमा अत्यन्त महत्त्वपूर्ण र मानवीय जनघनत्व एवं स्वस्थ्यसम्बन्धी वर्तमान अवस्थामा देखा परेको विभिन्‍न रोगहरूसमेत, समय परिस्थिति र मानवले सेवन गर्ने खाद्य पदार्थमा भर पर्ने कुरा आम स्वास्थ्यसम्बन्धी विज्ञहरूको अध्ययन अनुसन्धानले देखाइएको र पुष्टि गरेको विषय रहेको छ । मानवले खाने खाद्यन्‍न आजको समयमा प्राङ्गारिक र प्राकृतिक उत्पादन हुनुपर्नेमा दुनियाँमा नै भइरहेको अर्गानिक खेतीपातीको अवस्था खस्किँदा र मानव जीवन बढी सुविधाभोगी हुनुले र खेतीमा प्रयोग गरिने प्राकृतिक मलको कमी / अभावले कृषकले खेतीमा प्रयोग गर्ने रासायनिक मल / विषादी (Chemical Fertilizers) मानव स्वास्थ्यविपरीत छ । जीवनाशक विषादी ऐन, २०४८ को दफा २ (क) मा “विषादी" भन्‍नाले बीउ, विरूवा, रूख, पशुपन्छी आदिमा लाग्ने घातक किटाणुहरू नाश गर्न प्रयोग गरिने जीवनाशक विषादी-(पेस्टीसाइड्स) सम्झनु पर्छ । जसअन्तर्गत विभिन्‍न किसिमका विषादीहरू रहेका छन् । जसको मात्रा नेपाली कृषकहरूले दिन प्रतिदिन खेतीमा बढाउँदै जानु पर्ने भएको अवस्था र माटोको उर्वराशक्ति (सोइल प्रोडक्टीभिटि / फ्रटीलिटी) दिन प्रतिदिन खस्कँदै गइरहेको अवस्थाले गर्दा माटोमा अर्थात् जमिनमा प्रयोग गर्ने प्राङ्गारिक कम्पोस्ट मलको सट्‍टा कृषकले दिन प्रतिदिन प्रयोग गर्दै आई रहेको युरियालगायतका रासायनिक मलहरू (Chemical Fertilizers) जस्ले माटोको उर्वराशक्ति नास बनाउँदै गएको अवस्था छ । कृषकहरूले रासायनिक मलको मात्रा बढाउनु र प्रतिवर्ष अघिल्लो वर्षको तुलनामा रासायनिक मलको मात्रा बढाउनु पर्ने बाध्यता कृषकलाई पर्नुले समेत प्रस्तुत विषय उजागर बन्दै गएको छ । खेतीमा जब प्रांगारिक एवं कम्पोस्ट / गोठे मलको मात्रा घटाउन थालेपछि र रासायनिक एवं विषादी, तरकारी एवं खेतीवालीमा बेसी प्रयोग / छर्कन थालेपछि उक्त खाद्यान्‍न स्वयं विषादीयुक्त हुन गइरहेकोले मानव भिसेरामा Viscera (शरीरभित्रका अवयवहरू) विभिन्‍न रोगले आक्रमण गर्ने कुरा विषय विज्ञबाट आइरहेको छ । यसको नियन्त्रणका लागि एवं