निर्णय नं. १०२४१ - बैंकिङ कसुर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०२४१ - बैंकिङ कसुर भाग: ६१ साल: २०७६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७६/०२/२७ ११०३८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा फैसला मिति : २०७६।२।२७ ०७०-RB-००४० मुद्दाः- बैंकिङ कसुर पुनरावेदक / प्रतिवादी : का.जि.का.म.न.पा वडा नं. २७ घर भई हाल ऐ.ऐ. म्हैपी बस्ने दिल गोपाल धुजु श्रेष्ठको छोरी रघुराज बन्तको श्रीमती वर्ष ५४ की मन्दिरादेवी धुजु श्रेष्ठ विरूद्ध विपक्षी / वादी : सूर्यप्रसाद न्यौपानेको जाहेरीले नेपाल सरकार खातामा चेकमा उल्लेख गरिएबमोजिम पर्याप्त रकम नभएको भन्ने चेक जारी गर्ने व्यक्तिलाई चेक जारी गर्ने बेलामा थाहा जानकारी भएको र उक्त तथ्य थाहा हुँदाहुँदै निजले दोस्रो व्यक्तिलाई रकम उल्लेख गरी चेक जारी गरेको हो भने त्यस्तो कार्य जानी जानी गरेको मान्नु पर्ने हुन्छ । वस्तुतः चेक जारी गरिने तर चेक भुक्तानी हुन नसक्ने अवस्थाको पूर्वजानकारीसहित चेक काट्ने तथा त्यसको आधारमा भुक्तानी लिने दिने कार्यले नै कसुरलाई स्थापित गर्ने नगर्ने सम्बन्धमा भूमिका खेल्ने । (प्रकरण नं.३) एउटै विषयवस्तुमा दुईतर्फ मुद्दा चल्न सक्ने नसक्ने विषयमा हेर्दा एउटा कार्यले एकभन्दा बढी कसुर कायम हुन सक्ने कानूनी व्यवस्था भएको स्थितिमा बाहेक एउटा कार्यको एउटै कसुर हुने हुन्छ । एउटा कसुरमा एउटा अदालतमा मुद्दा चलेपछि सोही कसुरका सम्बन्धमा अर्को अदालतमा मुद्दा चल्न सक्दैन र यदि मुद्दा चलेमा अभियुक्तलाई दुईपटक खतरामा पारेको मानिने । कसैले कुनै व्यक्तिलाई रकम उल्लेख गरी चेक काटी दिएमा र उक्त चेकको रकम खाम्ने गरी खातामा पर्याप्त रकम नभएको अवस्थामा चेक फिर्ता भएको विषय एकै पटक ठगी र बैंकिङ कसुर दुईवटा कसुर हुन सक्ने नदेखिने । (प्रकरण नं.६) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल विपक्षी / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री ध्रुवकुमार चौहान अवलम्बित नजिर : ने.का.प.२०७५, अंक ११, नि.नं.१०१३७, पृ.२०७९ सम्बद्ध कानून : बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ पुनरावेदन तहमा फैसला गर्नेः- मा. न्यायाधीश श्री सुरेन्द्रवीर सिंह बस्न्यात माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान तेस्रो न्यायाधीशः- माननीय न्यायाधीश श्री यज्ञप्रसाद बस्याल पुनरावेदन अदालत पाटन फैसला न्या. अनिलकुमार सिन्हा : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदन अदालत पाटनको, मिति २०६९।१२।१८ को फैसलाउपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- प्रतिवादी मन्दिरादेवी धुजु श्रेष्ठले बैंकमा लोनबापत सेवा शुल्क जम्मा गर्न मसँग रकम भएन लोन स्वीकृत भएपछि तपाइँको रकम फिर्ता गर्छु भनी मबाट पटकपटक गरी रू.१२,५०,०००।– लिएकोमा सेवा शुल्क जम्मा गरी लोन स्वीकृत गराई रकम झिकिसकेकोले मेरो रकम पटकपटक माग गर्दा सो रकम बराबरको चेक दिनु भएको र उक्त चेक लिई बैंकमा पेस गर्दा खातामा चेकमा खाम्ने रकम छैन भनी चेक फिर्ता भएको हुँदा प्रतिवादीलाई जानकारी गराई रकम माग्दा रकम नदिई चेक हरायो भनी रोक्काको निवेदन दिई जालसाजी गरेको हुँदा प्रतिवादीउपर कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको सूर्यप्रसाद न्यौपानेको जाहेरी दरखास्त । म महाराजगञ्ज नर्सिङ क्याम्पसमा कार्यरत व्यक्ति हुँ । म आफ्नो काम विशेषले विभिन्न ठाउँमा गई राख्नुपर्ने भएकोले मैले आफ्नो दस्तखत गरी चेकहरूमा सीमित रकम उल्लेख गरी घरमा छाड्ने गरेको थ