निर्णय नं. १०२४४ - ठगी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०२४४ - ठगी भाग: ६१ साल: २०७६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७६/०१/१९ ४७४८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७६।१।१९ मुद्दाः- ठगी ०६८-CR-०७२६ पुनरावेदक / प्रतिवादी : जिल्ला पाल्पा खानीगाउँ गा.वि.स. वडा नं. ३ घर भई हाल का.जि. इचंगुनारायण गा.वि.स. वडा नं. ९ बस्ने वर्ष ५३ को कुलबहादुर कार्की विरूद्ध विपक्षी / वादी : फुर्वा लामासमेतको जाहेरीले नेपाल सरकार ०६९-CR-०८२१ पुनरावेदक / वादी : फुर्वा लामासमेतको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : पाल्पा जिल्ला रानीगाउँ गा.वि.स. वडा नं. ३ घर भई हाल का.जि. इचंगुनारायण गा.वि.स. वडा नं. ९ घर भई का.जि.का.म.न.पा. वडा नं. १५ स्वयम्भुमा सत्यवती प्रा.लि. का सञ्चालक कुलबहादुर कार्कीसमेत प्रचलित दुईवटा कानूनले अपराध घोषित गरी फरकफरक सजायको व्यवस्था गरेको अवस्थामा कुन कानूनअन्तर्गत उपचार माग्ने भन्ने कुरा वादी पक्षको स्वविवेक र अभियोक्ताको व्यावसायिक स्वतन्त्रतासँग सम्बन्धित विषय बन्न जान्छ । त्यस्तो दुईवटा समानान्तर कानूनी बाटो रहेको अवस्थामा वादीलाई यो बाटो आउनु पर्थ्यो भन्न अदालतले नमिल्ने । (प्रकरण नं.८) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री महेशप्रसाद खत्री प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र श्री कृष्ण सापकोटा अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने : मा.जिल्ला न्यायाधीश श्री शेखरप्रसाद पौडेल काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. मुख्य न्यायाधीश श्री केशरीराज पण्डित माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी पुनरावेदन अदालत पाटन फैसला न्या. दीपककुमार कार्की : न्याय प्रशासन ऐन,२०४८ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड सत्यवती म्यानपावर प्रा.लि.का सञ्चालक कुलबहादुर कार्की तथा इण्डम्यान कन्सल्टेन्सी प्रा.लि.का सञ्चालक रमेश रसाइलीसमेतले विदेश कोरियामा रोजगारको लागि पठाई दिन्छौं रकम मइतकुमारी लामासमेतलाई बुझाए हुन्छ भनेकोले मइतकुमारी लामालाई रकम बुझाएपछि मइतकुमारी लामा तथा निजको पति दिलबहादुर तामाङलाई रहस्यमय तरिकाले बुटवलमा हत्या गरेको हुँदा उक्त रकम ठगी गरेको थाहा पाई निजहरूले विदेश पठाउने सर्तमा म फुर्वा लामाको रू.१,५०,०००।-, म पुर्ण तामाङको रू.५,५०,०००।-, लाक्पा शेर्पाको रू.५,५०,०००।-, दोर्जे तामाङको रू.५,५०,०००।- समत लामा लप्चनको रू.५,५०,०००।-, रामजी लामाको रू.५,५०,०००।-, राकेश लोप्चनको रू.३०,०००।-, चेतन लामाको रू.४,५०,०००।- उग्रेत लामाको रू.३,४०,०००।- समेत जम्मा रू.३९,९०,०००।- ठगी गरेको हुँदा कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको फुर्वा लामासमेतको जाहेरी दरखास्त । काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१ बस्ने रमेश रसाइलीले मलाई विदेश कोरियामा रोजगारको लागि पठाई दिन्छु भनी विश्वास दिलाई मबाट रू.३,५०,०००।- रकम लिई विदेश पनि नपठाएको र रकम पनि फिर्ता नदिई ठगी गरेकोले कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको निमा डाँगीको जाहेरी दरखास्त । जाहेरवाली निमा डाँगीको रकम रू.३,५०,०००।- रकम मैले विदेशमा पठाई दिन भनी लिएको हुँ, जाहेरवाला फुर्वा लामा, पूर्ण लामाले दिएको जाहेरीमा उल्लिखित मानिस तथा फुर्वा लामा