निर्णय नं. १०२४६ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२४६ - कर्तव्य ज्यान भाग: ६१ साल: २०७६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७५/०३/०६ १३२८१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. फैसला मिति : २०७५।३।६ ०७२-CR-०२०५ मुद्दा:- कर्तव्य ज्यान पुनरावेदक / वादी : जिल्ला झापा दमक न.पा. वडा नं. १३ बस्ने धर्मप्रसाद घिमिरेको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला मोरङ डागीहाट गा.वि.स. वडा नं. ४ भाउने चौक बस्ने विष्‍णु याख्खा (राई) भन्‍ने विष्‍णुकुमार याख्खा राईसमेत टुक्रिएका र खण्डित भएका घटना र वारदातका तथ्य र प्रमाणहरूलाई अनुमानको आधारमा फौजदारी कानून एवं न्यायको प्रमाण मूल्याङ्कनका सिद्धान्त र अवधारणाबाट पर गएर अदालतले जबरजस्ती रूपमा प्रमाणहरू जोडेर कसैलाई पनि सजाय गर्न नसक्ने । घटना र वारदातसँग प्रत्यक्ष रूपमा प्रभावित व्यक्ति एवं पीडित स्वयम् वा निजका परिवारले कसुरदारलाई नै उन्मुक्ति दिएर अदालतमा आफ्नो कथन / अभिव्यक्त गरिदिएको र अन्य भौतिक एवं स्वतन्त्र प्रमाण र परीक्षण प्रतिवेदनहरूले घटना, वारदात र सोमा कसुरदारको संलग्नतालाई पुष्टि नगरेको अवस्थामा अदालतले पनि शंका र अनुमानको आधारमा कसैलाई पनि सजाय गर्न नमिल्ने । (प्रकरण नं.१६) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री दुर्गा खड्का प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने :- माननीय न्यायाधीश श्री इन्द्रबहादुर कार्की मोरङ जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने :- माननीय न्यायाधीश श्री रमेशकुमार पोखरेल पुनरावेदन अदालत विराटनगर रायबाझी फैसला गर्ने :- माननीय न्यायाधीश श्री कुमार चुडाल माननीय न्यायाधीश श्री अग्नीप्रसाद थपलिया पुनरावेदन अदालत विराटनगर फैसला न्या.तेजबहादुर के.सी.: नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दा तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम दर्ता भई निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको छ । प्रस्तुत फैसला सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ९१(४) र अनुसूची १२ को ढाँचामा तयार गरिएको छ । सुरूको जाहेरी दरखास्त, घटनास्थल मुचुल्का, लास जाँच मुचुल्का, शव परीक्षण प्रतिवेदन, घटना विवरण कागज, बुझिएका व्यक्तिहरूले गरेको कागज, अभियोगपत्र, प्रतिवादीहरूको बयान, मोरङ जिल्ला अदालतको फैसला, वादी तथा प्रतिवादी दुवैतर्फबाट पुनरावेदन अदालत विराटनगरमा पेस भएको पुनरावेदन तथा पुनरावेदन अदालत विराटनगरले गरेको फैसलासमेतको बेहोरा उक्त अदालतले गरेको मिति २०७१।०१।२८।०१ को राय बाझी फैसला र मिति २०७१।०७।२३ को तेस्रो न्यायाधीशको फैसलाबाट देखिने हुँदा यहाँ पुनरावृत्ति गरिएको छैन । यस अदालतको निर्णय पुनरावेदक वादी तर्फबाट उपस्थित हुनुभएका विद्वान्‌ उपन्यायाधिवक्ता श्री दुर्गा खड्काले गर्नुभएको बहस सुनी पुनरावेदनसहितको मिसिल संलग्न कागजातहरूको अध्ययन गर्दा मिति २०६२।११।१८ गते प्रतिवादीहरूले धारिलो हतियार खुकुरीसमेत प्रहार गरी भुपेन्द्र घिमिरेको कर्तव्य गरी मारेको देखिँदा प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. र १३(१) नं. को कसुरमा सोही महलको १३(३) नं. बमोजिम सजाय गरिपाउँ भन्‍नेसमेत बेहोराको वादी नेपाल सरकारको अभियोग मागदाबी भएको प्रस्तुत मुद्दामा सुरू मोरङ जिल्ला अदालतले प्रतिवादी विष्णुकुमार याख्खाले मृतकलाई कर्तव्य गरी मारेकोमा साबित रहेको, इन्कारी बय