निर्णय नं. १०२५० - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२५० - उत्प्रेषण / परमादेश भाग: ६१ साल: २०७६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७५/११/२३ ९२६० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत आदेश मिति : २०७५।११।२३ ०६९-WO-१३०१ विषय: उत्प्रेषण / परमादेश निवेदक : जिल्ला गोर्खा पृथ्वीनगर नगरपालिका वडा नं. ८ ठिंगुरेश्‍वारा बस्‍ने मानवहादुर कुँवरको नाति अकलबहादुर कुँवरको छोरा खुलबहादुर कुँवर विरूद्ध विपक्षी : जिल्ला प्रहरी विशेष अदालत, हाल जिल्ला प्रशासन कार्यालय, काठमाडौंसमेत मुद्दाको कारबाहीका क्रममा आधारभूत रूपमा पालना गर्नुपर्ने कार्यविधिको पालना नगरी कुनै निकायबाट गरिएको निर्णयबाट व्यक्तिउपर घोर अन्याय भएको देखिएको अवस्थामा रिट क्षेत्रबाट त्यस्ता निर्णयउपर न्यायिक परीक्षण गर्न सकिने । (प्रकरण नं.५) व्यक्तिलाई राज्यको निकायले कुनै फौजदारी कसुर गरेको अभियोगमा न्यायिक वा अर्धन्यायिक निकायमा मुद्दा दायर गर्छ भने सो व्यक्तिलाई पक्राउ गर्ने, उक्त अपराधको अनुसन्धान गर्ने, अदालतमा मुद्दाको सुनुवाइ गर्ने तथा फैसला कार्यान्वयनसम्मको चरणहरूमा फौजदारी न्यायका आधारभूत सिद्धान्तहरूको अनिवार्य पालना गर्नुपर्ने । (प्रकरण नं.१३) निर्दोष हुँदाहुँदै पनि राज्यका निकायहरूको लापरवाहीपूर्ण काम कारबाहीको परिणाम स्वरूप अनाहकमा कैदमा बस्नुपरेको दुर्भाग्यपूर्ण अवस्थामा निवेदकलाई राज्यले क्षतिपूर्ति दिनु पर्ने । (प्रकरण नं.२८) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री सतिशकृष्ण खरेल तथा विद्वान्‌ अधिवक्ताहरू श्री टिकाराम पोख्रेल र श्री गणेशविक्रम कार्की विपक्षीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री रेवतीराज त्रिपाठी अवलम्बित नजिर : ने.का.प. संवैधानिक इजलास खण्ड, भाग १, अंक १ ने.का.प.२०७३, अंक ७, नि.नं.९६३३ सम्बद्ध कानून : सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ आदेश न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा धारा १०७(२) बमोजिम यस अदालतको असाधारण अधिकार क्षेत्रअन्तर्गत दायर भएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य र आदेश यसप्रकार छः- म निवेदक खुलबहादुर कुँवर मिति २०३६।११।१ मा नेपाल प्रहरीको जवान पदमा सेवा प्रवेश गरेकोमा मिति २०४२।३।३० मा मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र, काठमाडौंमा सरूवा गरियो । सो तालिम केन्द्रमा कार्यरत रहेकै समयमा मिति २०४२।४।१८ मा म निवेदक प्रहरी हवल्दार पदमा बढुवा भई सोही स्थानमा दरबन्दी कायम गरियो । यसरी मिति २०४२।४।१८ बाट प्रहरी हवल्दार पदमा कार्यरत रहेकोमा २०४४ साल माघ महिनामा कोतमा रहेको रिभल्वर थान २ कम भएको देखिएको हुनाले सो कुराको जानकारी तत्कालै आफ्नो हाकिम प्रहरी निरीक्षक तुलबहादुर के.सी. लाई गराएको थिएँ । सो जानकारी दिएपछि म निवेदक र कोतको ड्‍युटीमा खटिएका अर्का प्रहरी जवान यज्ञबहादुर के.सी. लाई समेत क्वार्टर गार्डमा थुनामा राखियो । थुनामा राखेपश्‍चात् चरम यातनाको लामो श्रृङ्खला सुरू भयो । उक्त रिभल्वर चोरेर कहाँ राखेको छस् भनी म र यज्ञबहादुर के.सी. लाई नियमित रूपमा यातना दिई सोधपुछ गरेकोमा हामीहरूले सो सम्बन्धमा सदैव अनभिज्ञता देखायौँ । २०४४ साल माघ महिनादेखि थुनामा राखिएको हामीलाई कथित अनुसन्धान अधिकृतले नियमित रूपमा कुट्ने, यातना दिने, हातको नङ तान्‍ने र हात खुट्टा बाँधेर पिँडौला र तिघ्राको पछिल्लो भागमा कुट्ने र रिभल्वरको सम्बन्धमा सोधपुछ गर्ने कार्य गरिने गरिएको थियो । त्यसरी