निर्णय नं. १०२५२ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२५२ - उत्प्रेषण भाग: ६१ साल: २०७६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७५/०९/२६ ७८१२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही आदेश मिति : २०७५।९।२६ ०७०-WO-०३५५ मुद्दा : उत्प्रेषण निवेदक : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१६ बालाजु बस्ने वर्ष ७० को रायन भन्ने नारायणभक्त श्रेष्ठसमेत विरूद्ध विपक्षी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबार, काठमाडौंसमेत सकारात्मक विभेद (Positive or protective discrimination) भनिने संरक्षणको व्यवस्था गर्नु राज्यको इच्छा (Pleasure) को विषय नभएर कर्तव्यको विषय हो । संविधानमा उल्लेख गरिएअनुसारको "कानूनद्वारा विशेष व्यवस्था" गरिएको छैन भन्ने आधारमा नै संविधानद्वारा संरक्षित हक अधिकार निरर्थक वा निष्प्रायोजित नबन्ने । (प्रकरण नं.१०) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताद्वय श्री शम्भु थापा र डा. श्री शंकरकुमार श्रेष्ठ, विद्वान्‌ अधिवक्ता श्री बल्लभ बस्नेत विपक्षीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री सुदिप दंगाल अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान नेपालको अन्तरिम संविधान, २०६३ शिक्षा ऐन, २०२८ शिक्षा नियमावली, २०५९ आदेश न्या. ईश्वरप्रसाद खतिवडा : नेपालको अन्तरिम संविधान २०६३ को धारा ३२ र १०७(२) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छ:- तथ्य खण्ड हामी निवेदक निवेदिकाहरू कान नसुन्ने (बहिरा), आँखा नदेख्ने (नेत्रहीन) र शारीरिक रूपले विकलाङ (सुष्त मनस्थिति) भएका बालबालिकाहरूलाई अध्ययन अध्यापन गर्ने गराउने विद्यालयहरूमा काम गरेका स्थायी शिक्षक, शिक्षिका रहेका छौं । हामी निवेदकहरूमध्ये म नारायणभक्त श्रेष्ठको ०२४ सालमा, म सावित्री वन्त र म मिथिला ढुङ्गाना मिति ०३३।६।६ मा, म जयन्ती श्रेष्ठ मिति ०२५।११।१ मा, म सुन्दरी श्रेष्ठ मिति ०३६।१।४ मा, म निर्मला श्रेष्ठ मिति ०३१।१।१ मा, म लिली प्रधानाङ्ग मिति ०४०।१२।१ मा, म किरण सिन्हाको मिति ०३३।६।६ मा, म गणेशप्रसाद मुनाकर्मीको मिति २०४८।२।२७ मा स्थायी शिक्षकको पदमा नियुक्ति भई केन्द्रीय बहिरा उच्च मा.वि., नक्साल, काठमाडौंमा कार्यरत रहेका थियौं । त्यसैगरी सुष्त मनस्थितिका बालबालिकालाई अध्ययन अध्यापन गराउने म शान्तिदेवी श्रेष्ठ र म राधा शर्माको क्रमशः मिति २०४०।३।५ र २०४६।३।२० मा स्थायी नियुक्ति भई सुष्त मनस्थिति पारिवारिक सरसल्लाह तथा स्रोत विद्यालय सिनामंगल काठमाडौंमा र नेत्रहीनलाई अध्यापन गराउने गरी नमुना मच्छिन्द्र माध्यमिक विद्यालय ललितपुरमा म विद्या वैद्यको मिति २०४५।८।२२ मा स्थायी नियुक्ति भएको थियो । हामी निवेदकले सामुदायिक विद्यालयका अन्य शिक्षकसरह नेपाल सरकारको अनुदानमा तलब, भत्ता, खाईपाई आउनुका साथै हाम्रो तलबबाट १०% कट्टा गरी सरकारका तर्फबाट १०% रकम थप गरी सञ्चयकोष जम्मा गर्नुका साथै नागरिक लगानी कोषमा समेत रकम जम्मा गरी आएको थियो । हामी निवेदकहरूमध्ये म लिली प्रधानाङ्ग, किरण सिन्हा र म गणेशप्रसाद मुनाकर्मीबाहेक अरू निवेदकहरूको सेवाका क्रममा ६० वर्षको उमेर नाघेको र शिक्षा नियमावली, २०५९ को नियम १३१ ले साठी वर्ष उमेर पूरा भएपछि विद्यालयको सेवाबाट अवकाश हुने कानूनी व्यवस्थाअनुसार हामी निवेदकहरूले समेत अवकाश पाउनु पर्ने थियो । तर शिक्षा कार्यालयबाट अवकाश नदिएकोले हामीले आ-आफू कार्यरत विद्यालयमा हाम्रो अवकाशका सम्बन्धमा