निर्णय नं. ८३३५ - अंश चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८३३५ - अंश चलन भाग: ५२ साल: २०६७ महिना: असार अंक: ३ फैसला मिति :२०६६/११/१३ १८५५ निर्णय नं. ८३३५ असार, २०६७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह माननीय न्यायाधीश श्री प्रकाश वस्ती २०६५ – CI – ००४३ फैसला मितिः २०६६।११।१३।५ मुद्दाः अंश चलन समेत । पुनरावेदक वादीः जिल्ला ललितपुर, ललितपुर उपमहानगरपालिका बडा नं.३ पुल्चोक घर भै हाल जिल्ला कास्की पोखरा उपमहानगरपालिका बडा नं. ७ बस्ने लाक्पा खम्बाछे शेर्पा विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला ललितपुर, ललितपुर उपमहानगरपालिका बडा नं. ३ पुल्चोक बस्ने ओमकुमारी शेर्पा शुरु फैसला गर्नेः मा.जि.न्या.श्री कुमार पोखरेल पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री लक्ष्मणमणि रिसाल मा.न्या.श्री माधवप्रसाद चालिसे  स्वभाविक रुपमा जन्मेका प्रमाण र पछिबाट कुनै उद्देश्य प्राप्तिका लागि खडा भएका प्रमाणको विश्वसनीयता समान हुन नसक्ने ।  बिना कुनै कारण कुनै पनि व्यक्तिद्वारा सहज रूपमा खडा भएको र पारिवारिक स्थिति समेत उल्लेख गर्नै पर्ने प्रकृतिको आधिकारिक लिखतमा उद्घोष नगरेको कुरालाई निजको देहान्तपछि निजको सम्पत्ति समेतका सन्दर्भमा सत्य मानी मृतकका घोषणाका प्रतिकूल अवधारणा बनाउन न्यायसंगत नहुने ।  दुई विपरीत प्रकृतिका प्रमाणहरू प्रस्तुत भएकोमा अदालतले आधार लिने भनेको तिनको विश्वसनीयताको मात्रा र प्रकृति हो । कानूनबमोजिम पारित लिखतद्वारा सिर्जित सम्बन्ध तथा रक्त सम्बन्धका आधारमा कायम हुने नाता सम्बन्ध र स्नेहवस वा संरक्षकत्वका हिसाबले केवल सम्बोधनका रूपमा प्रयोग हुने नाता सम्बन्धमा अन्तर छ । केवल पहिलो अर्थात् रक्त तथा कानूनी सम्बन्धले मात्र कानूनी अधिकार र दायित्व जन्माउने । (प्रकरण नं.४) पुनरावेदक वादी तर्फबाटःविद्वान अधिवक्ताहरू श्री वच्चुराम खड्का, डा.गोपालप्रसाद दाहाल, योगराज सुवेदी र प्रकाश थापा प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताहरू श्री भीम राई र श्री दिनेशकुमार घले अवलम्बित नजीरः सम्बद्ध कानूनः  प्रमाण ऐन, २०३१ को दफा १४ र १६ फैसला न्या.प्रकाश वस्तीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) ले यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ ः– स्व. पिता पासाङ्ग खम्बाछे शेर्पाका दुई श्रीमती जेठी किन्जी शेर्पा, कान्छी ओमकुमारी शेर्पा भएको र जेठीतर्फ जायजन्म भएका छोराहरू म फिरादी र लाक्पा खम्बाछे शेर्पा गरी दुई र कान्छीबाट जायजन्म भएका सन्तानमा जेठो वाङ्गदी शेर्पा र लाक्पा शेर्पा गरी दुई सन्तान छन् । म फिरादीको आमा किन्जी शेर्पेनीको मिति २०५०।६।२५ मा र बाबु पासाङ्गको मिति २०५३।१।३१ मा आफ्नो कालगतिले परलोक भयो । स्व. पिताको जन्मस्थान सोलुखुम्बु जिल्ला भएतापनि नेपाल सरकार, कृषि मन्त्रालयअन्तर्गत प्राविधिक पदमा रही नोकरी गर्दाको सिलसिलामा खटाएको विभिन्न ठाउँ ललितपुर पोखरा र मुस्ताङ्गमा गई सेवा गर्दै आइरहेकोमा अंशबण्डा नहुँदै पिताको परलोक भयो । पिताको परलोकपछि हामी वादी प्रतिवादीहरू एकासगोलमा ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका बडा नं. ३ को घरमा बस्दै आएका थियाँैं । पिताको जागीरको समयमा म पनि साथमा रहँदै आएकोमा आजभन्दा पाँच वर्षअघि म ट्रेकिङ्गको काममा लागेर विभिन्न ठाउँमा जाने गरेको र मेरा बालबच्चा कान्छीआमा विपक्षीसँग बस्दै आएकोमा पिताजीको परलोकपछि मेरो परिवारलाई घृणा गरी सगोलमा बस्ने स्थिति रहेन । पिताजीको सम्पूर्ण चल अचल सम्पत्ति विपक्षीले कब्ज