निर्णय नं. १०२५५ - अंश दपोट

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२५५ - अंश दपोट भाग: ६१ साल: २०७६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७५/११/०९ २९९३ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७५।११।९ ०६७-NF-००१२ मुद्दा: अंश दपोट पुनरावेदक / प्रतिवादी : जिल्ला महोत्तरी गाउँ विकास समिति भटौलिया वडा नं. ४ बस्ने बतियादेवीसमेत विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला महोत्तरी गाउँ विकास समिति भटौलिया वडा नं. ४ बस्ने अशोक राय यादवसमेत कुनैपनि चल अचल सम्पत्ति दपोट ठहर हुन अंशियारहरूबिच त्यस्तो सम्पत्ति बन्डा हुने अवस्थाको देखिनु पर्दछ । बन्डा नहुने अवस्थाको सम्पत्ति दपोट ठहर नहुने । निजी आर्जनको सम्पत्ति बन्डा नहुने भई त्यस्तो सम्पत्ति कानूनतः दपोट नठहर्ने । (प्रकरण नं.४) अंश मुद्दामा प्रतिवादी नबनाएकै कारण अंशियारमध्येका श्रीमतीका नाउँमा भएको बन्डायोग्य सम्पत्ति तायदातीमा देखाउनु पर्ने । (प्रकरण नं.७) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल, विद्वान् अधिवक्ताहरू श्री युवराज भण्डारी, श्री महादेव पण्डित र श्री सतिषकुमार झा प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्तात्रय श्री महेन्द्रप्रसाद सिंह, श्री शम्भु थापा, श्री सतिशकृष्ण खरेल र विद्वान्‌ अधिवक्ता श्री बाबुराम दाहाल अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा.जिल्ला न्या. श्री केदारप्रसाद प्याकुरेल महोत्तरी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री बद्रिकुमार बस्नेत माननीय न्यायाधीश श्री सुरेन्द्रबहादुर सिंह पुनरावेदन अदालत जनकपुर यस अदालतमा फैसला गर्नेः मा. न्यायाधीश श्री ताहिर अलि अन्सारी मा. न्यायाधीश श्री मोहनप्रकाश सिटौला फैसला न्या.केदारप्रसाद चालिसे : न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१) को खण्ड (ख) बमोजिम पुनरावलोकन गरी हेर्ने अनुमति प्रदान भई पुनरावेदनसरह दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः रामलखन राय यादव म फिरादीको ससुरा, प्रतिवादी कृष्णदेव यादव जेठाजु एवं जिनेश्वर एवं विन्देश्वर देवर हुनुहुन्छ । प्रतिवादी पवित्रादेवी जेठानी एवं प्रतिवादी बतियादेवी देवरानी हुन् । प्रतिवादीहरूको हामीप्रति बदनियतपूर्ण व्यवहार भएको कारणबाट २०४६ सालको दे.नं. ६५२ को अंश मुद्दा दायर गर्दा अंश पाउने ठहरी मिति २०४९।२।१२ मा महोत्तरी जिल्ला अदालतबाट फैसला भयो । सो अंश मुद्दा दायर हुनुअघि २०३७ सालमा अंश मुद्दा दायर भएकोमा अंश पाउने ठहरी फैसला भएपनि फैसला कार्यान्वयन हुन सकेको थिएन । दे.नं. ६५२ को अंश मुद्दामा रामलखनसमेतको हकमा पहिला दायर भएको मुद्दामा दाखेल भएको फाँटवारीलाई र प्रतिवादी कृष्णदेव, जिनेश्वर, विन्देश्वरको हकमा फिराद परेको अघिल्लो दिनलाई मानु छुट्टिएको मिति कायम गरी सगोलको श्रीसम्पत्तिको फाँटवारी दाखिल गर्ने प्रतिवादीहरूले सम्पत्तिको फाँटवारी दबाए छिपाएको छैन यति नै हो भनी फाँटवारी दाखेल गर्नुभएको छ । सगोलको परिवारको जुनसुकै सदस्यको नाममा दर्ता रहेको सम्पत्ति सगोलको सम्पत्ति हुने भनी प्रमाण ऐनमा व्यवस्था भएको छ । फाँटवारीमा सम्पत्ति दबाए छिपाएकोमा सो सम्पत्ति नदबाउनेले एकलौटी खाने भनी प्रतिवादीहरूले कागज गर्नुभएको छ । जलेश्वर सहर विस्तारमा प्लट नं. ३६ एवं प्लट नं. ८१ गरी दुईवटा प्लट पूर्ण मूल्य प्रतिवादी जिनेश्वर एवं पवित्री देवीको नामबाट दाखे