निर्णय नं. १०२६३ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२६३ - उत्प्रेषण भाग: ६१ साल: २०७६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७५/०९/०२ ३७३३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. आदेश मिति : २०७५।९।२ ०७१-WO-०५३२ मुद्दाः उत्प्रेषण निवेदक : धनुषा जिल्ला जनकपुर नगरपालिका वडा नं.४ बस्ने अमनकुमार अग्रवालसमेत विरूद्ध विपक्षी : नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, बबरमहल, काठमाडौंसमेत विदेशी लेखा व्यवसायी संस्थामा CA अध्ययन गरेका नेपाली विद्यार्थीहरूको लागि पञ्जीकृत प्रशिक्षणमा सीमा तोक्ने कार्य WTO ले आत्मसात् गरेको विश्वव्यापीकरणको मूल्य मान्यता एवं ऐन, नियमअनुकूल नदेखिने । (प्रकरण नं.९) निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री ओमकुमार दाहाल विपक्षीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री विष्णुप्रसाद न्यौपाने अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको अन्तरिम संविधान, २०६३ नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ नेपाल चार्टर्ड एकाउन्टेन्ट्स नियमावली, २०६१ आदेश न्या.दीपककुमार कार्की : नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छः- म निवेदकले चार्टर्ड एकाउन्टेन्ट अध्ययन गर्ने धोको लिई गुणस्तरीय शिक्षा प्राप्त गर्ने हेतुले भारतको Institute Of Chartered Accountants of India मा आफ्नो नामाङ्कन गराएको थिएँ । पाठ्यक्रमको प्रकृति एवं चार्टर्ड एकाउन्टेन्ट पढ्ने व्यक्ति विषयगत सैद्धान्तिक ज्ञानबाहेक प्राविधिक, व्यावहारिक र व्यावसायिक ज्ञानमा समेत दक्ष होउन् भन्‍ने उद्देश्यले आफू अध्ययन गरिरहेको पाठ्यक्रम तथा नेपाल चार्टर्ड एकाउन्टेन्टस नियमावली, २०६१ को नियम २४ समेतले पञ्जीकृत प्रशिक्षणसम्बन्धी व्यवस्था गर्दै मूल प्रशिक्षकबाट लेखा व्यवसायसम्बन्धी तीन वर्षको पञ्जीकृत प्रशिक्षण लिनुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ । पञ्जीकृत प्रशिक्षण दिन पाउने सम्बन्धमा ऐ. नियमावलीको नियम २५ ले प्रशिक्षकको "कार्य / अवधि" को आधारमा प्रशिक्षकहरूलाई विभिन्‍न वर्गमा विभाजन गरी बढीमा १० जनासम्म मात्र प्रशिक्षार्थी राख्‍न पाउने व्यवस्था गर्दै अधिकतम प्रशिक्षार्थी राख्‍न पाउने सीमा तोकेको कानूनी व्यवस्था तथा ऐन तथा नियमावलीले कुनै तवरले रोक नलगाई आफूले रोजेको संस्थाबाट अध्ययन गर्न पाउने विद्यार्थीको शिक्षासम्बन्धी नैसर्गिक अधिकारलाई सम्मान गरी संस्थाले मान्यता प्रदान गरेको कुनै पनि विदेशी संस्थाबाट परीक्षा उत्तीर्ण गरेकोलाई संस्थाले तोकेबमोजिमको प्रक्रिया पूरा गरेर व्यवसाय गर्न दिने अनुमति अर्थात् प्रमाणपत्र प्रदान गर्ने व्यवस्था गरेको अवस्थामा ऐनको प्रावधान एवं उद्देश्यको प्रतिकूल हुने गरी विपक्षी संस्था तथा परिषद्‍ले जारी गरेको विदेशी लेखा व्यवसायी संस्थाका विद्यार्थीको लागि पञ्जीकृत प्रशिक्षणसम्बन्धी कार्यविधि, २०७१ ले विदेशी संस्था आबद्ध लेखा व्यवसायीले अधिकतम ३ जनासम्म प्रशिक्षण प्रशिक्षार्थी राख्‍न पाउने सीमा तोकी म निवेदकजस्ता व्यक्तिलाई विदेशी पाठ्यक्रम तथा संस्थाबाट शिक्षा हासिल गर्नबाट वञ्चित गरिएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ मा लेखा व्यवसायको विकास गर्नको लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको स्थापना गरिएको भन्‍ने उल्लेख छ । उक्त ऐनको दफा ७(२) ले ऐ. ऐन, नियम र विनियमका अधीनमा रही संस्थालाई भएको सबै अधिकारको प्रयोग र कर्तव्यको पालना गर्नेछ भन्‍ने