निर्णय नं. १०२७४ - मानव ओसार पसार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०२७४ - मानव ओसार पसार भाग: ६१ साल: २०७६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७६/०४/०९ ४३७१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७६।४।९ ०७१-CR-११८३ मुद्दा : मानव ओसार पसार पुनरावेदक / वादी : परिवर्तित नाम पानकुमारीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : सुर्खेत जिल्ला राकम गा. वि. स. वडा नं. ६ सेतुटोल बस्ने शोभा वादी केबल अभियुक्त अदालतमा उपस्थित हुन आएनन् भन्ने आधारमा कसुर ठहर गर्नुलाई न्यायिक प्रक्रियाको दुरूपयोग गरेको (miscarriage of justice) अथवा गम्भीर अन्याय (gross injustice) भएको अर्थमा बुझ्नु पर्ने हुन्छ । प्रतिवादी अदालतमा उपस्थित नभएको कुरालाई नै स्वयम्मा निर्णायक प्रमाण मान्ने र अभियोग दाबी ठहर गर्ने कुरा अतार्किक, गैरकानूनी र अविवेकपूर्ण हुन जाने । (प्रकरण नं.७) प्रतिवादीका तर्फबाट पुनरावेदन पर्न नआएको अवस्था भएपनि प्रमाणको दृष्टिले न्यायको रोहमा प्रतिवादीउपर ठहर भएको कसुर र सजाय उल्टी नगर्दा गम्भीर अन्यायको स्थिति पैदा हुने वा गम्भीर कानूनी त्रुटि कायम रहने अवस्था देखिन आयो भने पुनरावेदन सुन्ने अदालतले मातहत अदालतको इन्साफ फरक पर्ने वा उल्टिने गरी फैसला गर्न मिल्ने । (प्रकरण नं.११) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री प्रकाश गौतम प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री लिलाराज अधिकारी सुर्खेत जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री केशवराज जोशी मा. न्यायाधीश श्री राजेन्द्रकुमार पोखरेल पुनरावेदन अदालत सुर्खेत फैसला न्या.ईश्वरप्रसाद खतिवडा : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) (ग) बमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः तथ्य खण्ड मिति २०६८/२/२७ गते बिहान अं. ११.०० बजेको समयमा म घरबाट सल्ली गएको बखत शोभा वादीले मलाई बोटेचौरसम्म काम छ, सँगै जाउँ भनी बसमा चढाई बबई लगी केरा खुवाई बेहोस बनाई बबईबाट बसमा चढाई शोभा वादी र विनोद वादीले भारतमा लगी दिल्लीको एउटा भान्सा कोठामा राखी रहेको अवस्थामा त्यहाँ भएका दुई जना नेपाली केटीहरूले तिमी बेचियौ भन्ने कुरा गरेकाले म रोई कराई गर्दा निज प्रतिवादीहरूले त्यहाँबाट मलाई फकाई ल्याएकोले कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको जाहेरी दरखास्त । मिति २०६८।२।२७ गतेका दिन म आफ्नो फोटो लिनको लागि सल्लीबजार जाने क्रममा प्रतिवादीमध्येकी शोभा वादी फेलापरी सँगै जाउँ भनी गएकी, उक्त दिन सल्लीबाट घरतर्फ आउने क्रममा निज शोभा वादीले मेरो अगाडि काम छ भन्दै गाडीमा छिन्चु ल्याइन् । उक्त स्थानमा जुठी भन्ने लिला वादी पनि रहिछन् । मलाई उक्त दिन छिन्चुको होटलमा नै बसाली भोलिपल्ट बिहान निज जुठी भन्ने लिला वादीले मेरो बुबा आमालाई फोन गरी शोभा वादीले तपाइँको छोरीलाई छिन्चु ल्याएकी रहिछ, यसलाई बबई दिदीको घरमा पुर्याई दिन्छु भनी मलाई लगी बबई छाडी दिएकीमा म गई मेरो दिदीको जेठानी फेला परेपछि म निजकै घरमा गई उक्त रात बसेकीमा पुनः भोलिपल्ट निज प्रतिवादी शोभा वादीले मेरो मोबाइलमा फोन गरी म घर जान लागेकी छु, जाने भए आइज भनेकीले म घर जानको निम्ति बबई आएका बखत निज शोभा वादीले तँलाई विवाह गर्ने केटो यही हो भनी मसँग परिचय गराएकी विनोद नेपाली (वादी) समेत उक्