निर्णय नं. १०२७५ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२७५ - उत्प्रेषण भाग: ६१ साल: २०७६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७६/०२/२७ ३२०३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री कुमार रेग्मी आदेश मिति : २०७६।२।२७ ०६८-WO-११०० मुद्दाः उत्प्रेषण निवेदक : स्व. तर्कराज पाण्डेको नाति, स्व. भोगेन्द्रराज पाण्डेको छोरा, का.जि.का.म.न.पा. डिल्लीबजार बस्ने जनार्दन पाण्डेसमेत विरूद्ध विपक्षी : नेपाल सरकार, भूमिसुधार तथा व्यवस्था मन्त्रालय, सिंहदरबार काठमाडौंसमेत कुनै सम्पत्ति व्यक्तिगत कायम हुन सो सम्पत्तिको साबिक स्रोत स्पष्टसँग खुल्नुपर्छ । सो सम्पत्ति क्रेताले कानूनबमोजिम प्राप्‍त गरेको हुनुपर्छ । प्राप्त गरेको सो सम्पत्तिमा धनीको निरन्तर रूपमा भोग रहेको हुनुपर्छ । तर यदि उक्त सम्पत्तिको स्रोत नै स्पष्ट छैन, सो सम्पत्तिमा धनीको कुनै किसिमको भोग पनि छैन र लामो समयदेखि सो सम्पत्ति सार्वजनिक उपभोगमा कायम रहिरहेको स्थिति छ भने सो सम्पत्ति व्यक्तिगत सम्पत्ति नभई सार्वजनिक प्रकृतिको सरकारी सम्पत्ति नै भएको मान्‍नुपर्ने । (प्रकरण नं.६) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री शम्भु थापा तथा विद्वान्‌ अधिवक्ता श्री शैलनाथ गौतम विपक्षीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री उद्धवप्रसाद पुडासैनी अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको अन्तरिम संविधान, २०६३ अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ मालपोत ऐन, २०३४ आदेश न्या.कुमार रेग्मी : नेपालको अन्तरिम संविधान २०६३ को धारा ३२ तथा धारा १०७(२) नं. बमोजिम यस अदालतमा दायर भएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य एवम् आदेश यसप्रकार छ: निवेदकमध्येको म विनायकराज पाण्डे, म उत्तराकुमारी पाण्डे, म जनार्दन पाण्डे, म निवेदक ललिता पाण्डेका पति तथा शशीराज पाण्डेका पिता गोविन्द तथा म निवेदक विनोदराज पाण्डेका पिता नयनराज पाण्डेसमेत ५ जनाको संयुक्त नाउँमा तत्कालीन भूमि प्रशासन कार्यालय भक्तपुरको मिति २०२९।९।२२ को निर्णयानुसार भक्तपुर जिल्ला, दधिकोट गा.वि.स. वडा नं. ९ कि.नं. २७०८ को क्षेत्रफल २२-६-२-० (बाइस रोपनी, छ आना, दुई पैसा) जग्गा दर्ता भई जग्गाधनी दर्ता प्रमाण पुर्जा प्राप्‍त गरी भोगचलन गर्दै आएकोमा म निवेदक ललिता पाण्डेका पति तथा शशीराज पाण्डेका पिता गोविन्दराज पाण्डेको मिति २०५५।३।२३ मा मृत्यु भएकोले दर्तावाला गोविन्दराज पाण्डेको हकजतिमा म निवेदक ललिता पाण्डे र शशीराज पाण्डेको हक हुन आएको र त्यसैगरी म निवेदक विनोदराज पाण्डेका पिता नयनराज पाण्डेको मिति २०६८।४।२२ मा र आमा जीवकुमारी पाण्डेको पनि परलोक भएकोले दर्तावालामध्येका नयनराज पाण्डेको हकजतिमा म निवेदक विनोदराज पाण्डेको हक हुन आई उक्त जग्गा भोगचलन गर्दै २०६५ सालसम्मको मालपोत पनि बुझाएका छौं । म विनायकराज पाण्डे दधिकोट गा.वि.स. कार्यालयमा मालपोत बुझाउन भनी मिति २०६८।१।२१ मा जाँदा गा.वि.स. सचिवले मालपोत बुझ्‍न इन्कार गरी उक्त जग्गा सरकारका नाउँमा दर्ता भइसकेको भनी मौखिक जवाफ दिएकोले मालपोत कार्यालय भक्तपुरमा गई बुझ्दा हाम्रो स्रेस्ता खारेज गरेको भन्‍ने बुझिन आएकोले सो के कसरी खारेज गर्ने निर्णय भएको रहेछ भनी मिति २०६९।२।२ मा नक्‍कल लिई जानकारी हुन आयो । उक्त मिति २०६७।११।१० को निर्णय अध्ययन गर्दा "अख्तियार दुरूपयोग अनुसन्धान आयोगको मिति २०६७।१०।१९ को निर्णय तथा च.नं. १०९१ मिति २०६७।१०।२६ को निर्णयअनुसार सरकारी सार्वजनिक जग्गा दर्ता कायम गरी सोको जानकारी १५ दिनभ