निर्णय नं. १०२७६ - निर्णय दर्ता बदर हक कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०२७६ - निर्णय दर्ता बदर हक कायम भाग: ६१ साल: २०७६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७६/०३/३१ ३६३७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा फैसला मिति : २०७६।३।३१ ०७०-CI-०३११ मुद्दाः- निर्णय दर्ता बदर हक कायम पुनरावेदक / प्रतिवादी : गुठी संस्थान केन्द्रीय कार्यालयको तर्फबाट अख्तियार प्राप्त ऐ.का कार्यकारी अध्यक्ष काठमाडौं महानगरपालिका वडा नं. ३१ बस्ने हरिप्रसाद शर्मासमेत विरूद्ध प्रत्यर्थी / वादी : ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. १६ बस्ने पूर्णबहादुरको मु.स. गर्ने ऐ.ऐ. बस्ने रत्नदेवी चित्रकार एउटाको हक स्थापित भइसकेको सम्पत्तिमा त्यस्तो सम्पत्तिको स्वामीको मन्जुरीबेगर भोगचलन गरेकै आधारमा मात्र स्वामित्वविहीन व्यक्तिलाई त्यस्तो सम्पत्तिको स्वामी बनाउन नमिल्ने । (प्रकरण नं.७) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री ज्ञानेन्द्रप्रसाद पोखरेल प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल र श्री चण्डेश्वर श्रेष्ठ अवलम्बित नजिर : ने.का.प.२०७४, नि.नं.९८४९, पृ.१२९१ ने.का.प.२०६४, अंक १०, नि.नं.७८८५, पृ.१२०५ सम्बद्ध कानून : गुठी संस्थान ऐन, २०३३ सुरू तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री कुमारप्रसाद पोखरेल ललितपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री ठाकुरप्रसाद शर्मा माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी पुनरावेदन अदालत पाटन फैसला न्या.डा.मनोजकुमार शर्मा : पुनरावेदन अदालत पाटनको मिति २०६७।३।२३ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्याई पाउँ भनी यस अदालतमा निवेदक प्रतिवादीहरूको संयुक्त निवेदन परी यस अदालतको मिति २०७०।२।१७ को आदेशले मुद्दा दोहोर्याई हेर्न अनुमति प्राप्त भई पुनरावेदनसरह दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार रहेको छ :- ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं. १३ को हाल ऐ. वडा नं. १९ टंगाल स्थित कि.नं. १०१ को ०-०-३-० (तीन पैसा) जग्गामा मैले परापूर्वकालदेखि नै घर बनाई बसी ललितपुर नगरपालिकाबाट मिति २०३८।९।१२ मा सिफारिस लिई छाना फेरी मर्मत गरी भोगचलनसमेत गर्दै आएको घरजग्गा नापीकै बेलामा फिल्डबुकमा जग्गाधनीको महलमा श्री मछेन्द्रनाथ आरती गुठी जनिएको र जोताहा महलमा म फिरादीको नाम जनिएको हुँदा उक्त घर जग्गा म जोताहाको हैसियतले साबिकदेखि हालसम्म उक्त घरलाई मर्मत गरी बसी आएकोमा उक्त घर जग्गा दर्ता हुन बाँकी भएकाले दर्ता गरिपाउँ भनी मैले गुठी तथा खर्च कार्यालयमा मिति २०४७।९।२ मा द.नं. १२१ मा नगरपालिकाको मिति २०४७।८।१६ को सिफारिससमेतका कागजात राखी निवेदन दिएकोमा सो निवेदनमा कुनै निर्णय नै नगरी त्यसै राखेको र तारेखमा पनि नराखेकाले बाध्य भई परमादेशको माग गरेको थिएँ । पुनरावेदन अदालत पाटनबाट मिति २०५८।५।७ मा परमादेश जारी भएकोमा विपक्षीले सर्वोच्च अदालतमा पुनरावेदन गरेकाले सर्वोच्च अदालतबाट मिति २०६१।१२।४ मा पुनरावेदन अदालतको आदेश सदर भएको हुँदा मेरो मागबमोजिम दर्ता गर्न नमिल्ने र मोही कायम हुन नसकेको घर जग्गा गुठी संस्थान ऐन, २०३३ को दफा २५(४) बमोजिम तैनाथी जग्गा हो भनी मिति २०६२।९।५ मा निर्णय भएको रहेछ । गुठी संस्थान ऐन, २०३३ को दफा २५(४) को आधार लिइएको सम्बन्धमा हेर्दा सार्वजनिक पर्ती जग्गा भनि