निर्णय नं. १०२८३ - मोही नामसारी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२८३ - मोही नामसारी भाग: ६१ साल: २०७६ महिना: असोज अंक: ६ फैसला मिति :२०७५/०२/०६ ३२८७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. माननीय न्यायाधीश श्री दीपककुमार कार्की फैसला मिति : २०७५।२।६ ०७३-CI-०३९२ मुद्दाः मोही नामसारी पुनरावेदक / प्रतिवादी : रौतहट जिल्ला, गेहडी गुठी गा.वि.स वडा नं. ९ बस्ने रामचन्द्र सहनी विरूद्ध प्रत्यर्थी / वादी : रौतहट जिल्ला, गेहडी गुठी गा.वि.स वडा नं. ७ बस्ने सरूप सहनीको श्रीमती झलिया देवी मल्लाहिन तत्कालीन भूमिसम्बन्धी ऐन, २०२१ मा "बुहारी" लाई मोही नामसारी हुने हकवालामा राखेको नभएपनि प्रस्तुत मुद्दामा मोहीको एक मात्र छोरा र निजको एक मात्र श्रीमती रहेको अवस्थामा कानूनबमोजिमको हकवाला व्यक्ति बुहारी भएकोले जग्गाधनीले मोही पत्याउन इन्कार गर्ने हक रहेको नदेखिने । मोही नामसारी गर्ने हदम्यादको व्यवस्था भूमिसम्बन्धी ऐनमा रहे भएको नदेखिँदा नामसारी नगराएकै कारणले निजको हक स्थापित भएको छैन भन्‍नु न्यायसङ्गत नहुने । (प्रकरण नं.६) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री विनोद श्रेष्ठ प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०६१, अंक २, नि.नं.७३३८ सम्बन्धित कानून : भूमिसम्बन्धी ऐन, २०२१ सुरू तहमा फैसला गर्नेः भूमिसुधार अधिकारी श्री रामकृष्ण उप्रेती भूमि सुधार कार्यालय, रौतहट पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री रमेश पोखरेल माननीय न्यायाधीश श्री नागेन्द्र लाभ कर्ण पुनरावेदन अदालत हेटौंडा फैसला न्या. दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः प्रतिवादीका नाम दर्ताको जिल्ला रौतहट गा.वि.स. महमदपुर वडा नं.९ कि.नं. ६५७ को ज.वि.०-८-५ जग्गाको मोही महलमा रहेको वादीको स्व. ससुरा मखन सहनी भई निजले उक्त जग्गा मोहीको हैसियतले जोतकोड गरी जग्गाधनीलाई हुने कुत बुझाउँदै आएकोमा ससुरा २०३३ सालभन्दा अगाडि तथा सासू वसमतिया मलाहिन पनि २०३३ सालभन्दा अगाडि स्वर्गवास भई निजहरूको मृत्युपश्चात्‌ उक्त जग्गा म वादीको लोग्ने सरूप सहनीले जोतकोड गरी कुत बुझाएकोमा सरूप सहनीको मृत्यु मिति २०५१।०२।१२ गतेमा भई निजको मृत्युपश्चात्‌ उक्त जग्गा म वादीले मोहीको हैसियतबाट जोतकोड गरी जग्गाधनीलाई कुतसमेत बुझाउँदै आइरहेकोमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) अनुसार उक्त जग्गाको मोही नामसारी गरिपाउँ भन्‍नेसमेत बेहाराको झलियादेवी मलाहिनको मिति २०७१।३।१२ को फिरादपत्र । मेरा नाउँमा दर्ता रहेको जिल्ला रौतहट गा.वि.स. महमदपुर वडा नं.९ कि.नं.६५७ को ज.वि.०-८-५ जग्गाको मोही महलमा वादीको स्व. ससुरा मखन सहनीको नाम उल्लेख रहे पनि निज मोहीले आफ्नो जीवनकालमा नै जग्गा जोत्न छाडी हटी भागी गइसकेकोमा उक्त कित्ता जग्गा म जग्गाधनीले जोत भोग गर्दै आइरहेकोमा निज मोहीको २०३३ सालमा र निजकी श्रीमती २०३३ मा नै परलोक भई हक खाने छोरा वादीका लोग्ने सरूप सहनीले आफ्नो जीवनकालमा उक्त जग्गा जोत्‍न नगई नामसारीसमेत गराउन नखोजी मिति २०५१।०२।१२ मा परलोक हुनु भयो । मिति २०५३।०९।२४ मा ऐन चौथो संशोधन लागू हुँदा यी वादी हकदैयाविहीन हकवालाले मोही नामसारीको मुद्दा दिएको हुँदा वादीको नाममा मोही नामसारी हुन पर्ने होइन भन्‍नेसमेत बेहोराको प्रतिवादीको मिति २०७१।८।१७ को लिखित जवाफ । वादी दाबीको महमदपुर वडा नं. ९ कि.नं. ६५७ को ज.वि.०-८-५ जग्गा