निर्णय नं. १०२९९ - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२९९ - परमादेश भाग: ६१ साल: २०७६ महिना: असोज अंक: ६ फैसला मिति :२०७६/०१/०८ १२४५४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७६।१।८ ०७५-WO-०८४३ मुद्दाः परमादेश पक्ष / रिट निवेदक : ललितपुर जिल्ला कार्य विनायक न.पा. वडा नं.६ को परिवर्तित ललितपुर उपमहानगरपालिका वडा नं.२१ मा स्थापित रहेको स्नेहाज केयरको तर्फबाट आफ्नो हकमा समेत काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. १० बानेश्‍वर बस्ने अधिवक्ता पदमबहादुर श्रेष्ठ विरूद्ध विपक्षी / प्रत्यर्थी : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंसमेत गाई संवैधानिक रूपमा हाम्रो राष्ट्रिय पहिचानसँग जोडिएको विषय मात्र नभई हाम्रो धर्म, संस्कृति, सभ्यता र परम्पराको एक प्रतीक हुँदा गौरक्षा नेपालको एउटा राष्ट्रिय दायित्व हो भन्ने स्पष्ट हुने । (प्रकरण नं.५) गाई गोरुलगायतका पशुपंक्षीको संरक्षण कृषि, स्वास्थ्य, वातावरण र जैविक विविधताको संरक्षणको विषय तीनै तहका सरकारको साझा कार्यक्षेत्रको विषय देखियो । साथै यो विषय गरिब किसानको सुरक्षा र उन्नयनसमेतसँग जोडिएको हुँदा तिनै तहका सरकारहरूले योजनाबद्ध एवं समन्वयात्मक रूपमा आ-आफ्नो दायित्व निर्वाह गर्नुपर्ने । (प्रकरण नं.२७) पक्ष / रिट निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री प्रकाशमणी शर्मा, डा. श्री नारायण घिमिरे, श्री पदमबहादुर श्रेष्ठ तथा विद्वान्‌ अधिवक्ताहरू श्रीधराकुमारी पुडासैनी, श्री खगेन्द्र सुवेदी, श्री इन्दिरा सिलवाल, श्री जुजुकाजी महर्जन, श्री कृष्णगोपाल महर्जन, श्री नातीबाबु दाहाल, श्री शान्ता पन्त, श्री युद्धमान महर्जन, श्री रविन्द्र तामाङ र श्री राजु फुयाल विपक्षी / प्रत्यर्थीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री संजिवराज रेग्मी अवलम्बित नजिर : ने.का.प.२०७५, अंक ३, नि.नं.९९८२ ने.का.प.२०७४, अंक ७, नि.नं.९८४९ ने.का.प.२०७३, नि.नं.९७३३, पृ.२३२३ ने.का.प.२०७३, नि.नं.९६८६, पृ.१७९८ सम्बद्ध कानून : नेपालको संविधान नेपालको अन्तरिम संविधान, २०६३ नेपाल अधिराज्यको संविधान, २०४७ नेपालको संविधान, २०१९ आदेश न्या.डा.आनन्दमोहन भट्टराई : नेपालको संविधान २०७२ को धारा ४६ तथा धारा १३३(२) र (३) बमोजिम यस अदालतमा दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छ: नेपालको संविधानको धारा ९(३) मा नेपालको राष्ट्रिय जनावर गाई भन्ने उल्लेख गरिएको छ । यस कारणले नेपालमा जन्म लिएका वा रहेका सम्पूर्ण गाईहरू नेपालको संविधानले चिनेको जनावर हो । गाईसँग हामी प्रत्येक नेपालीको धार्मिक र सांस्कृतिक भावना जोडिएको छ । यस्तो अवस्थामा विपक्षीहरूले गाईको संरक्षण, व्यवस्थापन, आदर र सत्कार गर्नुपर्ने दायित्व रहन्छ । हिन्दू परम्पराअनुसार नेपालमा प्रत्येक वर्ष तिहारमा लक्ष्मी पूजाको दिन लक्ष्मीको रूप गाईलाई र गोबर्धन पूजाको दिन गोरुलाई धार्मिक परम्पराअनुसार पूजा गरी गाई र गोरुलाई माला लगाई मिठो मसिनो खाना दिने गर्दछौं । गाईको दुध धार्मिक व्यवसायिक रूपमा वा व्यक्तिगत रूपमा प्रयोग गर्दछौं । परम्परादेखि चली आएको प्रथाको रूपमा गाईलाई माता मान्ने भएकोले गाईको गउँत पूजाआजामा शुद्ध हुनको लागि प्रयोगसमेत गरिन्छ । गाईलाई लातले छुनु हुँदैन, गाई मार्नु हुँदैन, गाईलाई काटी मासुको रूपमा प्रयोग गर्नु हुँदैन भनेर नै हिन्दू धर्मअनुसार सनातनदेखि निरन्तर रूपमा सम्मान गरी आएका