निर्णय नं. १०३०१ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०३०१ - उत्प्रेषण / परमादेश भाग: ६१ साल: २०७६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७६/०५/०९ ७९३९ सर्वोच्च अदालत, बृहत् पूर्ण इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही माननीय न्यायाधीश श्री सुष्मालता माथेमा माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा फैसला मिति : २०७६।५।९ ०७५-WF-०००५ मुद्दा : उत्प्रेषण / परमादेश निवेदक : ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. ४, एकान्तकुनामा रजिस्टर्ड कार्यालय रहेको एनसेल प्रा.लि. प्राइभेट लिमिटेडको तर्फबाट अख्तियारप्राप्त अधिकृत रमेश घिमिरे विरूद्ध विपक्षी : ठुला करदाता कार्यालय, हरिहरभवन, ललितपुरसमेत कर निर्धारण गर्दा कर अधिकृतले कानूनी व्यवस्थाको भावना र मर्मअनुकूल हुने गरी निर्धारण गर्नुपर्छ । कर निर्धारण गर्दा न्यायोचित (Justiciable) आधारलाई वास्तविक व्यवहारमै अवलम्बन गर्न सकेको अवस्थामा मात्र कर निर्धारणको कार्यको कानूनी प्रक्रियाले पूर्णता प्राप्त गरेको मानिन जाने । (प्रकरण नं.१३) फौजदारी कसुरको झलक दिने प्रकृतिको कार्य व्यवहारमा निर्णय गर्दा प्रमाण कागजातहरू बुझ्ने, पक्षलाई आफ्ना प्रमाणहरू पेस गर्ने पर्याप्त मौका दिने र सोका आधारमा कारण र आधारहरू स्पष्ट रूपमा खुलाई अत्यन्तै सावधानीपूर्वक शुल्क निर्धारण गर्नुपर्ने । (प्रकरण नं.१७) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू श्री कोमलप्रकाश घिमिरे, श्री देवेन्द्रप्रसाद न्हुछे प्रधान तथा विद्वान्‌ अधिवक्ताहरू श्री मदनकुमार डंगोल र श्री महेश थापा विपक्षीका तर्फबाट : विद्वान्‌ नायब महान्यायाधिवक्ताहरू श्री नारायण पौडेल र श्री विश्वराज कोइराला एवं विद्वान्‌ सहन्यायाधिवक्ता श्री संजिवराज रेग्मी तथा विद्वान्‌ उपन्यायाधिवक्ता श्री हरिशंकर ज्ञवाली, विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री सुरेन्द्र भण्डारी अवलम्बित नजिर : ने.का.प.२०५२, अंक ७, नि.नं.६०३२ ने.का.प.२०५२, अंक ३, ४, नि.नं.६९८४ ने.का.प.२०७१, अंक ४, नि.नं.९१४३, पृ.४२२ सम्बद्ध कानून : आयकर ऐन, २०५८ आदेश न्या.तेजबहादुर के.सी.: नेपालको संविधान धारा ४६ तथा १३३(२) र (३) अनुसार दर्ता भई नियमानुसार पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- निवेदक एनसेल प्रा.लि. प्राइभेट लिमिटेड (यसपछि यस निवेदनपत्रमा "एनसेल प्रा.लि." भनिएको) नेपालको कम्पनी कानूनबमोजिम संस्थापित दूरसञ्चार सेवा प्रदायक कम्पनी हो । निवेदक एनसेल प्रा.लि. उद्योग विभागमा ठुला उद्योगको रूपमा दर्ता भई आन्तरिक राजस्व विभागबाट स्थायी लेखा प्रमाणपत्र प्राप्त गरी आफ्नो उद्देश्यबमोजिम दूरसञ्चार सेवा प्रदान गर्दै आएको छ । निवेदक एनसेल प्रा.लि.ले प्रत्यक्ष र परोक्ष रूपमा ९३,८०० जनालाई रोजगारी प्रदान गरी मुलुकभरका १ करोड ६३ लाख जना सेवाग्राहीलाई दूरसञ्चारको सेवा प्रदान गरी वर्षेनी अर्बौं रूपैयाँ राजस्वमा योगदान पुर्‍याउँदै आएको छ । निवेदक एनसेल प्रा.लि. नेपालमा संयुक्त विदेशी लगानी भएको एक अग्रणी कम्पनी र सर्वाधिक कर बुझाउने करदाता कम्पनीसमेत हो । निवेदक एनसेल प्रा.लि.मा ८० प्रतिशत सेयर स्वामित्व रहेको रेनोल्ड्स होल्डिङको शतप्रतिशत सेयर नर्वेको रजिस्टर्ड कार्यालय रहेको टेलियासोनेरा नर्वे नेपाल होल्डिङले मिति २०७२।१२।२९ गते संयुक्त अधिराज्यको इङ्गल्यान्ड एन्ड बेल्सको कानूनअन्तर्गत संस्थापित भई संयुक्त अधिराज्यमा रजिस्टर्ड कार्यालय रहेको एक्जिएटा इन्भष्टमेन्ट (यु