निर्णय नं. १०३१२ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०३१२ - कर्तव्य ज्यान भाग: ६१ साल: २०७६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७५/०५/२१ ७६९३ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई फैसला मिति : २०७५।५।२१ ०७२-CR-२१२५ मुद्दाः- कर्तव्य ज्यान पुनरावेदक / प्रतिवादी : तेह्रथुम जिल्ला ओख्रे गा.वि.स. वडा नं. ५ घर भई हाल मोरङ जिल्ला शनिश्चरे नगरपालिका वडा नं. ४ घर भई हाल कारागार कार्यालय तेह्रथुममा कैदमा रहेको जीतबहादुर भन्‍ने जितेन्द्र कार्की विरूद्ध प्रत्यर्थी / वादी : टेकबहादुर तामाङको जाहेरीले नेपाल सरकार मृत्युकालीन घोषणा प्रमाणमा गाह्य हुनको निम्ति निश्चित सर्तहरू पूरा भएको हुनुपर्ने : क) मृत्युकालीन घोषणालाई प्रमाणको रूपमा पेस गर्दाको अवस्थासम्ममा सो घोषणा गर्ने व्यक्तिको मृत्यु भइसकेको हुनुपर्ने ख) घोषणा गर्ने व्यक्तिले आफ्नो मृत्युपूर्व घोषणा गरेको हुनुपर्ने ग) घोषणा आफ्नो मृत्युको कारण वा परिस्थितिसँग सम्बन्धित हुनुपर्ने घ) घोषणा गर्ने व्यक्तिले आफू बाँच्न सक्छु कि भन्ने आशा त्यागिसकेको हुनुपर्ने ङ) मर्ने व्यक्तिले आफ्नो वास्तविक ज्ञानको आधारमा स्वेच्छिक रूपमा गरिएको घोषणा हुनुपर्ने च) मर्ने व्यक्तिले आफू होसमा हुँदा नै सो घोषणा गरेको हुनुपर्ने छ) घोषणा गर्ने व्यक्ति मानसिक रूपले सबल रहेको हुनुपर्ने ज) घोषणा गर्ने व्यक्तिले आफ्नो मृत्युको कारणको बारेमा एकभन्दा बढी फरक फरक घोषणा गरेको हुन नहुने झ) मृत्युकालीन घोषणा सुन्ने व्यक्ति अदालतमा साक्षीको रूपमा उपस्थित हुनको निम्ति योग्य हुनुपर्ने र ञ) मृत्युकालीन घोषणा मौकामा व्यक्त भई अदालतमा आएर पुष्टि गरिएको हुनुपर्ने । (प्रकरण नं.४) बकपत्रमा उल्लेख भएको मृत्युकालीन घोषणा मौकाको कागजातबाट पुष्टि हुन नसकेको अवस्था हुँदा सोलाई प्रमाणको रूपमा ग्रहण गर्न मनासिब नदेखिने । (प्रकरण नं.५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री शेरबहादुर कार्की र श्री धनेन्द्रबहादुर श्रेष्ठ प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री गोपाल लामिछाने अवलम्बित नजिर : ने.का.प.२०४४, अंक ४, नि.नं.३०६८ ने.का.प.२०६३, अंक ३, नि.नं.७६६३ ने.का.प.२०६४, अंक ११, नि.नं.७८९८ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने: श्री मातृकाप्रसाद आचार्य तेह्रथुम जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: श्री प्रकाशकुमार ढुंगाना श्री मेघनाथ भट्टराई पुनरावेदन अदालत धनकुटा फैसला न्या.डा.आनन्दमोहन भट्टराई : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र रही दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- मेरो सहोदर भाइ डिकबहादुर तामाङले प्रतिवादी जीतबहादुर भन्‍ने जितेन्द्र कार्कीका बाबुलाई मारेको भन्‍ने आरोपमा २०४५ सालदेखि कारागार कार्यालय तेह्रथुममा कैदमा बसी २०५७ सालमा जेल भुक्तान गरी घर फर्किई २०६२ साल भाद्र महिनादेखि रत्‍नदेवी प्रा. वि. ओख्रेमा पियन काम गर्दै आएका थिए । मिति २०६२।११।१९ गते बिहान विद्यालय छुट्टी भई भाइ घर फर्कँदै गर्दा अं. १०:१५ बजेको समयमा ओख्रे गा.वि.स. वडा नं. ५ को ठोक्रे खोलामा आइपुग्दा प्रतिवादी जीतबहादुर भन्‍ने जितेन्द्र कार्कीले मेरो भाइ डिकबहादुर तामाङलाई कुटपिट गरेको, उक्त वारदात रत्‍नदेवी प्रा. वि. मा कक्षा १ मा पढ्ने सिर्जना तामाङ र निर्मला न्यौपानेले देखेको र पीडित घाइते भाइ सो ठाउ