निर्णय नं. १०३१३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३१३ - उत्प्रेषण भाग: ६१ साल: २०७६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७६/०५/१५ ५४८१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी आदेश मिति : २०७६।५।१५ ०६८-WO-११५२ मुद्दा : उत्प्रेषण निवेदक : जिल्ला भक्तपुर, दुवाकोट गा.वि.स. वडा नं. १ घर भई महानगरीय प्रहरी प्रभाग दरबारमार्गमा दरबन्दी रही महानगरीय प्रहरी वृत्त बालाजुमा तत्काल सहायक निरीक्षक पदमा रहँदा पदबाट बरखास्त गरिएका नवराज थापा विरूद्ध विपक्षी : प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौंसमेत बहुविवाहलाई नैतिक पतन देखिने फौजदारी कसुरको कोटीमा राखेको नदेखिँदा नैतिक पतन देखिने फौजदारी कसुर हो भनी मान्न मिल्ने नदेखिने । (प्रकरण नं.४) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिप्रसाद उप्रेती विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री सुदिप दंगाल अवलम्बित नजिर : स.अ.बुलेटिन, २०६८, चैत्र १ सम्बद्ध कानून : प्रहरी ऐन, २०१२ प्रहरी नियमावली, २०४९ आदेश न्या.ईश्वरप्रसाद खतिवडा : नेपालको संविधानको धारा ४६ एवं १३३(२) बमोजिम यस अदालतमा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छ:- निवेदन बेहोरा म निवेदक मिति २०५८।१०।२१ मा प्रहरी जवान पदमा सेवा प्रवेश गरी मिति २०६१।७।१२ मा खुल्ला प्रतियोगिताबाट प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति पाई विभिन्न कार्यालयहरूमा कार्यरत रही एक कर्तव्यनिष्ठ राष्ट्रसेवकको रूपमा आफूलाई ठेकिएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्दै आएको थिएँ । महानगरीय प्रहरी आयुक्तको कार्यालयको मिति २०६७।१।२२ को पत्रबाट बहुविवाह मुद्दामा सम्मानित भक्तपुर जिल्ला अदालतबाट मिति २०६६।१२।२६ मा फैसला हुँदा १ वर्ष कैद र रू. २५०००।- (पच्चिस हजार) जरिवाना हुने गरी फैसला भएकोले प्रहरी नियमावली, २०४९ को परिच्छेद ९ को नियम ८६ को देहाय (घ) को कसुरमा ऐ.नियमावलीको नियम ८४(ज) बमोजिम मिति २०६६।१२।२६ बाटै लागू हुने गरी मलाई कुनै सुनुवाइको मौका नै नदिई सरकारी नोकरीको निमित्त सामान्यतः अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त गर्ने भनी निर्णय भएकोले प्रहरी नियमावलीको नियम ९३ बमोजिम प्रहरी महानिरीक्षकज्यूसमक्ष पुनरावेदन गरेकोमा सो पुनरावेदनउपर मिति २०६९।१।२६ मा निर्णय हुँदा मेरो पुनरावेदन खारेज गरी नोकरीबाट बर्खास्त गर्ने गरी भएको कारबाही सदर हुने ठहर्याई निर्णय गरियो । बहुविवाह नैतिक पतन देखिने कसुर हो भन्ने कुनै कानूनमा उल्लेख छैन । मलाई नोकरीबाट हटाउँदा कानून र न्यायिक सिद्धान्तविपरीत बरखास्त गरिएको छ । अतः विपक्षी प्रहरी नायब महानिरीक्षकबाट मिति २०६७।१।२२ मा भएको निर्णयको आधारमा दिइएको सोही मितिको पत्र तथा म निवेदकको पुनरावेदनउपर मिति २०६९।१।२६ मा भएको निर्णय र सो निर्णयबमोजिमको मिति २०६९।१।२७ को पत्रलाई उत्प्रेषणको आदेशले बदर गरी मलाई पूर्ववत् हाजिर गराई बर्खास्त गरेकै मितिबाट तलब भत्ता सुविधासमेत दिनु भनी परमादेश जारी गरिपाउँ भन्ने रिट निवेदन । कारण देखाउ आदेश यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? यो आदेश प्राप्त भएको मितिले बाटाको म्यादबाहेक १५ (पन्ध्र) दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पठाउनु भनी रिट निवेदनको नक्कल साथै राखी विपक्षीहरूलाई सूचना दिई लिखित जवाफ परेपछि वा अवधि व्यतित भएपछि नियमबमोजिम पेस गर्नु भन्ने यस अदालतको मिति २०६९।२।२९ को आदेश ।