निर्णय नं. १०३१४ - निर्णय बदर हक कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३१४ - निर्णय बदर हक कायम भाग: ६१ साल: २०७६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७५/१०/०८ २५१४ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ फैसला मिति : २०७५।१०।८ ०७२-CI-१७७४ मुद्दाः- निर्णय बदर हक कायम पुनरावेदक / प्रतिवादी : कृष्णबहादुरको छोरा ललितपुर जिल्ला गोदावरी गा.वि.स. वडा नं. ९ बस्ने गणेशबहादुर घर्ती परलोक भई मुद्दा सकार गर्ने गणेशबहादुरको श्रीमती ऐ.ऐ. बस्ने श्रीमती कान्छी घर्ती विरूद्ध प्रत्यर्थी / वादी : मानबहादुरको छोरा ललितपुर जिल्ला गोदावरी गा.वि.स. वडा नं. ९ बस्ने बलबहादुर घले अदालतबाट घोषणा गरिएको हक निर्विवाद रूपले भोग चलन गरेको अवस्थामा सो फैसला कार्यान्वयन गराउन निवेदन नपरेकै कारणले मात्र सोमा उनाउ व्यक्तिको हक स्थापित हुन नसक्ने । अघिल्लो फैसलाद्वारा स्थापित हकलाई पछिल्लो फैसलाले मान्यता नदिएको अवस्थामा पछिल्लो फैसलालाई लोप गरी अघिल्लो फैसला कार्यान्वयन भएको कुरालाई दूषित कार्य मान्नु पर्ने । (प्रकरण नं.३) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री शेरबहादुर के.सी र विद्वान् अधिवक्ता श्री रामचन्द्र पौडेल प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री टिकाराम भट्टराई अवलम्बित नजिर : ने.का.प.२०६०, अंक ५, नि.नं.७२३५ ने.का.प.२०६७, अंक २, नि.नं.८३१२ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः श्री कृष्णप्रसाद बास्तोला ललितपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: श्री देवेन्द्र गोपाल श्रेष्ठ डा. श्री आनन्दमोहन भट्टराई पुनरावेदन अदालत पाटन फैसला न्या.ईश्वरप्रसाद खतिवडा : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा १२(क) बमोजिम दोहोर्याई हेर्न अनुमति प्रदान भई पुनरावेदनको रोहमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- पिता मानबहादुर घलेका ३ भाइ छोराहरूमध्ये माइलो म फिरादी बलबहादुर, जेठो रणबहादुर र कान्छा गोविन्दबहादुर हौं । अघि हामी ३ भाइ छोराहरू सगोलमा रहेको बखतमा भाइ गोविन्दबहादुरले हामीहरूको सगोलका सम्पत्तिमध्ये साबिक ललितपुर जिल्ला किटीनी हाल गोदावरी गा.वि.स. वडा नं.९(क) कि.नं.१५ को क्षे.फ.३-२-०-० जग्गा देखाई २०२३ सालमा लेनदेनको लिखत गरी प्रतिवादी गणेशबहादुर घर्तीसँग पैसा लिएका रहेछन् । सो लिखतमा अर्का दाइ रणबहादुरसमेत साक्षी बसेका रहेछन् । भाखाभित्र पैसा नतिरेपछि सोबापत प्रतिवादीले उक्त जग्गाको लिखत रजिस्ट्रेसन पारित गराई पाउँ भनी ललितपुर जिल्ला अदालतमा निज भाइ गोविन्दका विरूद्धमा मुद्दा दायर गरी अदालतसमेतबाट मिति २०२५।०९।११ मा उक्त लिखत पास हुने गरी फैसला भएको रहेछ । यसरी सगोलका अंशियारमध्ये १ भाइ दिने र अर्को भाइ साक्षी बस्ने गरी भएको उक्त लिखतले मेरोसमेत हक हिस्सा गएकोले मेरो हकजति बदर गरिपाउँ भनी ललितपुर जिल्ला अदालतमा राजीनामा बदर मुद्दा दर्ता गरी सो अदालतबाट मिति २०२९।३।१६ मा मेरो भागमा पर्ने जति अर्थात् १ रोपनी ३ पैसा लिखत बदर भई उक्त जग्गा पिता पुर्खाकै पालादेखि मैले नै भोग गरी हालसम्म निरन्तर भोग गरी आएको छु । यसरी साबिकदेखि हालसम्म मेरो एकलौटी हक भोग भएको उक्त जग्गालाई विपक्षीले मिति २०२९।३।१६ को फैसला लोप गरी मिति २०२५।९।११ मा ललितपुर जिल्ला अदालतबाट नामसारी लिखत पास गराई दिने ठहर भएको फैसला मात्र देखाई मालपोत कार्यालय ललितपुरलाई गुमराहमा पारी सो फैसलाबमोजिम मेरो हक हिस्सा कायम भएकोसमेत सम्पूर्ण जग